इलाममा अन्तरराष्ट्रिय साहित्य महोत्सव सुरु

  नयाँ बुलन्द
84 Shares


इलाम : साहित्यमार्फत इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाममा दुई दिने अन्तरराष्ट्रिय ‘इलाम साहित्य महोत्सव’ सुरु भएको छ ।

इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा सुरु भएको महोत्सव सोमबारसम्म चल्नेछ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नारासाथ सुरु भएको महोत्सवमा नेपाल र भारतका डेढ सय साहित्यकारको सहभागिता रहेको छ ।

महोत्सवमा साहित्य, राजनीति, पर्यटन, सिनेमालगायत १४ विधामा छलफल हुँदैछ । आइतबार पहिलो दिन ६ विधामा छलफल भएको छ । ‘अंक अर्थ र अध्यात्म’ शिर्षकमा विश्व पौडेलले सम्भाषण प्रस्तुत गरेका छन् । उनले अंकले अर्थशास्त्रलाई विश्वासिलो बनाएको तर्क गर्दै आध्यात्म र गणितबीचको अन्तरसम्बन्धका विषयमा विचार राखे ।

‘राजनीतिमा एजेन्डा कि अनुहार’ शिर्षकमा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषाल, नेपाली कांग्रेसका गुरुराज घिमिरे र लेखक खगेन्द्र संग्रौलासँग पत्रकार एवम् लेखक वसन्त बस्नेतले राजनीतिक बहस गरे ।

‘लेखन सफल कि सार्थक’ शिर्षकमा विमल वैद्यसँग युवराज अधिकारी, विश्व विमोहन श्रेष्ठ र सविता गौतम दाहालले विचार मन्थन गरे ।

‘कवितामा स्थानीय चेत’ शिर्षकमा तीर्थ श्रेष्ठ, लिला अनमोल र भूपिनले राजु सेङतेनसँग विचार मन्थन गरे ।

‘कस्तो सिनेमा’ शीर्षकमा कलाकर्मीहरू उपेन्द्र सुब्बा र सुरक्षा पन्तसँग अन्वेश थुलुङले छलफल गरे । त्यस्तै ‘कला र आदिवासी सौन्दर्य चेतना’ शिर्षकमा वन्दना टेटे र भारतको झारखण्डका अश्विनीकुमार पंकजले राजा पनियानीसँग विचार विमर्श गरे ।

सोमबार ‘नेपालको पर्यटनमा पूर्वेली भाषा’, ‘समावेशी लेखन र समकालिनता’, ‘महाभारादेखि टिस्टाञ्चलसम्म’, ‘मातृभाषा साहित्यमा शिल्प चेतना’, ‘फिक्सन डिजाइनर इन पोएट्री’, ‘जनआकांक्षा विकास र पर्यावरण’, ‘नारी पर्या सहित्य र सत्ता’, ‘पहिचानको संषर्घ’ शिर्षकमा छलफल हुनेछ ।

साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उदेश्यका साथ महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङल बताए ।

२०७६ मा पहिलोपटक इलाममा अन्तरराष्ट्रिय साहित्य महोत्वस आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार