माङसेबुङ गाउँपालिकाका प्रमुख पर्यटकीय स्थलहरु (भिडियो/फोटो फिचर)

किरात धर्मगुरु आत्मानन्द लिश्रदेनको कर्मथलो माङसेबुङ (लारुम्बा)

इलाम : विगतमा राज्यबाट ओझेल पारिएको मानिएपनि पछिल्लो समय विकासपथमा लम्किएको गाउँपालिका हो ‘माङ्सेबुङ’ । पर्यटकीय, प्राकृतिक, जैविक, धार्मिक, सांस्कृतिक विविधतामा अग्रणी यो गाउँपालिका जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा अवस्थित छ ।

यहाँ प्राकृतिक, ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलहरु थुप्रै छन् । गजुरमुखीधाम, माङमालुङ, लारुम्बा (माङसेबुङ), राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन र वर्तमान किरात धर्मगुरु आत्मनन्द लिङदेनको जन्मस्थल चुक्चिनाम्बा (अगौटे), नावालुङ, तीनथुम्की डाँडा, चमेरे गुफा, ढेँगुरेडाँडा, अन्धराजा अन्धरानी, तीर्थस्थल फुलुङ्गी, घोर्लेभीर, पाङबुहाङ गुफा, तारेभीर, दरबारे, चारसुरे, शहिदरत्न सहादतस्थल, महारानीडाँडा, गणेश भञ्ज्याङलगायत अन्य ऐतिहासिक धार्मिक, साँस्कृतिक स्थलहरु रहेका छन् ।

यिनीहरुको विकास र प्रवद्र्धनका लागि राज्यबाट आवश्यक ध्यान पुग्न सके जिल्लाकै प्रमुख धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।

गजुरमुखीधाम

गजुरमुखी धाममा पाठपूजाका लागि लाइनमा भक्तजनहरु ।

चिताएको पुग्ने देवस्थलको रुपमा इलामको गजुरमुखीधाम परिचित छ । बोली नआएकाको बोली आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने विश्वासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो ।

हिन्दु एवम् किरात धर्मावलम्बीहरूका लागि पवित्र धार्मिक स्थल मानिएको जगुमुखीधाम समुद्री सतहबाट ४ सय ८० मिटर उचाइमा अवस्थित छ ।

कात्तिक पूर्णिमामा गजुरमुखी धाममा परिसरमा लागेको धार्मिक मेला ।

यहाँ प्रत्येक वर्ष कात्तिक पूर्णिमाको अवसरमा ३ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ । पवित्र देउमाई खोलाको नजिक रहेको धाम आसपास रेहेको समतल भूभाग र हराभरा वनले पनि त्यहाँ पुग्नेलाई मोहित बनाउने गरेको छ ।

गजुरमुखी धाममा भक्तजनहरु ।

मन्दिर क्षेत्रमा साधुसन्त बस्ने कुटी, धर्मशाला, खानेपानी धारा, सिंढी, बाढोको राम्रो व्यवस्था भएको छ । धामको शिर डाँडावरिपरि विभिन्न जातका फलफूलका बगैंचा र प्राकृतिक हरियालीले सिंगारिएको यो क्षेत्र चित्ताकर्षक र मनोरम छ ।

गजुरमुखी धाम ।

इलाम सदरमुकामबाट ५० किलोमिटर दूरीमा यो स्थान रहेको छ । इलाम सदरमुकामबाट मेची राजमार्गको नेपालटार–मंगलबारे–हुँदै गजुरमुखीधाम पुग्न सकिन्छ । मंगलबारेसम्म कालोपत्रे र त्यसउताको सडक ग्राभेल गरिएकाले त्यहाँ पुग्नसहज छ । झापाको दमकबाट चतुरे, इभाङ हुँदै पनि धाम पुग्न सकिन्छ ।

माङमालुङ

माङमालुङ परिसरमा रहेको कान्छी औंलाले नै हल्लने चक्रशिला ।

बडेमानको ढुङ्गा, जसलाई कान्छी औंलाले नै सजिलै हल्लाउन सकिन्छ भन्दा विश्वास लाग्न नसक्ला । तर इलामको माङसेबुङ गाउँपालिकाको माङमालुङ क्षेत्रमा पुगेपछि यो अनुभव प्रत्यक्ष रुपमा गर्न सकिन्छ ।

माङमालुङ परिसरमा रहेको हरीयाली वन ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण अनुपम ऐतिहासिक, धार्मिक भौगोलिक एवम् पर्यटकीय स्थल हो माङमालुङ । मकालु, कुम्भकर्ण, कञ्चनजंलगायतका हिमाल र तराईका विभिन्न क्षेत्रहरु नियाल्न सकिने माङमालुङबाट सूर्योदय र सूर्यास्त सजिलै देख्न सकिन्छ ।

माङमालुङबाट देखिएको सूर्योदयको दृश्य ।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगम स्थलमा अवस्थित माङमालुङ ऐतिहासिक, धार्मिक, भौगोलिक र प्राकृतिक दृष्टिकोणले महत्वमूर्ण मानिन्छ । समुन्द्री सतहदेखि दुई हजार मिटर उचाईमा रहेको माङमालुङमा विभिन्न आश्चार्यजनक दृश्यहरुको अवलोकन गर्न सकिन्छ ।

माङमालुङ परिसरमा रहेको विशाल चौर ।

गोही आकारको एउटा ढुङगामाथि अडिएर रहेको अर्को बडेमानको ढुङ्गा छ । जसलाई एक औंलाले पनि सजिलै हल्लाउन सकिन्छ । तर जतिसुकै बल प्रयोग गरेर भएपनि पल्टाउन भने सकिदैंन । यसलाई पल्टाउन कोशिष गरे अनिस्ट हुने जनविश्वास छ । स्थानीयले यसलाइ चक्रशिला उपनामले समेत चिनाउने गर्दछन् ।

माङमालुङ परिसरमा रहेको चियाबारी ।

सुरम्य डाँडामाथिको माङमालुङमा प्राकृतिक मनोरमता, विभिन्न जातका जीवजन्तु र चराचुरुङ्गी, लोपोन्मुख सुनाखरी, पूmल, हरियो घाँसे मैदान, हिमालदेखि तराईसम्म विभिन्न ठाउँको रमाइलो दृष्यावलोकन पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छन् ।

माङमालुङ परिसरमा रहेको प्राकृतिक शिलामा कुँदिएको आकृति।

यसका साथै धार्मिक र ऐतिहासिक महत्व बोकेका देवीदेवता, पशुपंक्षी र प्राकृतिक शीलाहरुमा कुँदिएका विभिन्न आकृतिहरु, बिजुवानी देबीको ढुङ्गा (थालाचेप्पा), बाघढुङ्गा, बेउलाबेउली ढुङ्गा, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द र गुरु ज्योतिनन्दले तपस्या गरेका गुफालगायतका ऐतिहासिक र धार्मिक वस्तुहरु पनि महत्वपूर्ण छन् ।

माङमालुङ परिसरमा रहेको बिजुवानी देबीको ढुङ्गा (थालाचेप्पा)

विशाल चौरसँगै रहेको पोखरी, अवतारी डाँडालगायतका अलौकिक पक्षहरु त झनै आकर्षक र आश्चर्यजनक छन् ।

माङमालुङ पुग्न इलाम जिल्ला सदरमुकादेखि पैदल हिँडे एक दिन लाग्न सक्छ । सदरमुकामदेखि पाँचथरको सीमावर्ती राँके, घुर्पिसे पञ्चमी, रवी हुँदै र अर्को बाटो इलामकै मंगलबारे, गजुरमुखी, इभाङ हुँदै गाडीबाट पनि पुग्न सकिन्छ ।

झापाको दमकदेखि गाडी चढे रतुवा खोलको किनारैकिनार त्यसपछि माङसेबुङ भएर तीन घण्डामा माङमालुङ पुग्न सकिन्छ । यो मोटरबाटो निर्माणाधीन दमक रवि सडक (फाल्गुनन्द मार्ग) हो ।

माङमालुङ परिसरमा स्थानीयबासीहरु ।

पैदल यात्रुले दमक र बेलडाँगीबाट अनि अर्को मोरङको मधुमलाबाट पेरुँगे, टोड्के कुसुन्डे हुँदै ८ घण्टाको यात्रा तय गर्नुपर्छ । यो बाटो पदयात्राको लागि आर्कषक गन्तव्य बन्न सक्ने सम्भावनालाई नकार्न सकिन्न ।

यसका साथै माङमालुङ क्षेत्र भएर इलाम र पाँचथरको सीमावर्ती राँके भएर धनकुटाको राजारानी हुँदै सुनसरीको धरान जोड्ने मोटरबाटो निर्माणधीन छ ।

शाकाहारी गाउँ ‘माङसेबुङ’

शाकाहारी गाउँ माङसेबुङ (लारुम्बा)

पशुबली र मदिरा निषेधित क्षेत्रको नाम लिँदा पहिला सुनिने नाम हो लारुम्बा । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । पशुबध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ ।

किरात धर्मगुरुको नीजि आश्रम प्रवेशद्वार ।

घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा रातो र सेतो ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ध्वजा पनि । पहिलो पटक त्यहाँ पुग्ने जो कोहीलाई अनौठो लाग्छ । यो माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने माङसेबुङ गाउँको चिनारी हो यो ।

शाकाहारी गाउँ माङसेबुङ (लारुम्बा)

किरात धर्मावलम्बीहरुको धार्मिक स्थल माङसेबुङका सबै घरमा यस्तै ध्वजा राखिएका छन् । लिम्बू समदायको बाहुल्य रहेको माङसेबुङ क्षेत्र किरात धर्मगुरु आत्मनन्द लिङ्गदेनको कर्मथलोको रुपमा विकास गरिएको छ ।

माङसेबुङ क्षेत्र धूमपान मद्यपान निषेधित क्षेत्र हो । रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरूको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमांस, धूमपान, जुवातास, हुलहुज्जत तथा अश्लील कार्य निषेधित क्षेत्र घोषणा भएको हो ।

किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुपत्नी साँवा पवित्रहाङ्मा लिङदेनलाई स्वागत र सम्मान व्यक्त गर्दै भक्तजनहरु ।

वर्षेनी मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको र फागुन ३ गते गुरुधर्मपत्नी साँवा पवित्रहाङमा लिङदेनको शुभजन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रुपमा मनाईन्छ ।

धार्मिक उत्सव मनाउँदै किरात धर्मावलम्बी भक्तजनहरु ।

माङसेबुङ १ स्थित घोर्ले भीर ।

माङसेबुङ ३ स्थित फुलुङ्गी ।

माङसेबुङ ६ स्थित तीनथुम्की डाँडा ।

माङसेबुङ २ स्थित चारसुरे ।

माङसेबुङ ३ स्थित गणेश भञ्ज्याङ ।

माङसेबुङ २ स्थित महारानीडाँडा ।

माङसेबुङ ६ स्थित चिसोपानी पंचमी ।

माङसेबुङ २ स्थित शहिद रत्नकुमार वान्तवा शहादतस्थल ।

भिडियोमा हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार