
क्षेत्र नम्बर २ मा भने १४ जना उम्मेदवारले सिफारिस लिएका हुन्। क्षेत्र नम्बर २ को हकमा जिल्ला निर्वाचन कार्यालय इलाममै रहेकाले त्यहाँका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले सोही कार्यालयबाट सिफारिस लिइसकेका छन्। निर्वाचन खर्च पारदर्शी बनाउन प्रत्येक उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था रहेको छ।
निर्वाचन प्रचारप्रसारका लागि इलामका उम्मेदवारले अधिकतम ३१ लाख रुपैयाँसम्म मात्र खर्च गर्न पाउनेछन्। तर, २६ जनाले सिफारिस लिइसके पनि न्युन मात्र बैंक खाता सञ्चालनमा ल्याएको जिल्ला स्थित अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका सूर्य भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन सम्पन्न भएको १५ दिनभित्र खर्च विवरण पेश गर्न निर्देशन दिएको छ।
उम्मेदवारले अन्य स्रोतबाट प्राप्त गर्ने २५ हजार रुपैयाँभन्दा बढी रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा गर्नुपर्नेछ। सोभन्दा बढी रकम नगद रूपमा सिधै खर्च गर्न पाइने छैन। उम्मेदवारहरूले आफ्नो सम्पत्ति विवरण भने यसअघि नै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा बुझाइसकेका छन्। अनुगमन अधिकृत भण्डारीका अनुसार हालसम्म इलाममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि देखिएका छैनन्।

















































