बालबालिकाका समस्या बुझेर काम गर्न ‘बालबालिकासँग नगर प्रमुख’ कार्यक्रम

  नयाँ बुलन्द
126 Shares

इलाम : बालबालिकाका सबै समस्या बुझेर काम गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिकामा बालबालिकासँग नगर प्रमुख कार्यक्रम सुरु गरिएको छ । बालबालिकालाई विद्यालय, घर तथा समाजमा हुने विभिन्न प्रकारका समस्या समाधान गरी शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकासँग नगर प्रमुख कार्यक्रम सुरु गरिएको हो ।

सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा दुई सय ५० बढी विद्यार्थी सहभागी कार्यक्रममा विद्यार्थीले सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई समक्ष विभिन्न समस्या र जिज्ञासा राखेका थिए । विद्यार्थीले नगरको विकासदेखि स्वास्थ्य, शिक्षा, खेलकुद, रोजगारी जस्ता विषयमा समस्या राखेका थिए ।

एभरल्याण्ड अङ्ग्रेजी विद्यालयमा कक्षा १० मा अध्ययनरत प्रयास कट्टेलले युवा पुस्तामा कामको सम्मान नभएको प्रश्न राखे । उनले भने, “कृषि क्षेत्र जागिर खाने कोही भन्दैनन् डाक्टर मात्र बन्छु भन्छन्, किन जागिरको सम्मान नभएको मेयर साव ?”

यस्तै, फिक्कल माध्यमिक विद्यालयकी छात्रा शुभेच्छा दाहालले विद्यार्थीले ध्यान केन्द्रित भएर पढ्न नसकेको गुनासो राखिन् । उनेले मनलाई एकीकृत गरी पढ्ने बनाउने तालिम किन नदिएको भनेर प्रश्न गरिन् । सनराईज विद्यालयकी छात्रा सन्ध्या बरालले नगरमा सार्वजनिक पुस्तकालय नभएका कारण पढ्न समस्या भएको गुनासो गरिन् ।छात्रा रितिका राईले नगरका अस्पताल व्यवस्थित नहुँदा सेवाग्राहीले दु:ख पाएको दृष्टान्त औँल्याइन् ।

विद्यार्थीले नगर प्रमुख राईसँग विद्यालयमा खेल मैदान हुँदा पनि खेल खेल्न नपाएको, क्यान्टिनमा धूम्रपान बिक्री वितरण भएको, विद्यालयमा कुटाई खाएको, विद्यालयले बस सेवा सञ्चालन नगर्दा घण्टौँ हिँड्नु परेको जस्ता समस्या राखेका थिए ।

नगर प्रमुख राईले विद्यार्थीका प्रश्नको जवाफ दिँदै नगर क्षेत्रका सबै विद्यालयमा यस वर्षबाट निःशुल्क सेनेटरी प्याड वितरण सुरु गर्ने जानकारी दिए । उनले सबै विद्यालयमा इन्टरनेट, कम्प्युटर, इ प्यानल बोर्डको व्यवस्था गरिसकेकाले प्रविधिको उच्चतम प्रयोग गरी अध्ययन अध्यायपन गराइनु पर्ने बताए । उनले भने, “एकै पटक सबै कुरा सुधार गर्न नसकिएला तार, विद्यालयका क्यान्टिनको फुड जाँच तत्काल गर्छौँ ।”

उgले नगरले १२ महिना १२ कार्यक्रमसँगै नगरले करफोक विद्यामन्दिरमा १ सय ५८ जना महिलालाई छोरी बुहारी कार्यक्रम अन्तर्गत निःशुल्क पढाइरहेको जानकारी दिए ।

कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख तारा शेर्पाले बालमैत्री नगर घोषणा गरिएपछि नगरमा बाल विवाह रोकिएको जानकारी दिइन् । उनले छिटफुट दुई प्रतिशत मात्र समस्या बालविवाहको विषयमा रहेको जानकारी दिइन् । सूर्योदय नगर बाल सञ्जालका अध्यक्ष निरोज राईले बालमैत्री नगर घोषणा भएपछि बालबालिकाका धेरै समस्या हटेको बताए ।

कार्यक्रममा सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि शाखाले वर्षैभरि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले भने, “शैक्षिक गुणस्तर सुधारका लागि हामी निरन्तर लागि रहेका छौँ, धेरै सुधार भएको छ ।” उक्त कार्यक्रममा बाल प्रतिभा स्मारिकाको विमोचन गरिएको थियो भने कार्यक्रममा सहभागी ८ वटा विद्यालयका विद्यार्थीलाई गणित अभ्यास पुस्तिका वितरण गरिएको थियो ।

– प्रेम अधिकारी/गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार