
इलाम : गतसाता अविरल वर्षासँगै आएको बाढीपहिरोले जनजीवन असामान्य बनेको इलामको माईजोगमाई गाउँपालिका–६ प्याङका स्थानीयवासीका घर-घरमा अहिले निःशुल्क स्वास्थ्य सेवा पुर्याउन थालिएको छ । पहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भई बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएपछि प्राथमिक स्वास्थ्य केन्द्र प्याङले घरमै पुगेर उपचार सेवा सञ्चालन गरेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र प्याङका प्रमुख डा. अभिषेकदेव ठकुरीको नेतृत्वमा खटिएको स्वास्थ्य टोलीले बिहीबारदेखि प्रभावित बस्तीहरूमा घरघ-र पुगेर स्वास्थ्य जाँच, सामान्य उपचार तथा औषधि वितरण सुरु गरेको हो । उक्त टोलीले पहिलो दिन करिब १०० जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण तथा उपचार गरेको जनाएको छ ।
डा. ठकुरीका अनुसार शुक्रबार पनि टोलीले पहिरोपीडित बस्तीहरूमा पुगेर बृद्धबृद्धा, अशक्त, सुत्केरी महिला र बालबालिकालाई सेवा प्रदान गर्ने योजना बनाएको छ । ‘सडक अवरुद्ध हुँदा बिरामीहरूलाई केन्द्रमा आउन कठिन भएकाले हामी आफैं गाउँ पुगिरहेका छौं,’ डा. ठकुरीले भने, ‘त्यो केवल उपचार मात्रै होइन, जनचेतनामूलक अभियान पनि हो।’
स्वास्थ्य टोलीमा डा. ठकुरीसँगै अहेब फुर्लमु शेर्पा, निराजन ढुङ्गेल, गोपाल गौतम, अनमी बिनिता लावती, जेनिशा राई र ल्याब असिस्टेन्ट दिप्ली राई सहभागी छन् । टोलीले साबिक वडा नं. २ प्याङका पहिरोपीडित बस्तीहरूमा पुगेर सर्वसाधारणको स्वास्थ्य अवस्था बुझ्दै निःशुल्क उपचारसँगै सरसफाइ र रोग प्रतिरोधात्मक जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको छ ।
यसैबीच, पहिरोका कारण घरवारविहीन बनेका भक्तबहादुर थेबेलेलाई प्राथमिक स्वास्थ्य केन्द्र प्याङका सम्पूर्ण कर्मचारी परिवारले पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । स्वास्थ्यकर्मीहरूले पीडित परिवारप्रति सहानुभूति जनाउँदै आगामी दिनमा पनि सहयोग र स्वास्थ्य सेवा निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार आज (शुक्रबार) टोली साबिक वडा नं. ४ का पहिरोपीडित बस्तीहरूमा पुगेर सेवा सञ्चालन गर्दैछ । असोज १८ गतेको विनाशकारी बाढीपहिरोमा परी प्याङ क्षेत्रका दुई परिवारका आठ जनाको ज्यान गएको थियो । त्यसयता गाउँमा स्वास्थ्य जोखिम बढ्न थालेपछि स्थानीय तह र स्वास्थ्यकर्मीहरूले राहत, उद्धार र उपचारलाई प्राथमिकता दिएका छन् ।

























































