पहिचानको विषयमा सधैं आलोचित नेम्बाङ, नबोलेरै अस्ताए

  नयाँ बुलन्द
245 Shares

इलाम : नेकपा (एमाले) का उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको गएराती निधन भएको छ । तत्कालिन संविधान सभाका अध्यक्ष समेत रहेका नेम्बाङको हृदयघात भई गएराती ७१ वर्षको उमेरमा निधन भएको थियो ।

२०५६ सालदेखि निरन्तर इलाम-२ बाट निर्वाचन जितेर संविधानसभा अध्यक्ष, सभामुख, पटक-पटक मन्त्री र संसदीय समितिको सभापति समेत बनेका नेम्बाङको निधनले जिल्ला शोकमग्न छ । नेम्बाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरेका छन् ।

कतिपयले नेम्बाङको योगदानको स्मरण गरेका छन् भने कतिपयले नेम्बाङको आलोचना र अधुरा गुनासोहरु समेत व्यक्त गरेका छन् । नेम्बाङसँग मतदाताहरुले विगतदेखि नै थुप्रै आशासँगै गुनासाहरु राख्दै आएका थिए । तर आशा र गुनासोहरु सम्बोधन नहुँदै नेम्बाङ सधैंका लागि अस्ताए । कम बोल्ने स्वभावका नेता नेम्बाङप्रति धेरै मतदाताहरुको गुनासोहरु गुनासोमा नै सीमित रहयो ।

२०७२ को संविधान बन्ने बेलामा धर्म निरपेक्षताको सवालमा खुलेर कुरा गर्न नसक्ने नेताको रुपमा नेम्बाङको आलोचना भएको थियो । तर, चुनाव आउन लाग्नासाथ स्थानीय नेताहरुलाई लिएर नेम्बाङ किरात धर्मगुरु आत्मानन्द लिङदेन समक्ष आशिर्वाद माग्न पुग्ने गरेका थिए ।

धर्मगुरु समक्ष किरात धर्मको रक्षाको लागि आफू सदैव तयार रहने शब्द राख्न सक्ने नेम्बाङ अन्ततोगत्वा किरात धर्मावलम्बीकै मतबाट विजय हुँदै आएका थिए । पछिल्लो पटक प्रदेश १ को नामाकरणको सवालमा पनि नेम्बाङ निक्कै आलोचित बने । उनले प्रदेशको नाम न ‘किरात’ भन्न सके न ‘लिम्बुवान’ भन्न सके न त ‘लिम्बुवान किरात’ नै । लिम्बुवान क्षेत्रका प्रभावशाली नेता भएर पनि पहिचानको नाममा कुनै शब्द नभन्दा नेम्बाङ केही महिनाअघि पहिचान जन्य संघसंगठनबाट लखेटिनु समेत परेको थियो ।

एमालेले तत्कालिन प्रदेश १ को नाम ‘कोशी’ राखेर अगाडि बढेको बेला पार्टीभित्र ‘कोशी’ नाम उचित नहोला भन्न समेत सकेनन् । माओवादी केन्द्रले ‘प्रदेशको नाम गल्ती भयो हामी सच्याउँछौं’ भनेर सार्वजनिक माफी माग्यो । कांग्रेसले प्रदेशको नाम सच्याउने संकेत दिईसक्यो । तर एमालेले कुनै चासो राखेन र प्रदेशको नामको विषयमा बहस पनि गरेन । त्यसमा पनि नेम्बाङ धेरै आलोचित थिए ।

पार्टी अध्यक्ष केपी ओलीसँग कार्यकर्ता भेटघाटका लागि पूर्व आएको बेला पहिचानवादीले झापाको बुधबारेमा र इलाम बजारमा ओलीमाथि आक्रमण गरेपछि नेम्बाङले ‘पहिचानको ढङ्गा एमालेका लागि खतरा रहेछ’ भनेर प्रतिक्रिया दिएका थिए ।

पूर्वमा पहिचानको मुद्धा पेचिलो बन्दै गएको बेला समेत नेम्बाङ यस विषयमा खुलेर बोल्न सकेनन् र आफ्ना समर्थकलाई केही भन्न पनि सकेनन् । लिम्बुवानी भूभागमा हुर्केर, पढेर राजनेताको रुपमा कहलिए पनि पहिचानवादीलाई सम्बोधन नगर्नुले नेता नेम्बाङलाई पहिचान पक्षधरले पार्टी अध्यक्ष केपी ओलीको मतियार भन्नसम्म पछि हटेनन् ।

थुप्रै आरोप, प्रत्यारोप भोगे नेम्बाङले तर, जवाफ नआउँदा नेम्बाङ ‘गोपी कृष्ण कहो’ भन्ने सुँगा हुन् समेत भने । यतिका आरोप खेपेका नेम्बाङ नबोल्दै सधैंलाई अस्ताए ।

माङसेबुङको विकासमा सधैं आश्वासन

हुन त सबै धर्मप्रति उतिकै आशा र विश्वास राख्ने नेता नेम्बाङले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने किरात धर्मावलम्बीहरुको पवित्र स्थल माङसेबुङको विकासमा सधैं आश्वासन मात्र दिए ।

त्यस क्षेत्रबाट निर्वाचनमा उम्मेद्वारी पाएपछि त्यहाँको जनताका लागि धेरै विकासका पोकाहरु बाँड्ने गर्दथ्ये । गएको निर्वाचनमा समेत त्यसरी नै विकासको काममा विश्वास दिलाए । माङहिम परिषर, रिङरोड, दमक-रवि सडक, खानेपानी, बत्ती र सडकका विषयमा काम गर्ने वचन दिएका थिए ।

माङसेबुङको स्वास्थ्य, विद्यालय, बहुमुखी क्याम्पस मात्र होइन, मानव संशाधनका विषयमा बोलेका नेम्बाङका शब्द अपुरो भएपछि उनका समर्थकहरु यतिबेला कुहिरोको काग जस्तो भएका छन् ।

सहमति र सहकार्यका जननी नेम्बाङ केही गरौंला भन्दाभन्दै बितेपछि पूर्वमा एमाले पार्टीभित्र संकट दरार हुने संकेत देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार