साहसिक पर्यटनको सम्भावनायुक्त क्षेत्र : घोर्ले भिर

इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखीमा अवस्थित घोर्ले भिर । यहाँ प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, ट्रेकिङजस्ता साहसिक गतिविधिका लागि पर्यटनको नयाँ गन्तव्य बन्ने  सम्भावना छ । तस्बिर : राम योङहाङ

– इलामको माङसेबुङ गाउँपालिकामा घोर्ले भिर प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिका लागि सम्भावना भए पनि पूर्वाधार अभावले विकास हुन सकेको छैन।

– स्थानीयले घोरल र मृगको बासस्थान भएको कारणले नामकरण भएको र जङ्गली जनावरहरुको संरक्षण आवश्यक रहेको बताइन्छ।

-सरकार र स्थानीय समुदायबीच सहकार्य र आधारभूत पूर्वाधार विकास भएमा घोर्ले भिर पर्यटन क्षेत्रको रुपमा विकसित हुने सम्भावना छ।

परिचय

नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता र साँस्कृतिक सम्पन्नताले भरिपूर्ण देश हो । यहाँका हिमाल, पहाड, कुना, कन्दरा, खोँच, नदी, झरना, भिर तथा पखेराहरुले देशलाई अद्वितीय बनाएका छन् । त्यस्ता थुप्रै भूभागहरुमध्ये कतिपय पर्यटकीय दृष्टिले चम्किएका छन् भने कतिपय अझै ओझेलमा नै छन् । त्यस्तै भूभागमध्ये एक, हो पूर्वी नेपालको इलाममा अवस्थित घोर्ले भिर । जिल्लाको माङसेबुङ गाउँपालिका-१ गजुरमुखीमा अवस्थित घोर्ले भिर साहसिक पर्यटनका लागि प्रसस्त सम्भावना रहेको स्थल हो ।

ठाडो स्वरुप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा रहेको घोर्ले भिर अन्दाजी एक सय ५५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो समुन्द्री सतहबाट अनुमानित १५ सयदेखि १७ सय मिटरसम्मको उचाईमा अवस्थित छ । भिरको अधिकांश भूभाग ठूला चट्टानहरु छन् । वरीपरी भने हरियाली डाँडाकाँडा छन् ।

घोर्ले भिर नाम आफैंमा आकर्षक र अर्थपूर्ण छ । स्थानीय ज्येष्ठ नागरिक मनबहादुर बुढाथोकीका अनुसार जङ्गली जनावर घोरल प्रसस्त मात्रा पाइने भएकाले यस भिरको नाम घोर्ले भिर रहन गएको हो । पहिलेपहिले त्यस भिरमा स्थानीय गाउँलेहरुले गाईवस्तु, बाख्रा चराउन लैजाँदा बाख्रासँगै घोरल चर्ने, रमाउने र खेल्ने गरेकाले त्यस भिरको नाम घोर्ले भिर रहन गएको उनको भनाई छ ।

‘हामी केटाकेटी हुँदा बाख्रा चराउन घोर्ले भिर जान्थ्यौं, त्यतिबेला घोरलहरु बाख्रासँगै चर्ने गर्दर्थ्यो । बेलुका बाख्रा घरतिर ल्याउँदा घोरलहरु पनि बाख्रासँगै आउने गरेको र बाख्राहरु खोरमा पसेपछि ती घोरलहरु जङ्गलतिरै जाने गर्दथे’ बुढाथोकीले सुनाए । त्यसरी घोरलहरुको बासस्थान भएको कारणले नै घोरल भिरबाट अपभ्रशं हुँदै बोलीचालीमा सहजताका लागि घोर्ले भिर नामाङ्करण गरिएको उनको भनाई छ ।

विशेषता

घोर्ले भिर प्राकृतिक सुन्दरता र जैविक विविधताको दृष्टिले समेत महत्वपूर्ण छ । यहाँको भिर ठाडो र विशाल छ, तर मनोरम पनि उत्तिकै छ । एकातिर साहसिक गतिविधिको सम्भावना र अर्कोतर्फ हरियाली शान्त वातावरण । पहिलो पटक घोर्ले भिर पुग्ने जो कोहीले स्वर्गीय आनन्द प्राप्त गर्छन् ।

घोर्ले भिरको टुप्पोबाट चारैतिरका डाँडाकाँडा, स्थानीय जीवनशैलीका वस्तीहरु, हरियाली फाँटहरु एकैसाथ देखिन्छन् । मौसम सफा भएको बेला कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल समेत देख्न सकिन्छ । यहाँको मौसम परिवर्तनसँगै देखिने प्राकृतिक दृश्यले जो कोहीलाई स्वर्गीय आनन्द प्राप्त हुन्छ । भौगोलिका बनावटका कारण घोर्ले भिरले प्रकृतिप्रेमी र फोटोग्राफरहरुलाई विशेष आकर्षित गर्ने गर्दछ ।

घोर्ले भिर वरपरको जङ्गलमा घोरलसँगै अन्य जङ्गली जनावरहरुको बासस्थान प्रसस्त पाइन्छ । घोर्ले भिरमा दर्जनौं गुफा, ओढार, चेप र खोपहरु छन् । ती गुफा, ओढार, चेप र खोपमा घोरल, मृग, चितुवाहरु बस्दथे । अहिले पनि घोरल र मृगहरु प्रसस्त देख्न पाइन्छ । चितुवाहरु भने पाउन छाडिएको छ ।

‘मैले बाल्यकालदेखि घोर्ले भिर हेर्दै आएको छु । पहिले हामी गाई बाख्रा चराउने, टिडिबुटी टिप्ने ठाउँ थियो । यहाँ प्रसस्त जङ्गली जनावरहरु पाइन्थे,’ स्थानीय गणेश नेपालले भने, ‘अहिले कम हुँदै गएको छ ।’ घोर्ले भिरको बीच भागमा घोरल र मृगले चाट्ने ‘खार’ पाइने उनको भनाई छ । त्यो नुनिलो स्वादको हुने भएकाले घोरल र मृगले नुनको स्वाद त्यही खार चाटेर लिने गर्दछन् ।

घोर्ले भिर वरपरका जङ्गलमा जैविक महत्वका विभिन्न जडिबुटिजन्य वनस्पतिहरु समेत प्रसस्त पाईन्छ । भोर्ला, चिउरी, लालीगुँरास, सुनाखरी, कुरिलो, असुरो, बुढो ओखर, हटचुर, अमला, हर्रा, बर्रा, पुदिना, तितेपाती, मालागिरी, पाङ्ग्रा, बल्ढङ्ग्रा, कुकुरदाइनो, सिकारी लहरा, बाबियो, दार, गुर्जोलगायत जैविक महत्वका खोपोन्मुख जडीबुटीहरु पाइन्छन् ।

इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखीमा अवस्थित घोर्ले भिरको अवलोकन गर्दै पत्रकारहरु । तस्बिर : नयाँ बुलन्द

साहसिक पर्यटनको सम्भावना

साहसिक पर्यटन भन्नाले त्यस्तो भ्रमण हो, जसमा केही जोखिम, शारीरिक सशक्तता र मानसिक साहस आवश्यक पर्छ । यो ‘दर्शनीय स्थल’ घुम्ने भन्दा विल्कुल फरक हुन्छ । यसमा माउण्टेन क्लाइम्बिङ, रक क्लाइम्बिङ, ट्रेकिङ, हाइकिङ प्याराग्लाइडिङजस्ता गतिविधिहरु पर्छन्  ।

नेपालमा साहसिक पर्यटन व्यवासायको इतिहास निक्कै लामो भइसकेको छ । सन् १०५० को दशकमा ब्रिटिस नागरिक जिम्मी रोबर्टले माउण्टेन ट्राभलमार्फत नेपालमा साहसिक पेयटनको व्यावसायिक सुरुआत गरेको इतिहास छ । विदेशीको प्रयासमा ट्रेकिङको सुरुआतसँगै नेपालमा साहसिक पर्यटनको विकास हुन थालेको हो ।

नेपालका विभिन्न क्षेत्रमा अहिले बञ्जी जम्प, र्‍याफ्टिङ, माउण्टेन क्लाइम्बिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, हाइकिङ, ट्रेकिङजस्ता साहसिक गतिविधिहरु सञ्चालन हुँदै आएका छन् । त्यस्ता साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकहरुका लागि घोर्ले भिर आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना छ ।

‘घोर्ले भिर क्षेत्र आसपासमा ट्रेकिङका लागि उत्कृष्ट वातावरण छ । माङसेबुङ गाउँपालिका कार्यालयदेखि घोर्लेभर डाँडासम्म र १ नं. वडा कार्यालयदेखि घोर्ले भिर डाँडासम्मको ट्रेकिङ ट्रेल निर्माण गर्न सकिन्छ,’ स्थानीय यामकुमार बुढाथोकीले भन्नुभयो, ‘घोर्ले भिरको चट्टानी संरचना रक क्लाइम्बिङको पनि उत्तिकै सम्भावनायुक्त छ ।’

त्यस्तै सफा मौसम, हावाको सन्तुलित प्रवाह, उचाई र खुला भूक्षेत्रको उपलब्धताको कारण घोर्ले भिरमा प्याराग्लाइडिङको समेत सम्भावनायुक्त क्षेत्र रहेको उनको भनाई छ । घोर्ले भिरबाट उडेर तलतिर फेवा खोलाको बगरमा अवतरणका लागि दुरी समेत पर्याप्त हुने भएकाले प्याराग्लाइडिङको सम्भावना पनि उत्तिकै छ ।

‘घोर्लेभिरको चट्टानी संरचना रक क्लाइम्बिङको पनि उत्तिकै सम्भावना छ।’

प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, ट्रेकिङजस्ता साहसिक गतिविधिका लागि घोर्ले भिर नयाँ गन्तव्य बन्न सक्छ । तर, त्यसको हालसम्म सरकारी निकाय र नीजि क्षेत्रबाट कुनै सम्भाव्यता अध्ययन भने भएको छैन ।

स्थानीय बोटविरुवाको विविधतामा वैज्ञानिक अनुसन्धान, औषधीय अध्ययन र बोटानिकल टुरिज्मका लागि पनि घोर्ले भिर सम्भावनायुक्त मानिन्छ । साथै जैविक कृषि, मौरीपालन र जडिबुटी खेतीको सम्भावना समेत प्रसस्त छ ।

स्थानीय बोटविरुवाको विविधतामा वैज्ञानिक अनुसन्धान, औषधीय अध्ययन र बोटानिकल टुरिज्मका लागि पनि घोर्ले भिर सम्भावनायुक्त मानिन्छ । साथै जैविक कृषि, मौरीपालन र जडिबुटी खेतीको सम्भावना समेत प्रसस्त छ ।

छैन सरकारी लगानी

घोर्ले भिर र आसपासका क्षेत्रमा भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन । त्यहाँसम्म पुग्न मोटरेबल बाटो बन्न सकेको छैन । विद्युत, खानेपानीको सेवा विस्तार हुन सकेको छैन । साहसिक पर्यटनमा प्रसस्त सम्भाना भएतापनि त्यसको सानो हिस्सा पनि उपयोग गर्न नसक्नु दुर्भाग्यको विषय हो ।

त्यस क्षेत्रको प्रवद्धनमा हालसम्म सरकारको लगानी नभएनि आगी वर्षदेखि लगानी सुरु गरिने वडाअध्यक्ष भूपाल योङहाङ बताउँछन् । ‘घोर्ले भिर नजिकै लामिडाँडाको शिवालय मन्दिरसम्म त गाउँपालिकाको लगानीमा सडक पुर्‍याईएको छ । बाँकी कुनै काम गर्न सकिएको छैन,’ वडा अध्यक्ष योङहाङ भन्छन्, ‘आगामी दिनमा वडाको तर्फबाट समेत घोर्ले भिरको प्रवर्द्धनका लागि कार्यक्रम समावेश गर्नेछौं ।’

गाउँपालिकाले सम्भाव्यता अध्ययन गर्दै

माङसेबुङ गाउँपालिकाले घोर्ले भिरमा साहसिक पर्यटनको सम्भाव्यता अध्ययन गर्ने तयारी सुरु गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकी क्षेत्रहरुको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले घोर्ले भिरलाई साहसिक पर्यटीय क्षेत्रको रुपमा विकास गर्न सम्भाव्यता अध्ययनको तयारी भइरहेको बताउँछन् ।

‘घोर्ले भिरमा रक क्लाइम्बिङ र प्याराग्लाइडिङ जस्ता साहसिक गतिविधि गर्न सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकार र संघीय सरकारसमक्ष मा पेश गरेका छौं,’ अध्यक्ष राईले भने, ‘नेपालका थुप्रै डाँडा टाकुराहरु पर्यटकीय गन्तव्य बनेका छन् । घोर्ले भिर त झन् प्रसस्त सम्भावना भएको क्षेत्र हो ।’

उनले पर्यावरण संरक्षणसँग जोड्दै पालिका पर्यटन विकासमा अघि बढिरहेको बताउनुभयो । ‘विशेष गरी वन्यजन्तु ‘घोरल’ पाईने भएकाले त्यसको संरक्षणका लागि पनि अध्ययन गर्ने कि भनेर छलफल भइरहेको छ,’ उहाँले बताउनुभयो ‘स्थानीयको सहभागितामा स्थानीय नै लाभान्वित हुने नीति अपनाएर काम गर्नेछौं ।’

अध्यक्ष राईले घोर्ले भिरमा पर्यटन प्रवर्द्धन गर्न योजनाबद्ध रुपमा काम गरिने बताए । त्यसकै लागि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको योजनाबद्ध रुपमा प्रवर्द्धन गर्नका लागि गएको साता त्यस्ता १८ वटा क्षेत्रको अध्ययन र अनुसन्धान गर्न पर्यटन पदयात्रा सम्पन्न गरेको उनले बताए ।

इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखीमा अवस्थित घोर्ले भिर तस्बिर : नयाँ बुलन्द

समस्या र चुनौती

नेपालको पूर्वी पहाडी भेगमा अवस्थित घोर्ले भिर साहसिक पर्यटनको दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र हो । तर सम्भावना जति प्रशस्त छ, त्यहाँ उतिकै चुनौतीहरू पनि छन् । यी चुनौतीहरूको पहिचान र समाधान नै दीर्घकालीन, दिगो र सफल पर्यटन विकासको आधार बन्न सक्छ ।

घोर्ले भिर दुर्गम पहाडी भूभागमा अवस्थित छ, जहाँ सवारीसाधन सहज रुपमा पुग्न सक्दैन । साहसिक पर्यटन सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधारको अभाव, प्रशिक्षित जनशक्ति र सेवा गुणस्तरको अभाव,  लगानी अभाव, विपद् जोखिम र सुरक्षा चुनौती, पर्यावरणीय जोखिम र असर, सांस्कृतिक प्रभाव र सामाजिक चुनौती, प्रचासप्रसारको अभाव, नीति र योजना कार्यान्वयनमा कमजोरीलगायत चुनौतीहरु छन् ।

घोर्ले भिरको साहसिक पर्यटनमा थुप्रै चुनौतीहरु छन् । तर यी चुनौतीहरू समाधान नगरेसम्म पर्यटन विकास दिगो र सुरक्षित बन्न सक्दैन । नीति निर्मातादेखि स्थानीय समुदायसम्मको सहकार्यमा ती चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्नु पर्दछ ।

कसरी पुग्ने ?

गाउँपालिका कार्यालयबाट बताहा दोभान हुँदै तोभाङ भञ्ज्याङसम्म सवारी साधनमार्फत र त्यहाँबाट करिब आधा घण्टाको उकालो पैदल यात्रापछि घोर्ले भिर पुग्न सकिन्छ । त्यसैगरी अर्को बाटो गजुरमुखी धामदेखि तोभाङ हुँदै भञ्ज्याङसम्म र १ नं. वडा कार्यालयबाट भञ्ज्याङसम्म सवारी साधनमार्फत र त्यहाँबाट करिब आधा घण्टाको उकालो पैदल यात्रापछि घोर्ले भिर पुग्न सकिन्छ । त्यसैगरी दमक-चिसापानी-रवि सडक अन्तर्गत हुलाकदेखि देउराली हुँदै लामिडाँडाबाट पनि पैदल यात्रा गरेर घोर्ले भिर पुग्न सकिन्छ ।

सुझाव

घोर्ले भिरलाई सहसिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन समग्र, योजनाबद्ध र दिगो दृष्टिकोण आवश्यक छ । यसका लागि स्थानीय सरकार, नीजि क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय समुदायहरुबीच सहकार्य अपरिहार्य पर्छ । घोर्ले भिरको पर्यटन प्रवर्द्धनका लागि सडक निर्माण, विद्युत विस्तार, खानेपानीको व्यवस्थापन, शौचालय व्यवस्थापन इन्टरनेटको व्यवस्थापनजस्ता आधारभूत कामको थालनी गर्नुपर्छ । त्यस्तै, सरकारको तर्फबाट घोर्ले भिरको प्राकृतिक र साँस्कृतिक विशिष्टतालाई हाइलाइट गर्ने ब्राण्डिङ रणनीति बनाई समुदायमा आधारित पर्यटन मोडल अपनाएर दिगो पर्यटन विकास गर्नु पर्दछ ।

निष्कर्ष

घोर्ले भिर सबैको साझा सम्पत्ति हो र आयआर्जनका लागि प्रकृतिले लिएको अति राम्रो प्राकृतिक सम्पदा हो । घोर्ले भिरलाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्न सके स्थानीयलाई रोजगारीको अवसर सिर्जनना हुनका साथै आम्दानी समेत बढ्ने देखिन्छ । यसको प्रवर्द्धनका लागि सरकार, पर्यटन व्यवसायी र स्थानीयबासीको सहकार्य र समन्वयमा अत्यावश्यक छ । यदि यहाँको सम्भावनालाई योजनाबद्ध ढङ्गले उपयोग गर्न सकियो भने यो केवल माङसेबुङको मात्र होइन, समग्र इलाम र नेपालकै गौरव बन्नेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार