
इलाम : संविधानसभा सदस्य विष्णुकुमारी राई ‘नाना’ आजभोलि कृषि कर्ममा व्यस्त हुन्छिन् । विहान-बेलुका भान्छाको काम बाहेक सबै समय सुपारी खेती स्याहारसुसारमा व्यस्त देखिन्छिन् । राजनीतिमा लाग्ने जो कोहीले केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्छ भन्ने मान्यता राख्दै आएकी विष्णुकुमारीले अहिले पुरै समय कृषिमा लगाएकी छन् ।
इलामको देउमाई नगरपालिका जन्मिएकी उनी पुरानो राज्यसत्ता परिवर्तन गर्ने भन्दै तत्कालिन नेकपा (माओवादी) ले सुरु गरेको सशस्त्र युद्धमा २०५७ देखि होमिइन् । शान्ति प्रक्रियापछि माई नगरपालिका-९ बोरुङमा पार्टीकै नेता श्रीमान राई ‘पवन किराती’ सँग जनवादी विवाह गरेपछि उनको कर्मभूमि फेरियो ।
२०६४ मा तत्कालीन नेकपा (माओवादी) बाट समानुपातिकतर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएकी विष्णुकुमारीको पाँच वर्षे कार्यकाल त्यति उपलब्धिमूलक बन्न सकेन । संविधान बनाउन संविधानसभा गएकी उनी संविधान नै नबनी संविधानसभा विघटन भएपछि आफ्नो कर्मगाउँ बोरुङ फर्केर सुपारी खेतीमा लागेकी हुन् ।
इलामको राजनीतिमा माओवादीको छुट्टै पहिचान बनाउन सङ्घर्ष गर्की उनी अहिले राजनीतिबाट अलगजस्तै बनेर सुपारीको बोट स्याहार्दै आएकी छन् । उनले बोरुङमा व्यवसायिक सुपारी खेती थालेकी छन् ।
पार्टीले लिएको नीति अनुसार आर्थिक क्रान्तिका लागि कृषि कर्मतिर लागेको उनी बताउँछिन् । कृषिप्रधान देश नेपालमा कृषिबाट देश विकास सम्भव रहेकाले आफू कृषि कर्मलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउँछि । ‘शान्ति प्रक्रिया सुरुभएदेखि नै कृषि कर्म गर्ने इच्छा थियो, संविधानसभा सदस्य भएपछि काठमाडौं नै बसाई भयो, कृषिमा लाग्न पाइएन’, उनले भनिन्, ‘जब पहिलो संविधानसभा विघटन भयो, त्यसपछि कृषिबाट देश विकास सम्भव देखेकाले कर्मभूमिमा फर्केर कृषिको काम थालेको हुँ ।’
उनले करिब ५० रोपनी क्षेत्रमा सुपारी खेती लगाएकी छन् । उनको सुपारी बगानमा अहिले सुपारी फल्ने र हुर्कँदै गरेका सहित करिब आठ हजार सुपारीका बोट छन् । सुपारी खेती विस्तारमा अगुवाई गरेकी विष्णुकुमारीले बोरुङलाई सुपारी गाउँका रुपमा चिनाउने गरी काम गर्ने सोंच बनाएको बताइन् । ‘अहिले केही सुपारीले उत्पादन समेत दिन थालेको छ, केही उत्पादन दिने तयारीमा छ’ उनले भनिन्, ‘नयाँ बोट थप गरी अझ सुपारी खेती विस्तार गर्ने योजनामा छु । यस गाउँलाई सुपारी गाउँका रुपमा चिनाउने लक्ष्य छ ।’

विष्णुकुमारीले सुपारी उत्पादनबाट वार्षिक पाँच लाख बढी आम्दानी गर्दै आएकी सुनाइन् । व्यापारी बगानमा नै आएर खरिद गर्ने भएकाले बजारको समेत चिन्ता छैन । काँचो सुपारी बगानबाटै प्रतिकेजी ५० का रुपैयाँका दरले बिक्री हुने गरेको उनले बताइन् । ‘बहुवर्षे नगदे बाली सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न सकिन्छ । सुपारीले तरकारी र अन्य बालीलाई क्षति नपुर्याउने र छहारीको काम गर्ने भएकाले दोहोरो फाइदा लिन सकिन्छ’ उनले भनिन्, ‘यहाँका घरआँगनका डिलदेखि खेतबारी र पाखामा समेत सुपारी रोपेर आयआर्जन गर्न सकिन्छ ।’
कम लगानी र मेहनत पनि थोरै लाग्ने भएकाले अन्य खेती भन्दा सुपारी खेती गर्न सजिलो हुने उनको अनुभव छ । उनले सुपारीका साथै केरा खेती, अम्रिसो खेती तथा गाई र भैंसीपालन समेत गर्दै आएकी छन् । उनको कृषिकर्ममा पति ‘पवन किराती’को पनि राम्रै साथ छ । एक छोरासहित तीन जनाको घरपरिवार सञ्चालन गर्न सुपारी खेती नै पर्याप्त रहेको उनी बताउँछन् । ‘शान्ति प्रक्रियापछि हाम्रा धेरै सहयोद्धाहरु पैसा कमाउन भन्दै विदेश जानुभयो, म त्यसलाई रोक्ने अभियानका साथ गाउँघरमा नै कृषि कर्ममा लागेकी हुँ’ उनी भन्छिन्, ‘नेपाल कृषिप्रधान देश हो, निरन्तरता दिएर लाग्ने हो भने कृषिबाटै मज्जाले कमाई गर्न सकिँदो रहेछ ।’
उनले सशस्त्र युद्धको बलमा नेपालको व्यवस्थामा परिवर्तन भएपनि उत्पीडित जनताको अवस्था परिवर्तन नभएकोप्रति भने चिन्ता व्यक्त गरिन् । नेपालको वर्गीय, जातीय, लैङ्गिक र भाषिक उत्पीडनको विरुद्ध आफूहरुले हतियार बोकेको स्मरण गर्दै उनले नेतृत्वहरु कुनै न कुनै ठाउँमा चुकेको स्वीकार गरिन् । उनी अहिले माओवादी केन्द्रको कोशी प्रदेश परिषद सदस्य छिन् ।
उनको कृषिकर्म देखेर त्यहाँका अधिकांश किसानले समेत सुपारी खेती सुरु गरेका छन् । बोरुङ, घलेटार, निरफुकलगायतका किसानले व्यावसायिक सुपारी खेती गर्दै आएका छन् । प्रमुख नगदे बालीको रुपमा किसानले सुपारी खेती गर्दै आएका छन् । व्यावसायिक रुपमा सुपारी खेती गर्न थालेपछि किसानको आयआर्जनको श्रोत समेत बढेको उनको भनाइ छ ।















































