लोक सेवा र शिक्षक सेवा पढाउँदै सूर्योदय, पहिलो वर्ष २५ जना स्थायी जागिरे भए

  राम योङहाङ
294 Shares

सूर्योदय नगरपालिकाले आइतबार कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : नयाँ बुलन्द

इलाम : इलामको सूर्योदय नगरपालिकाले नगरभित्रका युवाहरुलाई रोगजारीको अवसर सृजना गर्न लोक सेवा र शिक्षक सेवा पढाउँदै आएको छ ।

लोक सेवा आयोग र शिक्षक सेवा आयोगबाट लिइने परीक्षामा सक्षम बनाउने उद्देश्यले सूर्योदयले नियमित रुपमा नि:शुल्क तयारी कक्षा सञ्चालन गर्दै आएको हो । नगरपालिकाभित्र स्थायी बसोबास भएका युवाहरुलाई शिक्षक सेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन नि:शुल्क तयारी कक्षा सञ्चालन गर्दै आएको नगरप्रमुख रणबहादुर राईले बताए ।

गत वर्ष सूर्योदय नगरपालिकाले नि:शुल्क पढाएकामध्ये २५ जना युवाले शिक्षक सेवा आयोगले प्राथमिक तह स्थायी पदपूर्तिका लागि लिएको परीक्षा उत्तीर्ण गरी स्थायी जागिरे भएको नगरप्रमुख राईले बताए ।

सूर्योदय नगरपालिकाले त्रैमासिक प्रगति वितरण सार्वजनिक गर्न आइतबार कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख राईले पहिलो वर्षमा नै राम्रो नतिजा देखिएकाले कार्यक्रम निरन्तरता दिएको बताए ।

‘हामीले गतवर्ष पहिलो पटक युवाहरुलाई नि:शुल्क रुपमा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेका थियौं । एकदमै प्रभावकारी देखियो । पूर अवधि नियमित कक्षा लिएका ६६ मध्ये २५ जनाले स्थायीमा नाम निकालेर जागिर सुरु गरिसके’ उनले भने, ‘पहिलो वर्षकै नतिजा राम्रो देखिएकाले कार्यक्रमलाई बर्सेनि निरन्तरता दिएका छौं । यस वर्ष पनि केही न केही सङ्ख्यामा सेवा प्रवेश गराउने उद्देश्य छ ।’

यस्तै, सूर्योदयले युवा लक्षित नि:शुल्क लोक सेवा तयारी कक्षा समेत सञ्चालन गर्दै आएको छ । निजामति सेवा र शिक्षक सेवामा प्रवेश गर्न चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका युवाहरुलाई लक्षित गरी नि:शुल्क तयारी कक्षा सञ्चालन गर्न थालिएको उनले बताए ।

सूर्योदयले यस वर्ष पनि शिक्षक सेवा र लोक सेवा तयारी कक्षा सञ्चालनका लागि तयारी भइरहेको युवा खेलकुद तथा शक्षा शाखा प्रमुख योगनीधि भट्टराईले बताए । । त्यसका लागि नगरपालिकाले आवेदन माग गरिसकेको उनले बताए ।

तयारी कक्षाका लागि नगरपालिकाको जनशक्तिले नपुग्ने भएकाले इलाम, झापा र विराटनगरबाट विषय विज्ञ श्रोतव्यक्ति ल्याइने भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार