इलाम : पूर्वी पहाडको प्रथम रामसार क्षेत्र इलामको माईपोखरी क्षेत्रमा २ दिने बहुधार्मिक पर्यटन महोत्सव आयोजना हुने भएको छ । इलामको सन्दकपुर गाउँपालिमा रहेको धार्मिक, पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीको अवसर पारेर बहुधार्मिक पर्यटम महोत्सव आयोजना हुने भएको हो ।
माईपोखरी रामसार क्षेत्रमा गत वर्ष बहुधार्मिक महायज्ञ आयोजना गरिएको थियो । पर्यटन प्रवद्र्धन र धार्मिक एकतालाई मजबुत गर्ने उदेश्यले गत वर्ष माईपोखरी बहुधार्मिक प्रवचन र महायज्ञको आयोजना गरिएको थियो । गत वर्ष झै सप्ताहा महायज्ञ र प्रवचनको आयोजनाको तयारी नपुगेकाले २ दिने माईपोखरी बहुधार्मिक पर्यटन महोत्सवको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष प्रेमनाछिरिङ राईले बताए । धार्मिक र पर्यटकीय क्षेत्र माईपोखरीलाई व्यवस्थित गर्न छुट्टै समिति चयन गर्ने कार्यविधि पास भएपनि समिति चयन हुन नसकेपछि गत वर्षको त्रिधार्मिक उत्सव आयोजक समितिलाई धार्मिक र पर्यटन प्रवद्र्धनका कामको जिम्मा दिएको थियो ।
कात्तिक २६ र २७ गते आयोजना हुने बहुधार्मिक पर्यटन महोत्सवमा हिन्दु गुरु, बौद्ध गुरु र किराँत धर्मगुरुले पूजापाठ, मन्त्रोच्चारणलगायतका काम गरिनेछ ।माइपोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयामिक अनुसन्धानस्थलका रूपमा विकास गर्ने उद्देश्य र माईपोखरी नजिकै रहेका पर्यटकीयस्थलको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको आयोजक समितिका देबेन्द्र सुवेदीले जानकारी दिए ।
महोत्सवमा माइपोखरी दर्शन–अवलोकन, माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन र धार्मिक प्रवचन सुन्न पाइनेछ । माइपोखरीमा पूजाआजा गरेमा विभिन्न भाकल र मनोकांक्षा पुरा हुने विश्वास गरिँदै आएको छ ।
नौ कुनाको पोखरीः धार्मिक आस्था होस् या पर्यटकीय र जैविक, सबै हिसाबले घुम्ने ठाउँ माईपोखरी बनेको छ । माइपोखरीबाट छिन्टापु, सन्दकपुर जौबारी ढापपोखरी जोड्ने ५० किलोमिटर पदमार्ग निर्माण भएको छ । उच्च पहाडको टाकुरामा कसैले फुर्सदमा कुँदेजस्तो नौ कुनाको पोखरी छ । वरीपरी हरियालीभित्र कतैबाट पनि पूरै भाग नदेखिने भएकाले आधा जसो कुना घुमेरै मात्र देखिनु यसको अर्को विशेषता हो ।
दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माइपोखरीको दुई हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेदनशील मानिएको छ । बाक्लो कुहिरोले छाडेर आकाश छङ्ग खुल्ने बित्तिकै माइपोखरी निकै मनमोहक देखिन्छ । हरीवोधनी एकादशी र प्रत्येक वैशाख १ मा यहाँ ठूलो धार्मिक मेला लाग्ने माईपोखरीमा हरीवोधनी एकादशीको दिनेको अवसर पारेर आयोजना हुने बहुधार्मिक पर्यटक उत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने आयोजक समितिकी लिला भट्टराईले बताइन् । माइपोखरी वरपर होमस्टे रहेकाले माईपोखरी भ्रमणमा आउने पर्यटकहरुबाट बास बस्न समस्या नहुने उनले बताइन् ।
यहाँ आउने पर्यटकले फूल, आलु, मुला, अर्गानिक चिया र तरकारी खान पाउँछन् । किनेर पनि लैजान सक्छन् । दर्जनौँ प्रजातिका चाँप, गुराँस र लोपोन्मुख जडीबुटीले घेरिएको माइपोखरीमा आकाश उघ्रेका बेला कञ्चन पानीमा कोणधारी धुपी–सल्लाघारीको छाँया देखिन्छ । प्रेम जोडीको त गन्तव्य हो नै, माइपोखरीमा नवदम्पती बिहे लगत्तै जीवनको अटुट कसम खान पुग्छन् ।
दर्जनौँ प्रजातिका चाँप, कटुस, झिँगाने, उतिस, लौठसल्ला, चिराइतो, सतुवा, जटामसी, ओखेआलु, बूढो ओखती पाइन्छ । चिमाल प्रजनन अनुसन्धान क्षेत्र, रक गार्डेन, जडीबुटी प्रदर्शनी प्लट, लोठसल्ला प्लट, अर्किड उद्यान, जर्मन प्लान्ट, शोभनीय बगैँचा देखिन्छन् यहाँ । प्रत्येक जसो बिरुवामा तिनका स्थानीय र वैज्ञानिक नाम अङ्कित गरिएको छ । २८ अक्टोबर सन् २००८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दसौँ बैठकले माइपोखरीलाई विश्व सम्पदा सूचीमा राखेको हो ।
महोत्सवमा आन्तरिक र बाह्य गरि ५० हजार पर्यटकहरु र भक्तजनलाई भ्रमण माईपोखरीमा गराउने उदेश्य राखिएको छ । महोत्सव सफल बनाउन ३ लाख बढी खर्च हुने आयोजक समितिकी कोषाध्यक्ष निर्मला निरौलाले बताइन् । सो खर्चमा माईपोखरी क्षेत्रमा रहेका मठ मन्दिरहरुको र अन्य संरचनाहरुको पनि मर्मत गरिने छ ।
माईपोखरीसँगै महोत्सवमा पुग्ने पर्यटकले भ्रमण गर्न सकिने पर्यटकीयस्थल
विश्व रामसार सुचिमा सुचिकृत भएको माईपोखरी पुग्ने पर्यटकहरुले नजिकका पर्यटकीय गन्तव्यहरुमा पनि भ्रमण गर्न सक्नेछ । माईपोखरी पुग्ने पर्यटकीय गन्तव्य पुग्ने पर्यटकहरुलाई बास बस्नेका लागि होटल र होमस्टेको व्यवस्था छ । माईपोखरी रामसार क्षेत्र भ्रमण गरेपछि नजिकको पर्यटकीयस्थलहरु पनि भ्रमण गर्न सकिनेछ ।
जसमा माईपोखरी नजिकै रहेको डम्बरसिंह सुनुवार बुहसास्कृतिक संग्राहालय, देउराली बजार, सहिद सात खाण्डे, छाँगे झरना, रेडपाण्डा प्रजनन् केन्द्र टप्पु, टारी बेंसि, सतुलुङ्ग ढुङ्गा, टोड्के झरना लगायतका पर्यटकीयस्थल छोटो समयमा भ्रमण गर्न सकिन्छ । जुन पर्यटकीयस्थलहरु पुग्नका लागि धेरै समय लाग्ने छ्रैन ।
-लोकल सन्देशको सहयोगमा