एकता प्रस्तावले भाँडभैलो, कुमार लिङ्देनको पार्टी फुट्दै

लिङ्देन पार्टी एकताको विपक्षमा, बहुमत नेतृत्व एकता गर्नुपर्ने अडानमा

  नयाँ बुलन्द
224 Shares

काठमाडौं : कुमार लिङ्देन नेतृत्वको पहिचानवादी दल ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च’ विभाजनको संघारमा पुगेको छ । विभिन्न पार्टीहरुको एकता प्रस्तावसँगै लिङ्देन नेतृत्वको पार्टी विभाजन हुने अवस्थामा पुगेको हो ।

लिम्बुवान आन्दोलनका नेतृत्वकर्ता लिङ्देन नेतृत्वको पार्टीलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र केपी पालुङ्वा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीले एकताका लागि वार्ता गर्न औपचारिक पत्र नै पठाएको थियो ।

पार्टी एकताका लागि विभिन्न पार्टीबाट प्रस्ताव आएपछि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरु दुई धारमा विभाजित भएका छन् । वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ र महासचिव अशोक चेम्जोङ लगायतका बहुमत नेतृत्व एकताको पक्षमा रहँदा अध्यक्ष लिङ्देन भने एकताको विपक्षमा उभिएका छन् । यसै विषयलाई लिएर लिङ्देन नेतृत्वको पार्टी विभाजन हुने अवस्थामा पुगेको हो ।

महासचिव चेम्जोङले भने– ‘हामी पहिचानवादी राजनीतिक दलबीच एकता र ध्रुबीकरणको पक्षमा छौं । अध्यक्ष भने एकताको पक्षमा हुनुहुन्न । आन्दोलन बलियो बनाउन पनि नसक्ने र एकता पनि नगर्ने हो भने लिम्बुवान प्राप्तिको सवाल सम्भव छैन । त्यसैले हामी एकता चाहन्छौं । तर, अध्यक्ष भने एकता नगर्ने बरु पार्टी विभाजन गर्ने पक्षमा उभिनु भएको छ ।’

अध्यक्ष बाहेकका बहुमत पदाधिकारी तथा नेतृत्व एकता गरि शक्ति आर्जन गर्दै लिम्बुवान आन्दोलन निष्कर्षमा पुर्याउनुपर्ने पक्षमा छन् । तर, अध्यक्ष लिङ्देन भने एकताका लागि प्रस्ताव गर्ने दलहरु पहिचानको सन्दर्भमा स्पष्ट नभएकाले एकता गर्दा आन्दोलन तुहिने बताउँछन् ।

अध्यक्ष लिङ्देनले दृष्टिन्यूजसँग भने– ‘एकताको प्रस्ताव गर्ने सबै पार्टीले आफूलाई पहिचानवादी शक्ति नै भन्छन् । तर, उहाँहरु स्पष्ट हुनुहुन्न । जसपाले मधेसभन्दा अरु देख्दैन । जनमुक्तिले अहिलेसम्म लिम्बुवानबारे स्पष्ट धारणा बनाएकै छैन । नागरिक उन्मुक्ति त थरुहट भन्न पनि डराउँछ । यस्तो अवस्थामा एकता गरेर आन्दोलन अघि बढाउन सकिन्न । त्यसैले अहिले एकता नगरौं भन्ने हो ।’

अहिलेकै अवस्थामा एकता हुने र बन्ने पार्टीले लिम्बूवान, खम्बुवान जस्ता पहिचानमा आधारित आन्दोलनका लागि उचित गति लिन नसक्ने लिङ्देनको बुझाइ छ । उनी भन्छन्– ‘एकताका लागि आह्वान गर्ने पार्टीहरु पहिचानमा आधारित आन्दोलनका लागि स्पष्ट हुन जरुरी छ । उहाँहरु स्पष्ट हुने हो भने हामी एकताका लागि तयार छौं । तर, एकता गर्ने शक्तिहरु नै आन्दोलनबारे स्पष्ट नहुँदा आन्दोलन समाप्त हुन्छ । त्यसैले यो हतार गर्ने विषय होइन ।’

पहिचान आन्दोलनको मानकको रुपमा स्थापित लिम्बुवान आन्दोलन पछिल्लो सयम कमजोर भएको छ । अध्यक्ष लिङ्देन पनि यो स्वीकार्छन् । तर, समूह सानो हुँदैमा, कमजोर हुँदैमा आन्दोलन छोड्ने या सत्ताको लोभमा अन्य कुनै शक्तिमा विलय भएर आन्दोलन समाप्त पार्न नसकिने उनको भनाइ छ ।

कसको तयारी के छ ?
अध्यक्ष लिङ्देन सानै शक्ति भए पनि ठीक तर तत्काल एकता नगर्ने पक्षमा छन् । तर, वरिष्ठ उपाध्यक्ष र महासचिव सहितको बहुमत सदस्य अध्यक्षलाई छोडेर भए पनि पहिचानवादी शक्तिहरुसँग एकता गर्ने पक्षमा छन् ।

पार्टी एकताको विषयलाई लिएर पार्टी भित्र मतभेद हुँदा अध्यक्ष लिङ्देनले एक्लौटी निर्णयमा आठ जना नेतालाई कारबाही गरेका थिए । गुरुङ–चेम्जोङ समूहले उक्त कारबाही खारेज गरेको विज्ञप्तिमार्फत जानकारी गराएका थिए ।

लिङ्देन बाँकी नेतृत्वलाई पनि कारबाही गर्ने तयारीमा रहेको बुझिन्छ भने वरिष्ठ उपाध्यक्ष नेतृत्वको समूह बहुमतको आधारमा अध्यक्षलाई कारबाही गर्दै एकताका लागि प्रस्ताव गर्ने दलहरुसँग एकता गर्ने पक्षमा रहेको एक नेताले बताए ।

पछिल्लो समय लिङ्देनको पार्टीमा तिक्तता बढ्दै गएको छ । यस्तो अवस्थामा एकअर्कालाई कारबाही गर्ने दुबै समूहको तयारी देखिन्छ । अहिलेकै गतिमा तिक्तता बढ्दै जाने हो भने केही समयमै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च विभाजन हुने देखिन्छ ।

एकताको पक्षमा रहेका नेताहरु
१. वरिस्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ
२. उपाध्यक्ष, बिष्णु तुम्बाहाम्फे
३. उपाध्यक्ष, एबी पन्धाक
४. उपाध्यक्ष, चन्द्रबहादुर खापुङ
५. उपाध्यक्ष, टंक खापुङ
६. उपाध्यक्ष, इन्दीरा मेन्याङ्बो
७. उपाध्यक्ष, कृष्ण तुम्बाहाम्फे
८. संस्थापक सदस्य, देउकुमार निङ्लेखु, झापा
९. संस्थापक सदस्य, सुरेन्द्र लिम्बु ‘नोनाम’ झापा
११. संस्थापक सदस्य, चुडामणी तुम्बाहाम्फे
१२. महासचिव, अशोक चेम्जोङ
प्रान्तीय महासचिवहरू
१३. दिलकुमार लावती
१४. लक्ष्मी माबो
केन्द्रीय सचिव
१५. संगम खनाल
१६. भबीराज लिम्बु
१७. रमेशकुमार बिस्वकर्मा
१८. बिश्णुकुमार चोङ्बाङ, सेसेहाङ
१९. बल बहादुर बिक
जिल्ला अध्यक्षहरु
२०. नगेन्द्र राई, झापा
२१. अमर इजम, सुनसरी
२२. चन्द्रराज आङ्देम्बे, पान्थर
२३. भुपेन्द्र चेन्जि माबो, ताप्लेजुङ
२४. बिजय निङ्लेकु, तेह्रथुम
२५. कबिर चेम्जोङ, धनकुटा
२६. निमा सेर्पा, संखुवासभा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार