
इलाम : पर्यटन प्रवर्द्धनका लागि इलाममा दुई दिने साहित्य महोत्सव हुने भएको छ । इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा यही आउने चैत १ र २ गते ‘इलाम साहित्य महोत्सव’ हुने भएको हो ।
‘पर्यटनका लागि साहित्य’ मूल नारासाथ हुने चौथो संस्करणको साहित्य महोत्सवको तयारी तीब्र पारिएको आइतबार सदरमुकाममा पत्रकार सम्मेलन गरी इलाम नगर साहित्य, कला, संगीत प्रतिष्ठानले जानकारी दिएको छ । साहित्य महोत्सवमा समाजका विभिन्न पक्षका विषयमा बहस हुने प्रतिष्ठनका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए ।
महोत्सवमा नेपाल, भारत र बंगलादेशका डेढ सय बढी ख्यातिप्राप्त चिन्तक, कवि, कलाकार तथा राजनीतिज्ञको उपस्थिति हुने अध्यक्ष थाम्सुहाङले बताए । ‘इलाम त्यसैपनि पर्यटकीय जिल्ला हो । यसलाई साहित्यका माध्यमबाट समेत थप विकास र प्रवर्द्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको हो,’ अध्यक्ष थाम्सुहाङले रासससँग भन्नुभयो, ‘महोत्सवमा नेपाल, भारत र बंगलेदेशका गरी डेढ सय बढी ख्यातिप्राप्त चिन्तक, कवि, कलाकार तथा राजनीतिज्ञ इलाम आउनुहुनेछ ।’ महोत्सवमा २२ चरणका कार्यक्रमहरु रहने उनले जानकारी दिए । साँस्कृतिक र्यालीसहित उदंघाटन गरी कि नोट प्रस्तुति, प्यानल डिस्कसन, कविता, गजल साँझका कार्यक्रमहरु सञ्चालन हुनेछ ।
पहिलो दिन भारतको जवाहरलान नेहरु विश्वविद्यालयका पूर्प्राध्यापक आनन्द कुमारले ‘पर्यावरण र लोकतन्त्र’ विषयमा कि नोट प्रस्तुत गर्नेछन् । सोही दिन ‘गाउँको सौन्दर्य’, ‘कला र अध्यात्म’, ‘विभेद विरुद्धका आलापहरु’, ‘कविताको पहिचान’, ‘मुन्धुम र पर्यावरण’, ‘सामाजिक सञ्जाल र मुल्य संकट’, ‘पर्यापर्यटन : अबको बाटो’ शीर्षकमा छलफल हुनेछ । सोही दिन कविता कन्सर्ट समेत रहने कार्यक्रम रहेको अध्यक्ष थाम्सुहाङले बताउनुभयो । सोही दिन गजल साँझ समेत हुनेछ ।
दोस्रो दिन ‘इलामले इलाम : पेशा र पैसा’, ‘युवा : सपना र संघर्ष’, ‘डिजिटल दुनियाँमा सर्जक’, ‘प्राज्ञिक अनुसन्धानमा पहिचान’, ‘मन्द्राकान्ता : पात्र विमर्श’, ‘युद्धदेखि शब्दसम्म’, ‘जीवन फर्केर हेर्दा’, ‘इम्बोडिङ डाइभरर्सिटी इन साउथ एसिया थ्रु ट्रान्सलेशन’ र ‘आशा र निराशाको राजनीति’ शीर्षकमा छलफल हुनेछ ।
महोत्सवमा विभिन्न रैथाने खाद्यको प्रदर्शनी, चित्रकलालगायतका कार्यक्रमहरु समेत रहनेछ । त्यसैगरी साँझ कविता कन्सर्टसँगै महोत्सव समापन हुने प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिए ।
महोत्सवका लागि कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले रु सात लाख र इलाम नगरपालिकाले रु पाँच लाख उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष थाम्सुहाश्रले जानकारी दिए ।



















































