पाँचथरः किराँत धर्मका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १४१औँ जन्मजयन्ती मंगलबार पाँचथरसहित देश-विदेशमा रहेका किराँती समुदायले विविध कार्यक्रमका साथ श्रद्धापूर्वक मनाएका छन्।
वि.सं. १९४२ कात्तिक २५ गते इलाममा जन्मिएका महागुरु फाल्गुनन्द किराँत धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका महान् अग्रदूतका रूपमा परिचित छन्। उहाँले समाज सुधारका उद्देश्यले वि.सं. १९८८ वैशाख २४ गते ‘सत्य धर्म मुचुल्का’ जारी गर्नुभएको थियो। उक्त मुचुल्कामा छोरीको विवाहमा पैसा नलिने, भगवानको पूजा गर्दा जीव हत्या नगर्ने, मद्यपान तथा मासु सेवन नगर्ने, र मृत्यु संस्कार तीन दिनमै सम्पन्न गर्ने जस्ता नीतिहरू समावेश छन्, जसले समाजमा सुधार ल्याउन उल्लेखनीय प्रभाव पारेको मानिन्छ।

फाल्गुनन्द गाउँपालिका ६ र ७ को सङ्गमस्थल वासागुमा त्रिबेणी युथ क्लब नेपालले दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर कुरुम्बाङ्ग प्रमुख अतिथि थिए । क्लबका पूर्व अध्यक्ष धिरेन्द्र विक्रम कुरुम्बाङ्गले कार्यक्रम सञ्चालन गरेका थिए भने व्यवस्थापन सोम हाङ्ग कुरुम्बाङ्गले गरेको युवा समाजसेवी अमर आङ्देम्बेले जानकारी दिए ।
यसैबीच, पाँचथरको फाल्गुनन्द र फिदिम नगरपालिकाको सिमानामा अवस्थित महागुरुको तपोभूमि तथा समाधिस्थल लब्रेकुटी र शिलौटीमा पनि विशेष कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्ले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका छन् ।

त्यस्तै, फाल्गुनन्द ५ याबातपुङ फाक्तेपमा फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। उक्त अवसरमा फाल्गुनन्द गाउँपालिकाअध्यक्ष बृजहाङ आङ्देम्बेले सहभागीहरूलाई सम्बोधन गरे। यस्तै, मिक्लाजुङ -५ मा पनि मनाइएको छ । कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावतीको उपस्थितिमा सम्पन्न भएको हो । तुम्बेवा गाउँपालिका, याङ्वरक र फालेलुङको सिमाना (चरीभञ्ज्याङ), फिदिम ४ सुमाथलुङ गढी र याङ्नाम लगायतका स्थानहरूमा पनि धार्मिक, सांस्कृतिक र खेलकुद कार्यक्रमहरू आयोजना गरिएका छन्।

महागुरु फाल्गुनन्दले आफ्नो सम्पूर्ण जीवन किराँत धर्म, भाषा, संस्कार र समाज सुधारमा समर्पित गर्नुभएको थियो। उहाँको उल्लेखनीय योगदानको कदर गर्दै नेपाल सरकारले वि.सं. २०६६ मंसिर १६ गते उहाँलाई १६औँ राष्ट्रिय विभूतिका रूपमा घोषणा गरेको थियो।
जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ। किराँती समुदायको बाक्लो बसोबास रहेका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतका जिल्लामा र विदेशमा रहेका किराँतीहरूले पनि श्रद्धा र सम्मानका साथ महागुरुको स्मरण गरेका छन्।



















































