यी हुन वडाबाटै पाइने ९३ थरी सेवा

  नयाँ बुलन्द
189 Shares

इलाम : नेपालको संविधान बमोजिम स्थानीय तहहरु कार्यान्वयनमा आएको ६ वर्ष नाघेकोे छ । यसबीचमा पहिलो ५ वर्षका लागि निर्वाचित जनप्रतिनिधिहरुले कार्यसम्पादन भन्दा काम गर्ने तरिका, संविधान र विद्यमान ऐनले दिएका अधिकार केलाउँदैमा र वुझ्दैमा अधिकांश समय बिताए ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएका जनप्रतिनिधिले पनि १ वर्ष वढीको अनुभव लिइसकेका छन् । तर, यसबीचमा उनीहरुले अधिकांश जनतालाई सम्वन्धित पालिका या वडा कार्यालयबाट के के काम हुन्छन्? वडा कार्यालयको अधिकार क्षेत्र र वडाध्यक्षको अधिकार के र क्षेत्र कति हो भनेर बुझाउन सकेका छैनन् ।

यो वुझाउन नसक्दा सेवाग्राहीहरु भने कस्तो कामका लागि पालिकाको कुन ठाउँमा जाने? कसलाई भेट्ने? कुन काम कहाँबाट हुन्छ भन्ने विषयमा अझै अनविज्ञ नै देखिन्छन् ।

वडापालिकामा सेवा प्रवाहको आधार विन्दु वडा कार्यालय र त्यसका प्रमुख वडाध्यक्षबाट के काम हुन्छन् ? अधिकार के हुन भन्ने विषयमा चर्चा गरेका छौँ ।

स्थानीय सरकार संचालन ऐनमा वडा कार्यालय, वडाध्यक्ष र वडा सदस्यहरुले जनचासोका ९३ वटा काम गरिदिनुपर्ने उल्लेख गरेको छ ।

वडा कार्यालयबाट हुने काम 

वडा कार्यालयले मात्र जनता र वडाको प्रशासनिकसमेत गरेर ८८ वटा काम सम्पादन गर्छन् भने सम्बन्धित वडाका वडाध्यक्ष एक्लैले ७ वटा कार्यसम्पादनको अधिकार राख्छन् ।

यी दुवै काम गरेर एउटा वडाबाट ९५ थरी काम हुन्छन् । यसमा सिफारिस र प्रमाणितसमेतका काम समावेश छन् । स्थानीय सरकार सञ्चालन ऐनका अनुसार सम्बन्धित पालिकाको कार्यपालिकाको अनुमतिमा वडा कार्यालयले गर्नुपर्ने काम पनि तोकेको छ ।

योजना तर्जुमा, कार्यान्वयन र अनुगमनका काम 

  • बस्ती वा टोल स्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग संकलन, प्राथमिकीकरण तथा छनोट गर्ने ।
  • टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने ।
  • वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मतसम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने ।
  • तथ्यांक अद्यावधिक तथा संरक्षणका काम
  • निजी घर तथा घरपरिवारको लगत राख्ने ।
  • ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा धार्मिक महत्त्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने ।
  • खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, धार्मिक तथा सांस्कृतिक स्थल, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुंगेधारा, गुठीघर, बाटो, सडक, पुलपुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्यांक संकलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याकं र सूचना सहितको वडाको पाश्र्वचित्र तयार तथा अद्यावधिक गर्ने ।

विकास निर्माणका काम 

  • बाल उद्यानको व्यवस्था गर्ने ।
  • अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने ।
  • पुस्तकालय, वाचनालय, सामुदायिक सिकाइ केन्द्र, बालक्लव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने ।
  • वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने ।
  • खोप सेवा कार्यक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने ।
  • पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने ।
  • वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने ।
  • सहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने ।
  • सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतीक्षालय निर्माण र व्यवस्थापन गर्ने, गराउने ।
  • वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने ।
  • घरबाट निकास हुने फोहरमैलाको सकंलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाइ, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने ।
  • कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवद्र्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने ।
  • कृषि बिउबिजन, मल तथा औषधीको माग संकलन गर्ने ।
  • कृषिमा लाग्ने रोगको विवरण सकंलन गर्ने ।
  • पशुपक्षी विकास तथा छाडा चौपायाको व्यवस्थापन ।
  • वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने ।
  • स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासका लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने, गराउने ।
  • स्थानीय मौलिकता झल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने ।
  • वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने ।
  • अन्तरविद्यालय तथा क्लव मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने, गराउने ।
  • वडा क्षेत्रभित्रको बाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने ।
  • वडाभित्रका सडक अधिकार क्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने ।
  • बाटोघाटोमा बाढीपहिरो, हुरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पञ्छाउने ।
  • घरेलु उद्योगको लगत सकंलन तथा सम्भाव्यता पहिचान गर्ने ।
  • वडाभित्र घरेलु उद्योगको प्रवद्र्धन गर्ने ।
  • प्रचलित कानुनबमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख संकलन तथा संरक्षण गर्ने ।
  • व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने ।
  • सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने ।
  • वडालाई बालमैत्री बनाउने ।
  • वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपागंता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थानसम्बन्धी काम गर्ने ।
  • विभिन्न समुदायबीच सामाजिक सद्भाव र सौहाद्रता कायम गर्ने ।
  • बालविवाह, बहुविवाह, लैंगिक हिंसा, छुवाछूत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखनजस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने ।
  • प्रचलित कानुनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सकंलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदनसहित रकम बुझाउने ।
  • अशक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा लगेर औषधोपचार गराउने ।
  • असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाहसंस्कारको व्यवस्था मिलाउने ।
  • सडक बालबालिकाको उद्धार र पुनस्र्थापनाका लागि लगत संकलन गर्ने ।
  • वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवद्र्धन गर्ने ।
  • वडा, टोल, बस्ती स्तरमा हरियाली क्षेत्र विस्तार गर्ने, गराउने, वडालाई वातावरणमैत्री बनाउने ।
  • प्रांगारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिसामुक्त सरसफाइ, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवद्र्धनात्मक कार्य गर्ने, गराउने ।
  • वडाभित्र घरबास पर्यटन (होम स्टे) कार्यक्रम प्रवद्र्धन गर्ने ।

नियमनका काम 

  • वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिका कार्यको अनुगमन तथा नियमन गर्ने ।
  • सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम दिने ।
  • खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने ।
  • वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवद्र्धन गरी लगत राख्ने ।
  • हाट बजारको व्यवस्थापन गर्ने, गराउने ।
  • विद्युत चुहावट तथा चोरी नियन्त्रणमा सहयोग गर्ने ।

सिफारिस र प्रमाणितका काम

  • नाता प्रमाणित ।
  • नागरिकता तथा नागरिकताको प्रतिलिपि लिन सिफारिस ।
  • बहाल करको लेखाजोखा सिफारिस ।
  • बन्द घर तथा कोठा खोल्न रोहबरमा बस्ने काम ।
  • मोही लगत कट्टाको सिफारिस ।
  • घरजग्गा करको लेखाजोखा सिफारिस ।
  • जन्ममिति प्रमाणित ।
  • व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हँुदै नभएको सिफारिस ।
  • विवाहित र अविवाहित प्रमाणित ।
  • निःशुल्क वा सशुल्क स्वास्थ्योपचारको सिफारिस ।
  • वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजी भाषामा सिफारिस र प्रमाणित ।
  • घर पाताल प्रमाणित ।
  • व्यक्तिगत विवरण प्रमाणित ।
  • जग्गाधनी दर्ता प्रमाणपुर्जामा घर कायमको सिफारिस ।
  • कुनै व्यक्तिको नाम, थर, जन्म मिति तथा वतन फरक–फरक भएको भए सो व्यक्ति एकै हो भन्ने सिफारिस ।
  • नाम, थर, जन्म मिति संशोधनको सिफारिस ।
  • जग्गाधनी दर्ता प्रमाणपुर्जा हराएको सिफारिस ।
  • कित्ताकाट गर्न सिफारिस ।
  • संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस ।
  • जीवितसँगको नाता प्रमाणित ।
  • मृतकसँगको नाता प्रमाणित तथा सर्जमिन सिफारिस ।
  • जीवित रहेको सिफारिस ।
  • हकवाला वा हकदार प्रमाणित ।
  • नामसारी गर्न सिफारिस ।
  • जग्गाको हक सिफारिस ।
  • उद्योग ठाउँसारी गर्न सिफारिस ।
  • आधारभूत विद्यालय खोल्न सिफारिस ।
  • जग्गा मूल्याकंन सिफारिस ।
  • विद्यालयको कक्षा थप गर्न सिफारिस ।
  • अशक्त, असहाय तथा अनाथको पालनपोषणका लागि सिफारिस ।
  • वैवाहिक अंगीकृत नागरिकता सिफारिस ।
  • आर्थिक अवस्था कमजोर वा सम्पन्न रहेको सम्बन्धी सिफारिस ।
  • विद्यालय ठाउँसारी गर्न सिफारिस ।
  • धारा तथा विद्युत जडानका लागि सिफारिस ।
  • प्रचलित कानुनअनुसार प्रत्यायोजित अधिकारबमोजिमका अन्य सिफारिस वा प्रमाणित गर्ने काम ।

यस्ता छन् वडाध्यक्ष एक्लैका काम 

वडा कार्यालयले गर्ने कामबाहेक ऐनले वडाध्यक्षले मात्र गर्ने भनेर विभिन्न काम कर्तव्य र अधिकार तोकिदिएको छ । स्थानीय शासन संचालन ऐनको दफा १६ को (ग)मा वडाध्यक्षलाई वडा समितिको अध्यक्ष भएर काम गर्नेदेखि कार्यपालिका, सभा र वडासमितिले तोकिदिएका अन्इ काम समेत गर्ने जिम्मेवारी सुम्पिएको छ । जुन काम यस्ता छन्ः

  • वडा समितिको अध्यक्ष भई कार्य गर्ने ।
  • वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने ।
  • वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका वा नगरपालिकामा पेस गर्ने ।
  • वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने, गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने ।
  • सिफारिस तथा प्रमाणित गर्नुपर्ने भनेर ऐनले तोकेकासम्बन्धी कार्य गर्ने ।
  • ७  दिनभन्दा बढी समय वडामा अनुपस्थित हुने भए वडाको दैनिक प्रशासनिक तथा सिफारिससम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाई दिने ।
  • कार्यपालिका, सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार