जन्मभूमिमा धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ज्ञानदिलदास सम्मेलन


इलाम : इलामको फाकफोकथुम गाउँपालिकामा जन्मभूमिलाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ज्ञानदिलदास सम्मेलन सुरु भएको छ । सन्तकवि ज्ञानदिलदासको जन्मभूमि आमचोकलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न फाकफोकथुम गाउँपालिकामा साहित्य सम्मेलन सुरु भएको हो । सन्तकवि ज्ञानदिलदासको जन्मभूमि आमचोकलाई धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न फाकफोकथुम गाउँपालिकासहित त्यस क्षेत्रका स्थानीय बासिन्दा लागिपरेका छन् ।

ज्ञानदिलदासको जन्मभूमि आमचोकको पहिचानसहित उनले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा गरेको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबार देखि दुई दिने ज्ञानदिलदास साहित्यिक सम्मेलन सुरु भएको छ । ज्ञानदिलदास साहित्यिक सम्मेलन मूल समारोह समितिको आयोजनामा सुरु भएको सम्मेलनको पहिलो दिन शुक्रबार ज्ञानदिलदासको नाममा स्थापित मन्दिरको उद्घाटन र ज्ञानदिलदासको सालिक अनावरण भएको छ । फाकफोकथुम गाउँपालिका अध्यक्ष खनालले मन्दिरको उद्घाटन र सालिक अनावरण गरे । आमचोकलाई नेपालकै धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालेको गाउँपालिका अध्यक्ष दिपेन्द्र खानालले बताए ।

उनले भने,‘अहिले हामीले यस क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न ज्ञानदिलदासको सालिक र मन्दिर निर्माण गरेका छौं’ ‘आगामी दिनमा यस क्षेत्रलाई देशकै धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अन्य पूर्वाधारनिर्माणका लागि योजना बनाएरै कामहरु गर्दै जाने छौ ।’ ज्ञानदिलदासको जन्मभूमि आमचोकको प्रवर्द्धन र विकास लागि स्थानीय सरकारले अग्रसरता लिनुपर्न ज्ञानदिलदास प्रतिष्ठानका अध्यक्ष गुरुभक्त लामिछाने बताए । उनले यस क्षेत्रलाई देशकै धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफूहरु लागिपरेको बताए ।

दोस्रो दिन शनिबार ज्ञानदिलदासको जीवनी र उहाँको बहुआयमिक व्यक्तित्वको बारेमा प्राज्ञिक बहस हुनेछ । ज्ञानदिल दासको जीवनी सम्बन्धी कार्यपत्र साहित्यकार प्रकाश परियार र बहुआयमिक व्यक्तित्वको बारेमा साहित्यकार डा. देवी क्षेत्री दुलालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै ज्ञानदिलदासबारे भारतको सिक्किमका अन्वेशक ‘वीर बलिभद्र कार्की डोली’ ले सङ्कलन गरेको पुस्तक समेत सार्वजनिक हुने ज्ञानदिलदास प्रतिष्ठानका अध्यक्ष लामिछानेले जानकारी दिए ।

कतिपय पुस्तकमा गलत स्थान उल्लेख भएकाले तथ्यसहितको डकुमेन्ट तयार गरी ज्ञानदिलदासको जन्मभूमिबारे सत्य इतिहास स्थापित गर्न समेत सम्मेलन आयोजना गरिएको अध्यक्ष खनालको भनाई छ । ‘साहित्य सम्मेलनमा सहभागी हुन आउनेहरुलाई सन्तकवि ज्ञानदिल दासको जन्मभूमिको भ्रमण पनि गराउँछौं, खनालले भने, ‘ज्ञानदिलदासको जन्म आमचोकमा भएको विभिन्न तथ्यले प्रमाणित गरेपनि प्रचारप्रसार नहुँदा आमचोक ओझेलमा पर्दै आएको छ, त्यो तथ्यलाई हामी सत्यमा परिणत गर्नेछौं ।’ उनको जन्मस्थान फाकफोकथुम गाउँपालिकामा शालीक र मन्दिर निर्माण गरिएको छ भने ज्ञानदिलदासले बाल्यकालमा प्रयोग गरेको धारा र तपस्याबसेका गुफालाई संरक्षण गर्ने काम सुरु भईसकेको छ ।

ज्ञानदिलदास जोसमनी धार्मिक-आध्यात्म जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उहाँको जन्म वि.स. १८७८ मा फाकफोकथुम-३ आमचोकको जोरधारामा लामिछाने उपाध्यया ब्राह्मण परिवारमा भएको थियो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो । ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिङ्गीय विभेदका विररुद्ध विद्रोह गरेको पाइन्छ । जोसमनी सन्त परम्पराको प्रचार-प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूर्वार्ध नेपालमा र उत्तरार्ध दार्जिलिङ र सिक्किममा बिताएका थिए । उनको निधन धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा वि.स. १९४० कात्तिक २५ भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार