कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला आज, क-कसले सम्बोधन गर्छन्?

  नयाँ बुलन्द
42 Shares

इलाम : नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरू आज काठमाडौंमा भेला हुँदैछन्। राष्ट्रिय सभागृहमा आज दिउँसो १ बजे विशेष महाधिवेशन सन्दर्भमा केन्द्रित रहेर भेला हुन लागेको हो। कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आयोजना गर्न माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारण खुलाएर हस्ताक्षर बुझाएका थिए। विधानको धारा १७ को २ अनुसार उनीहरूले विशेष महाधिवेशन माग गरेका थिए।

तर अहिलेसम्म पनि हस्ताक्षर सनाखतलगायत केही प्रक्रिया अघि नबढेको र नियमित महाधिवेशन कार्यतालिका पनि नआएको परिस्थिति छ। फागुन २१ को प्रतिनिधि सभा चुनावअघि महाधिवेशन गर्ने कि नगर्नेमै नेताहरू विभाजित छन्।

यस्तो अवस्थामा विशेष महाधिवेशन अझै सान्दर्भिक रहेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले भेला गरी केन्द्रीय समितिलाई दबाब दिन लागेका हुन्। महाधिवेशनबारे निर्णय लिन भोलि दिउँसो सानेपामा केन्द्रीय समिति बैठक पनि बस्दैछ।

विशेष महाधिवेशन माग गरेकाहरूको भेलामा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बोल्ने कार्यक्रम नरहेको नेताहरूले जनाएका छन्। विशेष महाधिवेशन पक्षधरका भेलामा अहिलेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखेका छैनन्।

विशेष महाधिवेशन माग गर्न हस्ताक्षर संकलन अभियानमा सक्रिय नेता बलदेव तिमल्सिनाले सेतोपाटीलाई दिएको जानकारी अनुसार आज विशेष महाधिवेशन माग गरेकामध्ये केही नेताहरू, कांग्रेसका केही नेताहरू र राजनीतिक विश्लेषकहरू पनि बोल्ने कार्यक्रम छ।

उनकाअनुसार कार्यक्रममा सम्बोधनका लागि पूर्वसभामुख तारानाथ रानाभाट, नेता नरहरि आचार्य, महेश आचार्य, बलदेव शर्मा लगायतलाई खबर गरिएको छ।   साथै राजनीतिक विश्लेषकहरू हरि शर्मा, कृष्ण खनाल, अरूण सुवेदीलगायतलाई पनि कार्यक्रममा सम्बोधनका लागि बोलाइएको उनले जानकारी दिए।

Ncell

नेताहरू देवराज चालिसे, गुरूराज घिमिरेलगायत पनि बोल्ने कार्यक्रम छ।  यसअघि मंसिर ३ गते पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरका नेताहरूले विशेष महाधिवेशन आयोजना मिति र स्थान तोक्न माग गरेका थिए।

भोलि केन्द्रीय समिति बैठक बस्ने भएकोले महाधिवेशनबारे उचित निर्णय लिन दबाब दिने तथा सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आयोजना नगरे यो भेलाले थप रणनीति लिनेसमेत नेताहरूले बताएका छन्।

असोज २८ गते केन्द्रीय समिति बैठकमा सम्बोधन गरेर सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेका थिए। त्यसपछि सिंगापुर गई उपचार गरेर देउवा स्वदेश फर्किसकेका छन् भने महाधिवेशनबारे पार्टीभित्र देखिएका मतभेद हल गर्न अनौपचारिक कुराकानीसमेत गरिरहेका छन् तर निकास निस्किएको छैन।

यसबीचमा सभापति देउवाकै हस्ताक्षरले टिकट वितरण गर्ने गरी कांग्रेस निर्वाचन आयोगमा दर्ता भएपछि त्यसले पनि विवाद ल्याएको छ। महामन्त्री गगन थापाले विशेष महाधिवेशन गरेर नयाँ सभापतिले टिकट दिने गरी चुनाव लड्ने बताएका छन्।

कांग्रेसमा चुनावअघि नियमित वा विशेष कुन महाधिवेशन गर्ने वा चुनावपछि महाधिवेशन गर्ने भन्नेमा मतभेद छ। सभापति देउवा पक्षका केही पदाधिकारी र केही पूर्वपदाधिकारी चुनावमा होमिएर वैशाखमा मात्रै १५ औं महाधिवेशन गर्ने पक्षमा छन्।

त्यसैले विशेष महाधिवेशन पक्षधर, नियमित महाधिवेशन पक्षधरको दिनहुँजसो भेलाहरू भइरहेका छन्। सभापति देउवानिकट नेताहरू भने भोलिको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे सर्वसम्मत निर्णय लिने बताइरहेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार