दर्शक आकर्षित गर्दै नाटक ‘महाभारा’

  राम योङहाङ
693 Shares

इलाम :  इलाम सदरमुकाममा मञ्चन भइरहेको नाटक ‘महाभारा’ तर्फ दर्शक आकर्षित भएका छन् । गत सातादेखि मञ्चन भइरहेको नाटक ‘महाभारा’ ले दर्शकको ध्यान तानिरहेको छ । हलमा नाटक हेर्ने दर्शकको चाप बढ्दो छ ।

नाटक हेरिसकेपछि प्राप्त दर्शकको सन्तुष्टिको कारण नाटकले नाट्य प्रेमीको ध्यान खिचिरहेको हो । चेतना नाट्य समूह इलामद्वारा स्थानीय नारी विकास संघको सभाहलमा मञ्चन भइरहेको नाटक प्रत्येक दिन एक पटक र बिदाको दिन २ पटक मञ्चन हुँदै आएको छ ।

गत २० पुसदेखि नाटक प्रत्येक दिन एक पटक र विदाको दिन दुई पटक मञ्चन हुँदै आएको छ । पत्येक दिन दिउँसो साढे ४ बजे र विदाको दिन मध्यान्ह १२ बजे नाटक मञ्चन भइरहेको छ । दर्शकले ३ सय रुपैयाँ शुल्क तिरेर नाटक हेर्न सक्नेछन्, विद्यार्थीलाई आधा छुट दिइएको छ ।

करिब १ घण्टा ४५ मिनेट अवधिको नाटकले नाटक हेर्न पुगेका सबै दर्शकको मन जितिरहेको छ ।  नाटक हेर्न किशोर किशोरीदेखि वृद्धवृद्धासम्म सबै उमेर समूह दर्शक आउने गरेका छन् । इलामसहित छिमेकी जिल्लाहरूबाट समेत नाटक हेर्न आउने गरेका छन् ।

लेखक, साहित्यकार एवम् पत्रकार बसन्त बस्नेतद्वारा लिखित उपन्यास ‘महाभारा’ लाई कलाकार अन्वेश थुलुङले नाट्य रुपान्तरण र निर्देशन गरका छन् । नाटकमा पूर्वी पहाडको ग्रामीण जनजीवन, सांस्कृतिक, धार्मिक, राजनीतिक र प्रेम सम्बन्ध जस्ता विषयलाई रोचक ढंगले देखाईएको छ ।

नाटकमा कलाकारहरुको अब्बल अभिनयले पनि धेरैको ध्यान खिच्छ । डुक्पाको पात्रमा कलाकार प्रकाश मगर र सुक्मतिको पात्रमा कलाकार भावना खपाङ्गी मगरको ठट्यौली र ठेट शब्दसहितको अभिनयले नाटकलाई हेरिरहुँजस्तो बनाएको छ । नाटकमा अभिनय गरेका अन्य सबै कलाकारले गरेको अभिनय तारिफयोग्य छ । नाटकमा स्थानीय श्रोत साधनको उपयोग गरी १५ जना कलाकारहरुले अभिनय गरेका छन् ।

‘महाभारा’ हेरपछि प्राप्त प्रतिक्रियाका कारण आफुहहरुमा उत्साह बढेको नाटकका निर्देशक अन्वेश थुलुङले बताए । आफ्नै गाउँघरको कथा बुनिएको नाटकले प्रत्येक दृश्यमा आफ्नै बाल्यावस्था, युवावस्थाको स्मरण गराएको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत समेत दिईरहेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत नै नाटक ‘महाभारा’ हेर्न निमन्त्रणा समेत गरिरहेका छन् ।

नाटक महाभारा’ आगामी ३० पुससम्म मञ्चन हुने चेतना नाट्य समूहका अध्यक्ष सुरेश पोर्तेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार