नयाँ बुलन्द
इलाम : इलामको पर्यटकीय क्षेत्र कन्याम फोहार मैलाका कारण अस्तव्यस्त बन्दै गएको छ । फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा दिनदिनै कन्यामको सौन्र्दयता गुम्दै गएको छ ।
कन्याम घुम्न आउने र वनभोजका लागि आउने पर्यटकले प्रयोग गर्ने प्लाष्टिकका झोला, पानीका बोत्तल, मदिराका बोतल, खैनी, गुट्खा आदिको खोलका कारण कन्याम कुरुप बन्दै गएको हो । जथाभावी फालिएका प्लाष्टिकजन्य सामग्रीका कारण हरियो देखिने चिया बगान समेत अहिले उदाङ्गो देखिन थालेको छ ।
वनभोजमा आउनेहरुले फालेको सड्ने फोहोरको दुर्गन्धका कारण पर्यटकलाई आवातजावतमै समस्या हुन थालेको हो । फोहोरमैला र दुर्गन्धका कारण कन्याम आउने पर्यटक सिधै अन्तु जान थालेको पाईन्छ । सुर्योदय नगरपालिकाको फिक्कलबाट व्यवसाय गर्न कन्याम पुगेकी नमिता श्रेष्ठले फोहोरमैलाका कारण पर्यटक आए पनि नअडिने गरेको बताईन् ।
अभियान नेपाल र हाम्रो सहकारीले पब्लिक पार्टनरसीपको रुपमा फोहोरमैला व्यवस्थापनको जिम्मा लिएको छ । व्यवस्थापनको जिम्मा लिएको पक्षले फोहोरमैला ब्यावस्थापन गरेर बचेको रकम नगरपालिकालाई बुझाउने गरेको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले बताए । भट्टराईले फोहार व्यवस्थापनमा सोचे अनुरुप काम हुन नसकेको बताए । पर्यटकीय क्षेत्र कन्याम घुम्न आउने पर्यटक समेत फोहोरमैलाका कारण सोचे अनुरुपको गन्तब्य बन्न नसकेको बताउँछन् ।
नगरपालिका मार्फत फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको अभियान नेपाल र हाम्रो सहकारीले कन्याम क्षेत्रमा व्यवसाय गरेबापत प्रतिव्यक्ति दैनिक ५० रुपैयाँ भाडा लिने गरेको छ । भुईमा बसेर व्यापार गर्दा एक व्यापारीले मासिक एक हजार पाँच सय रुपैयाँ फोहोरमैला व्यवस्थापन पक्षलाई बुझाउने गरेका छन् ।
तर, रकम असुल गरेअनुसार फोहोरमैला व्यवस्थापनको काम हुन नसकेको ब्यापारीहरु बताउँछन । व्यवस्थापन पक्षले बनभोज, घोडा, गाडी पार्किङबाट पनि रकम लिने गरको छ ।
कन्यामको फोहोर व्यवस्थापनका लागि दीगो योजना बनाए अगाडी बढ्नुपर्ने व्यवसायीहरु बताउँछन् । ‘जसले फोहोर गर्छ उसैलाई फोहोर उठाउन लगाउने नीति अवलम्बन गर्नुपर्छ’ लामो समयदेखि होटल ‘कन्याम इन’ सञ्चालन गर्दै आएका होटल व्यवसायी संघका पूर्व जिल्ला अध्यक्ष टिका ओडारी भन्छन्, ‘यसो गर्न सके फोहोर व्यवस्थापनमा नगरपालिका र व्यवसायीलाई समेत सहज हुन्छ ।’


















































