पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले इलाममा ललितकला उत्सव (तस्बिरहरु)

  नयाँ बुलन्द
119 Shares

इलाम : चित्रमार्फत इलामको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले इलाममा शनिबारदेखि तीन दिने ललितकला उत्सव सुरु भएको छ ।

नेपाल र भारतका कलाकारका कलाकृति समेटेर उत्सव सुरु गरिएको हो । इलाम नगरपालिकासहित छ संस्थाको संयुक्त आयोजनामा उत्सव सुरु भएको हो । यो देही आर्टको नौ शृङ्खला हो ।

इलाम निर्वाचन क्षेत्र नं १ का सङ्घीय सांसद महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा इलाम नगपालिकाकी उपप्रमुख विष्णु दाहाल लिम्बुले कार्यक्रमको संयुक्त उद्घाटन गरे ।

संस्कृति र कलाको प्रवर्द्धनले मात्रै समाज बलियो हुने सांसद बस्नेतले बताए। उनले पेन्ट्सका माध्यमबाट इलामलाई अगाडि बढाइएको भन्दै आयोजकलाई धन्यवादसमेत दिए ।

इलामको कला संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनका लागि ललितकला उत्सव सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख दाहाल लिम्बुले बताइन् । नगरपालिकासहित जिल्ला उद्योग वाणिज्य सङ्घ, नगर पर्यटन प्रवर्द्धन समिति, नगर कला साहित्य प्रतिष्ठान, प्याब्सन इलाम, देही आर्ट र होटल एसोसिएसन इलामको संयुक्त आयोजना रहेको छ ।

उत्सव सोमबारसम्म सञ्चालन हुनेछ । उत्सवमा नगरपालिकाका विभिन्न ठाउँका चित्र पेन्ट्समार्फत उतारिने छ । कतै चित्र हेरेर त कतै पर्यटकीय स्थल नियाल्दै प्रत्यक्ष रुपमा चित्र निर्माण गरिने बताइएको छ ।

हाल इलाम चोक बजार, माइस्थान मन्दिर, चिया बगान र अरनिको सङ्ग्रहालय गरी चार स्थानमा प्रत्यक्ष रुपमा कलाकारले चित्र बनाउने कार्यक्रम तय भएको नगर पर्यटन प्रवर्द्धन समितिका सचिव अर्जुन पोख्रेलले जानकारी दिए । उनका अनुसार उत्सवमा नेपाल र भारतका गरी ३३ जना कलाकारले सहभागिता जनाएका छन् । कलाकारले निर्माण गरेका तस्बिरहरू विभिन्न ठाउँमा प्रदर्शनसमेत गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार