
नयाँ बुलन्द
इलाम : ‘प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३’ देशभर विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार मनाईएको छ । नेपाल सरकारले गोरखापत्र प्रकाशनको पहिलो दिन वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेपछि विभिन्न कार्यक्रमका साथ दिवस मनाईएको हो ।
दिवसका अवसरमा इलाममा ‘इलामको पत्रकारिता विगत र वर्तमान’ विषयक विचार गोष्ठी आयोजना भयो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको आयोजनामा गोष्ठी भएको हो ।
गोष्ठीमा नेपाल पत्रकार महासंघका संस्थापक सभापति धर्म गौतमले ‘इलामको पत्रकारिता विगत र वर्तमान एक समिक्षा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । गौतमको कार्यपत्रमाथि विभिन्न राजनैतिक दल, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुले टिप्पणी गर्नुका साथै सुझाव समेत दिएका थिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी मदन कोइराला, इलामका प्रहरी प्रमुख शुसिलकुमार यादव, इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङ, नेकपा एमालेका नवराज शंकर, एमाओवादीका जीवन शर्मा, राप्रपाका सोमनाथ बाँस्तोला, नेपाल पत्रकार महासंघका अध्यक्ष रोहितचन्द्र भट्टराई, पूर्व सभापति सोमनाथ सुसेली, पूर्व अध्यक्ष सटेन्द्र जवेगू, सञ्चारकर्मी डा. देवी क्षेत्री दुलाल, विप्लव भट्टराई, सरोज खतिवडा लगायतले आआफ्नो धारणा राखेका थिए ।
वक्ताहरुले पत्रकारिताको विकास भए मात्र समग्र समाज र राष्ट्रको विकास हुने विचार व्यक्त गरे । उनीहरुले पत्रकार र पत्रिका समाजको आँखा भएको भन्दै आँखाले सहि देख्न सके मात्र समाज सहि हुने धारणा राखेका थिए । पत्रकार दक्ष र पेशाप्रति इमान्दारीता हुन जरुर रहेको समेत धारणा व्यक्त गरे । जनतालाई सुचना दिने माध्यम र जनताका सुचना सरकारसम्म पुर्याउने पुलको भूमिका पत्रकारिता क्षेत्रले गरेको भन्दै पत्रकारिता पेशाप्रति प्रशंसा समेत भएको थियो ।
कार्यक्रम दिवस मुल आयोजक समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला विकास समिति इलामका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले गरेका थिए ।



















































