इलामः अमर कल्याण माध्यमिक विद्यालय माइजोगमाई १ नयाँबजार, इलामले आइतबारदेखि सुरु गरेको ७१औँ वार्षिकोत्सव मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको उत्सवमा विद्यार्थीहरूले प्रस्तुत गरेका खेलकुद, सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतिस्पर्धात्मक गतिविधिहरूले विद्यालय परिसरलाई जीवन्त बनाएको थियो। उद्घाटन समारोहमा प्रधानध्यापक धन बहादुर भण्डारीले अभिभावक, शिक्षक र स्थानीय समुदायलाई सक्रिय सहभागिता जनाउन आग्रह गर्दै विद्यालयले शिक्षा, संस्कृतिमा देखाएको योगदान र आगामी योजनाबारे प्रकाश पारे।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न खेलकुद र सांस्कृतिक प्रस्तुतिहरू देखाए। विशेष गरी एथलेटिक्स र भलिबल प्रतियोगितामा विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक उत्साह प्रस्ट देखिन्थ्यो। प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरूलाई विद्यालय परिवारको तर्फबाट पुरस्कार प्रदान गरियो भने सहभागी सबै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।
उत्सवको विशेष आकर्षण भनेको विद्यालय परिसरमा हालै निर्माण भएको नवनिर्मित सरस्वती मन्दिरमा सरस्वती र गणेशको मूर्ति स्थापना थियो। यस कार्यका लागि दाता, स्थानीय समाजसेवी तथा व्यवसायी तारा कुमार भट्टराईलाई सम्मानपत्र र दोसालोसहित सम्मान गरिएको थियो। उनले आफ्ना स्व. बुबा–आमाको नाममा करिब १२ लाख रुपैयाँ खर्च गरेर मन्दिरको संरचना निर्माण गरेका थिए।
कार्यक्रममा अभिभावक र स्थानीय समुदायलाई पनि खेलकुद र सांस्कृतिक कार्यक्रममा सहभागी गराइएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर १ का वडाध्यक्ष याम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि पालिका अध्यक्ष कुश बहादुर थेवे, विशेष अतिथि उपाध्यक्ष प्रविना राई, शिक्षा शाखा प्रमुख करुणा नेपाल, जनप्रतिनिधि भक्त चेम्जोङ सहित शिक्षक, अभिभावक र समाजसेवी, शिक्षप्रेमीको व्यापक उपस्थित रहेको थियो।

विद्यालयले हरेक वर्ष वार्षिक उत्सव मनाउँदै आएको छ। यस वर्ष पनि विद्यार्थी, अभिभावक र स्थानीय समुदायबीच सहभागिता र सहकार्यको महत्त्व उजागर भएको थियो। माईजोगमाई गाउँपालिकामा ८ वटा सामुदायिक र १ वटा निजी गरी जम्मा ९ माध्यमिक विद्यालय रहेका छन्। यस विद्यालयमा ३ सय बढी विद्यार्थी, २७ शिक्षक र २ कार्यालय सहयोगी कार्यरत छन्। विद्यालय ४० रोपनी ८ आना जग्गामा सञ्चालन भइरहेको छ।७१औँ वार्षिकोत्सवको अवसरमा १२ जना विद्यार्थीलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो भने अवकाशप्राप्त ४ जना शिक्षक साथै कार्यरत शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो। शिक्षक विष्णु प्रसाद आचार्यले उत्सव समारोह संचालन गरेका थिए।
२०७४/०७५ सालमा नमुना मान्यता प्राप्त यस विद्यालयमा संघीय सरकारको लगानीमा तीन तले भवन निर्माण सुरु भएको थियो, तर ठेक्का रद्द भएपछि काम पूरा हुन नसकेको र हाल नयाँ ठेक्का प्रक्रियामा रहेको जनाइएको छ । २०८१ देखि २०८५/०८६ सम्मको अवधिका लागि पुनः नमुना माविको रूपमा अद्यावधिक गरिएको छ। अनुमानित ७ करोडको लागतको अनुमान गरिएको भए तापनि ४ करोड ३८ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्नु पर्ने भनिएको भवनको काम अहिलेसम्म बाँकी रहेको प्रधानध्यापक भण्डारीले जानकारी दिए। भवन निर्माणको अन्तिम अवस्थालाई दृष्टिगत गर्दै विद्यालयको खातामा ८९ लाख ६३ हजार रुपैयाँ बचत रहेको जनाइएको छ। हाल विद्यालयमा १२ वटा भवन, ३० वटा कक्षाकोठा र ३ वटा शौचालय छन्। आफ्नै खेल मैदान र खानेपानीको सुविधा भए तापनि घेराबार र क्यान्टिनको सुविधा अहिलेसम्म बन्न सकेको छैन। पुस्तकालय, ल्याब र कम्प्युटर कक्षा रहेका छन्, तर कम्प्युटर मर्मतको बजेट अभावले चुनौती सिर्जना गरेको छ। विद्यालय जग्गामा योगदान दिनेहरूमा स्व. भिमलाल भण्डारीले २० रोपनी, स्थानीय तेज बहादुर भण्डारीले १८ रोपनी, लिला प्रसाद भण्डारीले २ रोपनी, र भोला भण्डारी, प्रेम भण्डारी तथा लिला भण्डारीले ८ आना निःशुल्क प्रदान गरेका छन्।

अन्ततः, अमर कल्याण माध्यमिक विद्यालयको इतिहास गौरवशाली छ। विद्यालयको स्थापना २०११ सालमा स्थानीय काँशीनाथ भट्टराईले घर छेउबाट सुरु गरेका थिए। २०१७ सालमा स्व. भिमलाल भण्डारीले निःशुल्क जग्गा उपलब्ध गराएपछि विद्यालय व्यवस्थित रूपमा सञ्चालनमा आएको हो। २०३९ सालदेखि एसएलसी परीक्षामा सहभागी हुँदै आएको विद्यालय २०६६ सालमा उच्च माध्यमिक तहमा रूपान्तरण भएको थियो। २०६७ सालदेखि अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन सुरु भएको यस विद्यालयले पटक–पटक एसएलसी र १२ कक्षामा जिल्लामा उत्कृष्ट नतिजा हाँसिल गरेको छ। यस विद्यालयले शिक्षा, खेलकुद, संस्कृतिमा गरेको योगदान र विद्यार्थी, अभिभावक र शिक्षकबीचको सहयोगी सम्बन्धलाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता पुन: पुष्टि गरेको छ।





















































