इलामः इलामको फाकफोकथुम-१ खाम्बाङमा निर्माण सम्पन्न नागेश्वर शिवालय मन्दिर उभौली पर्वको अवसर पारेर शनिवार उद्घाटन गरिएको छ । मन्दिर निर्माण मुल समिति अध्यक्ष खगीमाया भट्टराईको अध्यक्षतामा प्रमुख अतिथि फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल र स्थानीयबासी ९८ वर्षीया लिलावती भट्टराईद्वारा मन्दिर उद्घाटन गरिएको हो ।
विधिवत उद्घाटन गरिएको मन्दिरमा पाँच जना ब्रह्माणबाट पञ्चरुद्री पाठसहित विविध कार्यक्रमसंगै संचालनमा ल्याइएको छ । यसैबीच, मन्दिर निर्माण सम्पन्न गर्ने सहयोगी धार्मिक व्यक्तित्व,जग्गादातासहित ५० जनालाई यसै अवसरमा सम्मान गरिएको छ भने आजवीन सदस्यहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको सचिव इन्द्रकमल तामाङले जानकारी दिए ।
स्थानीय जग्गादाता सिद्धि प्रसाद भट्टराईले निःशुल्क उपलब्ध गराएको एक रोपनी जमीनमा २०७४ सालबाट मन्दिर निर्माण कार्य थालिएको थियो । निर्माण शुरु गर्न पूर्वमन्त्री केशव थापाले ५० हजार रुपैंया प्रदान गरेका हुन् । आर्थिक वर्ष २०७५/०७६ र ०७९/०८० मा गरी १ नम्बर वडा कार्यालयले तीन लाख, ०७६/०७७ र ०७८/०७९ मा फाकफोकथुम गाउँपालिकाले दुई पटक गरी पाँच लाख उपलब्ध गराएको थियो । उक्त शुरूको बजेटबाट मन्दिर निर्माणमा खर्च अभाव भएपछि अलपत्र भयो । त्यसबेला बैदेशिक रोजगारको शिलसिलामा कोरियामा रहेका स्थानीय युवाले एक लाख १३ हजार संकलन गरी निर्माण समितिलाई हस्तान्तरण गरिएको र मन्दिरको काम अगाडी बढेसंगै स्थानीयतहले पनि पछिल्लो पटक बजेट उपलब्ध गराएको निर्माण समितिले जनाएको छ ।
पटक-पटक गरी जम्मा रकम ८ लाख ६३ हजार प्राप्त भएपछि निर्माण सम्पन्न भइ हाल मन्दिरको नाममा ११ हजार रुपैंया बचत रहेको कोषाध्यक्ष नारायण बोहोराले बताए ।साधारण सदस्य शुल्क ५०५ रहेको यस संस्थामा २२ जना सदस्य र ३१०० रुपैंया निर्धारण गरिएको आजीवन सदस्यमा १६ जना छन् । साधारण सदस्य र आजीवन सदस्यबाट जम्मा भएको रकम संस्थाको खातामा जम्मा गरिएको छ ।
प्यागोडा शैलीको डिजाइनमा जस्तापाताको छानो भएको मन्दिर बजेट अभावका बाबजुद लामो समयपछि निर्माण सम्पन्नसंगै विद्युत,खानेपानी र शौचालय पनि निर्माण भएको छ । हाल घेराबारा,गेट र प्रतिक्षालयसंगै अन्य मन्दिर सजावट टायल,मार्वल,पक्की छाना मन्दिर परिसरमा ढलानलगायत अन्य पूर्वाधार संरचना निर्माण गर्नु पर्ने आवश्यक रहेको समितिले जनाएको छ । प्रमुख अतिथि पालिका अध्यक्ष खनालले आवश्यक संरचनालाई पालिकाले सम्बोधन गर्ने बताए । उद्घाटन समारोहमा १ नम्बर वडाध्यक्ष कर्णबहादुर लिम्बु,महिला सदस्य गोमादेवी भट्टराई,समाजसेवी पूर्वशिक्षक जयनारायण भट्टराई,जगत बोहोरा,जग्गादता सिद्धि प्रसाद भट्टराईलगायतले मन्त्वय राखेका थिए । हाल उद्घाटन गरिएको मन्दिर सधैं खुल्ला राखिने र विशेष पर्वहरुमा कार्यक्रम संचालन गरिने भएको छ । समारोहमा कवि तथा साहित्यकार जयनारायण भट्टराईद्वारा निर्मित सम्झनाका सुसेली कविता संग्रहको पनि प्रमुख अतिथि खनाल मार्फत विमोचन गरिएको थियो । उक्त कविता संग्रह यसोभानु साहित्य संङ्गीत प्रतिष्ठान,इलामले प्रकाशन गरेको हो ।
खसआर्य समुदायको बाक्लो बसोबास भएको यस ठाउँमा तामाङ,राई र दलित समुदायको पनि बसोबास रहेको छ । शिवालय मन्दिरमा सवै जातजातीको साथ सहयोग र सद्भाव रहेको पाइन्छ । यस अघि यो ठाउँ आसपास कुनै मन्दिर निर्माण गरिएको थिएन । स्थानीयले पूजापाठ गर्दै र मान्दै आएका प्राकृतिक देवस्थलहरु भने पर्याप्त छन् । हाल निर्माण भएको मन्दिरको केही माथिल्लो भागमा भने साङ्गे च्योदाम्दे छोयलिङ गुम्बा करीब दुई दशक हाराहारी पहिले बनेको छ । यहाँ सवै धर्मावलम्बीहरु विभिन्न अवसरमा भेला हुने गर्दछन् ।
धेरै ठाउँमा मन्दिर निर्माण हुने तर यसको महत्व भने कम गरिने गरेको छ । तर यस ठाउँमा पहिलो पटक बनेको मन्दिरले स्थानीय बुढापाका र विशेष गरी महिलाहरुलाई हरेक पर्वमा मन्दिर अभावमा टाढा जानु पर्ने वाध्यता अन्त्य भएकोमा हर्षित छन् ।
मन्दिर उद्घाटन गर्नु अघि स्थानीय धार्मिक व्यक्तित्वहरुबाट ठुलो घन्टी,शंख,त्रिशूल,घडा,चक्र,थाली,जलहरी,आरती थाल,कलश, गणेशको मुर्ती, चम्मरलगायत पुजाआजाका सामाग्री प्रदान गरेका छन् भने सामाग्री सौजन्य गर्ने क्रम जारी रहेको बताइएको छ । मन्दिरको भव्य उद्घाटन गर्न स्थानीयबासीले आवश्यक खानपिनका सामाग्रीसहित आर्थिक सहयोग गरेका छन् ।
नयाँ मन्दिरको उद्घाटनले स्थानीय धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने अपेक्षासहित स्थानीय समुदायमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउने विश्वास गरिएको छ । सात सदस्यीय समिति र पाँच जना सल्लाहकार समिति रहेको यस संस्थाको भव्यताका साथ उद्घाटन गरिएको कार्यक्रममा स्थानीयबासी,समाजसेवी,धार्मिक व्यक्तित्व ,पण्डित,पुजारीलगायतको बाक्लो उपस्थिति थियो । स्थानीय शिक्षक खगेन्द्र प्रसाद भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रम बालकृष्ण भट्टराईले संचालन गरेका थिए।
मन्दिरमा क-कस्को के योगदान छ ?
दाताहरुबाट मन्दिरलाई चाहिने आवश्यक सामाग्रीहरु उपलब्ध गराइएको छ । स्थानीयवासी स्वर्गीय भक्तबहादुर बोहोराका सन्तान आठ भाइ छोराबाट एक लाख ३३ हजार मुल्य बराबरको काँस धातुको शिव र बसाहको मुर्ती मन्दिरलाई उपलब्ध गराएका छन् । मन्दिरमा आगन्तुकलाई बस्न सहज होस भन्ने हेतुले स्थानीबासी हाल काठमाण्डौ बसोबास गर्दै आउनु भएका इन्द्र बस्नेत र विनिता बस्नेतले आफ्ना स्वर्गीय अग्रजहरुका नाममा एक लाख रुपैंया बराबरको पाँच वटा फलामे बेन्च र शिव लिङ्ग सौजन्य गरेका छन् । ५८ हजार रुपैंया मुल्य बराबरको काँस धातुको पार्वतीको मुर्ती स्थानीयबासी स्वर्गीय खगप्रसाद भट्टराईका तीन भाई छोराबाट प्रदान गरेका छन् भने सोही परिवारका जेठा छोरा उदयनारायण भट्टराईले ५० हजार मुल्य लागतमा जस्तापाताको छानोसहितको सिमेन्टेड हवन कुण्ड मन्दिर अगाडी निर्माण गरिदिएका छन्।
यसैगरी, स्थानीय शिक्षक खगेन्द्र प्रसाद भट्टराईले १४ हजार पाँच सय मुल्य लागतमा मन्दिरको दक्षिण तर्फको फलामे मुल ढोका सौजन्य गरेका छन् । पूर्व र पश्चिम तर्फको १५ हजार मुल्य बराबरको फलामे मुलढोका स्थानीय समाजसेवी गणेश र नारायण बोहोरा दुई दाजुभाइले सौजन्य गरेको समितिले जनाएको छ। मन्दिरमा आवश्यक पर्ने सामाग्रीहरु सहयोग गरिदिन इच्छुक धार्मिक व्यक्तित्वहरुलाई अपिलसमेत गरिएको समिति सदस्य हर्कमाया तामाङले जानकारी दिइन् ।