शिलान्यास भए, निर्माण भएनन् आधारभूत स्वास्थ्य अस्पताल

  नयाँ बुलन्द
126 Shares

इलाम : स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन सङ्घीय सरकारले २०७७ मङ्सिर १५ गते इलामका सातसहित प्रदेशका ८६ ओटा आधारभूत अस्पताल एकैसाथ शिलान्यास गरेको तीन वर्ष पुग्न लाग्यो । तर, अझैपनि अस्पताल निर्माणको कार्य निराशाजनक छ ।

इलामको माईजोगमाई, रोङ, चुलाचुली, फाकफोकथुम, र माङसेबुङ गाउँपालिका साथै सूर्योदय र माई नगरपालिका गरी सात स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पातलको शिलान्यास गरिएको थियो । तीमध्ये सूर्योदय, माई र चुलाचुलीमा १५/१५ शय्याको आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्य सम्पन्न भएर सेवा सुरु भएको एक वर्ष बित्यो । बाँकी स्थानीय तहमा काम सुरु गर्ने छाँटकाट नै छैन ।

माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा १५ करोडमा तीन वर्षे ठेक्कामार्फत १५ शय्याको आधाभूत स्वास्थ्य अस्पताल निर्माणको काम सुरु भएको डेढवर्ष भयो । कामको प्रगति भने सुस्त नै छ । गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, “सुरुवातमा सामान ढुवानीको समस्याले ढिलाइ भए पनि काम समयमा सक्नलाई अहिले हामी ठेक्केदारलाई लगातार ताकेता गरिरहेका छौँ ।”

फाकफोकथुम गाउँपालिका–२ कोलभोटेमा १३ करोड ७९ लाखमा ३६ महिनामा निर्माण हुनेगरी २०७९ फागुन महिनामा १५ शय्याको आधारभूत स्वास्थ्य अस्पतालको ठेक्का लागेको थियो । भौगोलिक रुपमा अप्ठ्यारो ठाउँ भएकाले जेठसम्म खार्दै ठिक्क भएको र मङ्सिरपछि धमाधम काम सुरु गर्ने गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए । जिल्लाको पश्चिमी गाउँपालिका फाकफोकथुममा सडक र स्वास्थ्य दुबैको सहज पहुँच नहुँदा नागरिकलाई सास्ती छ । बिरामी परेर उपचारमा सदरमुकामसम्म आउने सडक सञ्जालको व्यवस्थित निर्माण भएको छैन ।

रोङ गाउँपालिका–५ मा आधारभूत स्वास्थ्य अस्पतालका लागि स्थानीयवासीले १५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको भए पनि निर्माणको काम सुरु हुनसकेको छैन । उक्त अस्पताल निर्माणमा करिब ११ करोड हाराहारी लागत लाग्ने तर मन्त्रालयले १९ लाख मात्र बजेट छुट्याएकाले काम गर्न अलमल भएको अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार