माङसेबुङ : लिम्बू (याक्थुङ) समुदायको मौलिक सांस्कृतिक अभ्यासको रूपमा लिइने के:लाङ (च्याब्रुङ नाच) को संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा शनिबारदेखि सात दिवसीय के:लाङ (च्याब्रुङ नाच) प्रशिक्षण सुरु गरिएको छ।
किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँ शाखा समितिको आयोजनामा र माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा माङसेबुङ-३ चतुरेमा प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षणमा ३० जना युवाहरु सहभागी भएका छन् । प्रशिक्षणमा अटम लिम्बू, प्रशसां लिम्बू र बिनिता लिम्बू प्रशिक्षकका रूपमा संलग्न छन् । उनीहरूले सहभागीहरूलाई केलाङ नृत्यका विविध विधा, गीत, ताल, चाल र सांस्कृतिक सन्दर्भहरूबारे व्यवहारिक अभ्यास गराउँदै प्रशिक्षण दिइरहेका छन् ।
प्रशिक्षणको उद्घाटन माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङले गरे । उनले लिम्बू समुदायको संस्कृति जगेर्ना गर्न यस्ता प्रशिक्षण कार्यक्रमहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
किरात याक्थुङ चुम्लुङ माङसेबुङ अध्यक्ष मनरस लिम्बू (विपन) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमिस योङहाङले गरेका थिए ।
अध्यक्ष लिम्बूले युवा पुस्तालाई परम्परागत नृत्य, गीत र संस्कृतिसँग जोडेर लैजाने उद्देश्यका साथ प्रशिक्षण सुरु गरिएको बताए । स्थानीय युवाहरूमा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने र समुदायमा एकता सुदृढ बनाउने लक्ष्यका साथ आयोजना गरिएको यो कार्यक्रम आगामी सात दिनसम्म चल्नेछ ।