मुक्कुमलुङ क्षेत्रका रुख कटान गर्ने अनुमति नदिन माग गर्दै ज्ञापनपत्र

  नयाँ बुलन्द
189 Shares

सुनसरी : ताप्लेजुङ जिल्लामा अवस्थित याक्थुङ (लिम्बू) समुदायको मुन्धुमी, साँस्कृतिक, आध्यात्मिकस्थल मुक्कुमलङ (पाथीभरा) क्षेत्रका रुख कटान गर्ने अनुमति नदिन माग राख्दै ‘मुक्कुमलुङ बचाऔं’ संघर्षमा आबद्ध संघ–संस्थाले ज्ञापन पत्र बुझाएका छन्।

उनीहरुले आइतबार सुनसरीको धरानस्थित प्रदेश वन निर्देशनालयलाई ज्ञापन पत्र बुझाएका हुन्। कथित विकासको नाममा मुक्कुमलुङको मुन्धुमी, साँस्कृतिक तथा आध्यात्मिक अस्तित्व र पर्यावरणलाई तहसनहस बनाई केवलकार निर्माण गरिनु गलत भएको ज्ञापन पत्रमा उल्लेख छ। यसअघि गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई समेत ज्ञापन पत्र बुझाइसकेको जनाइएको छ। आइएलओ १६९, युएनड्रिप जस्ता अन्तराष्ट्रिय कानून र नेपालको संविधानको धारा ३२ (३) अनुसार साँस्कृतिक सभ्यता र सम्पदाको संरक्षणका लागि स्थानीय जनताले त्यसको प्रतिरोध गर्दै आएको भन्दै रुख कटान गर्ने अनुमति नदिन माग गरिएको हो।

त्यहाँका रुखहरु कटान गर्न वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय, डिविजन वन कार्यालयबाट दिइएको अनुमतिको समयसिमा सकिएकाले फेरि रुख कटान गर्ने अनुमति नदिई मुन्धुमी तथा साँस्कृतिकस्थल र पर्यावरणसँगै जैविक विविधता संरक्षणका लागि माग गरिएको छ। मुक्कुमलुङ संयुक्त संघर्ष समिति, मुक्कुमलुङ (पाथीभरा) केवलकार खारेजी संयुक्त संघर्ष समिति, प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र किरात याक्थुङ चुम्लुङ लगायतले पुनः रुख कटाको अनुमति दिइए सशक्त प्रतिरोध हुने चेतावनी दिएका छन्।

व्यापारिक कम्पनीलाई रुख काट्ने अनुमति दिइए त्यसको प्रतिरोधको क्रममा कुनै अप्रिय घटना घटे राज्य र सम्बन्धीत कम्पनीले त्यसको जिम्मा लिनुपर्ने समेत ज्ञापन पत्रमा चेतावनी दिइएको छ। केहि दिन अघि मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा गोप्य रुपमा सशस्त्र प्रहरी पठाएर रुख कटान गर्न लागिएकोमा स्थानीयको सशक्त प्रतिरोधपछि रुख नकाटि सशस्त्र प्रहरी फर्किएको मुक्कुमलुङ संयुक्त संघर्ष समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार