इलाम : नेपाल पत्रकार महासंघ इलाम शाखाले नयाँ सदस्यताको आवेदन आह्वान गरेको छ ।
इलाम शाखाले सोमबार एक सूचना प्रकाशित गर्दै नयाँ सदस्यताको आह्वान गरेको हो । सूचना प्रकाशित भएसँगै विभिन्न सञ्चार संस्थामा कार्यरत पत्रकारहरुका लागि साधारण सदस्य बन्ने बाटो खुलेको छ ।
सूचनामा आउँदो १० जेठसम्म नेपाल पत्रकार महासंघ इलामको कार्यालयमा आफैं उपस्थित भई आवेदन दिन अनुरोध गरिएको छ ।
महासंघको विधान अनुसार नेपाल सरकारबाट मान्यताप्राप्त शैक्षिक संस्थाबाट कम्तीमा कक्षा १२ वा सो सरह उत्तीर्ण गरी २ वर्षदेखि पत्रकारितामा क्रियाशील रहेको प्रमाण खुल्ने प्रकाशित/प्रशारित समाग्री र अन्य आवश्यक कागजपत्रसहित आवेदन गर्न आह्वान गरेको हो ।
नयाँ सदस्य बन्न चाहने योग्य र ईच्छुकले तोकिएको ढाँचाको आवेदन साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आफू आवद्ध संचार संस्थाको नियुक्तिपत्र र अनुभव खुल्ने सिफारिस पत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति, नेपाल सरकारबाट मान्यताप्राप्त शैक्षिक संस्थाबाट कम्तीमा कक्षा १२ वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र २ वर्षदेखि पत्रकारितामा क्रियाशील रहेको प्रमाण खुल्ने प्रकाशित/प्रशारित समाचारका सामग्रीको प्रतिलिपि पेश गर्नुपर्ने जनाइएको छ ।
सूचनामा पत्रकारिता वा अरू कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति, महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारू, मुस्लिम, अपाङ्गता वा अन्य पहिचान भएका व्यक्ति र अल्पसंख्यकको हकमा एक वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भए पुग्ने उल्लेख छ ।
सदस्यताका लागि फारम नेपाल पत्रकार महासंघ इलाम शाखा कार्यालयबाट लिन वा नेपाल पत्रकार महासंघको वेवसाइटबाट डाउनलोड गर्ने सकिने उल्लेख गरेको छ ।
यस्तै महासंघ इलाम शाखाले सदस्यता नवीकरण, स्वैच्छिक परित्याग र स्थानान्तरणका लागि समेत आह्वान गरेको छ । महासंघको सदस्यता सुद्धीकरण मापदण्डअनुसार २५ जेठसम्म सदस्यता नवीकरण, स्वैच्छिक परित्याग र कार्यक्षेत्र परिवर्तन गर्न इच्छुकलाई सदस्यता स्थानान्तरणका लागि आह्वान गरेको हो ।
सदस्यताका लागि आवेदन ढाँचा हेर्न यहाँ क्लिक गर्नुहोला ।