काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्षको दशैँ-तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताएका छन्। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले चाडपर्वका बेला यात्रुलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिए।
मन्त्री दाहालले इन्धनको मूल्यअनुसार भाडा घटाउने-बढाउने व्यवस्था भए पनि यस वर्ष भाडा नबढाउन यातायात व्यवसायीहरूसँग आग्रह गरिएको बताएका छन्। यदि यातायात व्यवसायीका केही समस्या भए छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको उनको भनाइ छ।
उनले प्रदेशस्तरमा रहेका सडक आयोजनाहरू प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको पनि बताए। हाल करिब ३२ हजार किलोमिटर सडक संघीय मन्त्रालयको मातहतमा रहेको र तीमध्ये धेरै सडक प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको उनको भनाइ छ। यसमा निर्माणाधीन सडक र ज्यालादारी कामदारसमेत प्रदेश सरकारको जिम्मामा दिने तयारी भइरहेको उनले बताए।

























































