काठमाडौँ । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरू म्याद गुज्रेका केन्द्रीय समितिका म्याद थप्न नहुने पक्षमा देखिएका छन् । गत सोमबारदेखि जारी केन्द्रीय समिति बैठकमा धारणा राख्नेक्रममा उनीहरू तदर्थ समिति लम्ब्याउने प्रस्तावको विपक्षमा उभिएका हुन् ।
भ्रातृसंस्थाबाट राजनीति गरेर आएका अधिकांश नेता र सिधै पार्टीको राजनीतिमा आएका केही नेतासमेत भ्रातृसंस्थाका तदर्थ समितिको म्याद थप्न नहुने पक्षमा देखिएका छन् । उनीहरूले अहिलेसम्म पटक–पटक म्याद थप गर्दा पनि अधिवेशन गर्न नसक्ने भ्रातृसंस्थाका तदर्थ समितिले अब जति पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसक्ने बताए ।
आइतबार बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले पार्टीले भ्रातृसंस्थालाई महाधिवेशन प्रतिनिधिभन्दा फरक निकाय नदेख्ने हो भने भ्रातृ संस्थाले पार्टी संगठन बलियो बनाउन नसक्ने बताए ।
डा. रिजालले आइतबारको केन्द्रीय समिति बैठकमा भने, ‘हामीले भ्रातृ संस्था देख्दाखेरि आफूलाई पछि भोट हाल्ने महाधिवेशन प्रतिनिधिभन्दा फरक निकाय नदेख्ने हो भने भ्रातृ संस्थाले पार्टी संगठन बलियो बनाउन सक्दैन ।’
उनले भ्रातृसंस्थाका वर्तमान तदर्थ समितिले महाधिवेशन गर्ने परिकल्पना पनि गर्न नसकिने बताए ।
केन्द्रीय सदस्य चन्द्र भण्डारीले त तदर्थ समितिले महाधिवेशन गराउन नसक्ने भन्दै पार्टीले नै महाधिवेशन गराएर नयाँलाई जिम्मेवारी दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । ‘केन्द्रमा केन्द्रीय सभापतिले गराउनुस् । प्रदेशमा प्रदेश सभापतिलाई दिनुस् । जिल्लामा जिल्ला सभापतिलाई दिएर यो अधिवेशन गराउनुस्,’ भण्डारीले भने, ‘यो तदर्थ समितिको म्याद थप्ने र नयाँ बनाउने नाममा झगडा गराएर केही पनि फाइदा छैन ।’
भण्डारीका अनुसार पार्टीले भ्रातृसंस्थाका विधानविपरीत ८/९ सय जनाको तदर्थ समिति बनाएर जिम्मेवारी दिई चलाउनुस् भनेपछि चलाउन नसकेको बताए । ‘म सबैभन्दा धेरै विद्यार्थी राजनीति गरेको व्यक्ति हुँ । तर उपलब्धि पनि धेरै देखिनँ । तसर्थ म कसैलाई पनि केही गर्न थाल्दिनँ,’ भण्डारीले भने, ‘तर यत्रो ठुलो ८००/ ९०० जनाको भ्रातृ संस्था बनाएर जसलाई जिम्मेवारी दिइन्छ, चलाउनुस् भनिन्छ, अनि सक्छ ?’
उनले तदर्थ समितिलाई हटाएर पार्टीले अधिवेशन गर्ने बाटोमा गएर भ्रातृ संस्थालाई सशक्त बनाउनुपर्ने बताए । उनी नेपाल विद्यार्थी संघको राजनीति गरेर पार्टीको राजनीतिमा गएका हुन् ।
केन्द्रीय सदस्य अम्बिका बस्नेतले भ्रातृ संस्थालाई पार्टीको मेरुदण्ड भने पनि चलायमान बनाउन नसकेको आरोप लगाइन् । ‘भ्रातृसंस्था पार्टीको मेरुदण्ड हो भन्छौँ तर चलायमान बनाउन सकेका छैनौँ । त्यो भ्रातृसंस्थालाई मात्रै दोष दिने हो कि नेताहरू पनि दोषी छौँ, त्यसमा ख्याल गर्नुपर्छ,’ बस्नेतले भनिन्, ‘भ्रातृसंस्थालाई तदर्थमा चलाइरहेका छौँ । उनीहरूले अधिवेशन गर्न सक्दैनन् । हामी म्याद थपेको थप्यै गर्छौं । कार्यसम्पादन समिति र पदाधिकारी बैठकबाट म्याद थप्छौँ । समयमा अधिवेशन हुँदैन ।’

विधानविपरीतका केन्द्रीय तदर्थ समिति बनाएर महाधिवेशन गर्न सकेनन् भन्नु उपयुक्त नहुने उनको भनाइ छ ।
केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले भ्रातृसंस्थामा म्याद थपको विरोध गरिन् । न्यौपानेले भ्रातृसंस्थाको आवधिक अधिवेशन गरेर पार्टीमा युवा पुस्ताको आकर्षण बढाउनुपर्ने बताइन् ।
केन्द्रीय सदस्य दीलेन्द्र प्रसाद बडूले अहिले रहेका भ्रातृसंस्थाका तदर्थ समितिले महाधिवेशन गर्न नसक्ने बताए । बडूले निर्धारित समय नाघिसकेपछि पनि लामो समय बिताएका भ्रातृसंस्थाले अहिले पनि महाधिवेशन गर्न सक्छन् भन्ने ठोस आधार नदेखिएको बताए ।
‘निर्धारित समय नाघेर लामो समयसम्म महाधिवेशन गर्न नसक्ने भ्रातृ र भगिनी संस्थाहरूले अब अधिवेशन गरिहाल्छन् भन्ने ठोस आधार देखिएको छैन,’ बडूले बैठकमा भने, ‘उचित समय तोकेर विधानमा व्यवस्था भएको संख्यामा नयाँ समिति बनाउने र त्यो अवधि समाप्त भएपछि स्वतः विघटन हुने व्यवस्था गरौँ ।’
निर्धारित समयमा पार्टीले दिएको जिम्मेवारी पूरा नगर्नेलाई नयाँ जिम्मेवारी दिन सकिँदैन है भन्ने चेतावनीसहित नयाँ समिति बनाएमात्र लामो समयसम्म महाधिवेशन गर्न नसकेका भ्रातृसंस्थाले महाधिवेशन गर्न सक्ने उनको भनाइ थियो ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पटक–पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसक्ने भ्रातृसंस्थाका तदर्थ समितिको म्याद थप्नुको अर्थ नरहेको बताए । ‘भ्रातृसंस्थाले जति पटक म्याद थपे पनि महाधिवेशन गर्न सक्दैनन् । तसर्थ भङ्ग गरेर महाधिवेशन गर्न सक्ने सानो समिति बनाऊँ,’ केसीले भने, ‘एक पटक दिएको समयमा महाधिवेशन गर्न सकेन भने स्वतः भङ्ग गर्नेगरी कार्यादेश दिऊँ ।’
केन्द्रीय समितिमा बोल्ने संस्थापन र इतर समूहका अधिकांश सदस्यहरूले भङ्ग गरेर नयाँ समिति बनाउनुपर्ने बताएका छन् । इतर समूहका नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठकमा तीन बुँदामा धारणा राखेका छन् । त्यसमा उनले अहिलेका तदर्थ समितिले महाधिवेशन गर्न नसक्ने उल्लेख गरेका छन् ।
यस्तो छ उनको धारणा
भ्रातृ संस्थाबारेः–
१. नेविसंघ, तरुण दल, महिला संघबारे सभापतिज्यूको घरमा भएको बैठकमा मैले प्रस्टरूपले भनेको थिएँ । अहिलेको ठुलो समितिले अधिवेशन गर्नै सक्दैन, त्यसैले पार्टीले जिम्मा लिएर अधिवेशन गराऔँ । नेविसंघ निर्देशक समितिको बैठकमा मैले समयावधि थप्न समर्थन गरेको भन्ने कुरा पदाधिकारीले भन्नु भएछ । म अहिले पनि भन्दैछु, जति समय थप्नुस्, अधिवेशन हुन्छ भन्नेमा मलाई विश्वास छैन । तरुण दलका साथीहरू अनसनमा हुनुहुन्छ । नेविसंघको प्रदर्शन भैरहेको छ । यसलाई सम्बोधन गरौँ ।
२. नेविसंघ र तरुण दलभन्दा महिला संघ फरक छ । महिला संघ र पार्टीको विधान एकै प्रकारको भएकाले महिला संघको पुरानो सदस्यता नवीकरण नभएसम्म अधिवेशन सम्भव छैन । २० जना केन्द्रीय सदस्यले राजीनामा दिएको अवस्था र पुरानो सदस्यता नवीकरण नभएको अवस्थामा महिला संघको अधिवेशन हुनै सक्दैन । इलाममा महिला संघको कार्यक्रममा पुरुषहरूले महिलामाथि हातपात गरेका छन् । त्यसमा पार्टी सभापतिज्यूको ध्यान जाओस् ।
३. नेपाल दलित संघको ४२ जिल्ला विघटन गरिएको सुन्नमा आएको छ । अधिवेशनमा जाने कि विघटन गर्ने ? जिल्ला विघटनको अधिकार दलित संघको अध्यक्षलाई कसले दियो ? यसको जबाफ चाहियो ।
मैले आज बाध्य भएर भनिरहेको छु । पार्टीमा एकता होस्, गुटबन्दी र भागबन्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४ औँ महाधिवेशनमा पराजित भए लगत्तै म भागबन्डाको राजनीति गर्दिनँ भनेर भनेको थिएँ । सभापति एवं पदाधिकारीहरूले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिनँ । मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो ।
- म्याद थपबारे सभापति र महामन्त्रीबिच छैन मतैक्यता
महाधिवेशन गर्न नसक्ने भ्रातृसंस्थाका तदर्थ समितिबारे सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच नै मतैक्यता छैन ।
सभापति देउवाले अहिले रहेका तदर्थ समितिलाई खारेज गरेर नयाँ ल्याए पनि तत्काल महाधिवेशन गराउन नसक्ने भन्दै अन्तिम पटकका लागि म्याद थप्नुपर्ने बताइरहेका छन् । ‘अहिले रहेका तदर्थ समिति खारेज गरेर नयाँ ल्याए पनि तत्काल महाधिवेशन गर्न सक्ने अवस्था बन्दैन । उनीहरूलाई संगठन बुझ्न पनि समय लाग्छ । पार्टीले महाधिवेशन गर्न बनाएका निर्देशन समितिले भरपर्दो कार्यतालिका ल्याउन भनेर अन्तिम पटकका लागि थपौँ,’ देउवाको धारणा छ ।






















































