
पाँचथर: पाँचथरको फिदिम माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा तीनदिने हीरक महोत्सवआयोजना गर्ने भएको छ। विद्यालयले हीरक महोत्सवको लोगो आज एक कार्यक्रमबीच सार्वजनिक गर्दै महोत्सव माघ ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।
माघ ९ गते महोत्सवको उद्घाटन कार्यक्रमका साथसाथै म्युजिकल पीटी प्रदर्शन, सांस्कृतिक झाँकी, स्मारिका विमोचन, हीरक स्मारक अनावरण तथा शैक्षिक सामग्री प्रदर्शनीलगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
त्यसैगरी माघ १० गते फिदिम नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, इन्जिनियरिङ तथा विज्ञान प्रदर्शनी, कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि मिनी म्याराथन, फिदिम माविका शिक्षक र फिदिम नगरपालिकाका जनप्रतिनिधिबीच भलिबल प्रतियोगिता आयोजना गरिने विद्यालयले जनाएको छ। महोत्सव माघ ११ गते विभिन्न कार्यक्रमसहित समापन गरिनेछ।
हीरक महोत्सव लोगो उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र कुमार नेम्वाङको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्ले र विशिष्ट अतिथिका रूपमा नगर उपप्रमुख राधाकृष्ण न्यौपानेको उपस्थिति रहेको थियो। साथै विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको विद्यालयले जनाएको छ।



















































