याम माबोहाङ लिम्बू
इलामः पूर्वी इलामको जौबारीमा रहेको कृषि अनुसन्धान केन्द्रले डढुवा अवरोधक आलु बिऊको अनुसन्धान थालेको छ । रोग प्रतिरोधात्मक क्षमता भएको जात छान्नका लागि केन्द्रले ८६ प्रकारको आलुको बिऊलाई परीक्षण सुरु गरेको हो ।
रोपेको आलु बारीमै डढुुवा रोगले सखाप हुन थालेपछि समाधानको खोजी गर्न अनुसन्धान थालेको केन्द्रका प्रमुख तथा वरिष्ट वैज्ञानिक केशव प्रसाद श्रेष्ठले जनाएको छ ।
तीन दशकसम्म आलु विकास केन्द्रको रुपमा परिचित जौबारीमा पुन स्थापना भएको बागवानी विकास केन्द्र र कृषि अनुसन्धान केन्द्रले अनुसन्धानपछि सात प्रकारको विऊ पनि किसानलाई दिन थालेको छ । पहिलो वर्ष तीन टन विउ आलु किसानलाई दिइसकेको केन्द्रले यो वर्ष बाह्र टन विऊ दिएको छ ।
केन्द्रले डिजिरे, खुमल सेतो, कार्डिनल, जनकदेव, खुमल लक्ष्मी, कुर्फि ज्योति लगायतको सात प्रकारको आलुको विऊ बिऊ उत्पादनको लागि किसानलाई दिन थालेको हो । केन्द्रले पूर्वी इलामका जमुना, जोगमाई, प्याङ, नयाँबजार, गोर्खे, पशुपतिनगर गाउँ विकास समितिका किसानलाई खेति गेर्ने सीप सिकाएर बिऊ दिएको बताएको छ ।
कुनैपनि विषादी नहाली गरिरहेको परिक्षण सफल भएमा आलुको उत्पादन सहज बन्नेछ । यसले किसानको आम्दानी बढउँदै जीविकोपार्जनमा सुधार हुने केन्द्रले आशा गरेको छ ।



















































