प्रदेश १ को सरकारमा माओवादी सामेल नहुने,केन्द्रको सहमतिप्रति असन्तुष्टि

  नयाँ बुलन्द
406 Shares

फाइल तस्वीर

विराटनगरः नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा तत्काल सहभागी नहुने भएको छ ।

केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो ।

माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ को सिंगो माओवादी पार्टीको अपमान भएको बताए । ‘माथिको निर्णयले माओवादी प्रदेश १ को अपमान भएको छ,’ उनले भने, ‘आलोपालोबारे लिखित सहमति नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं ।’

यसअघि एमाले र माओवादी दुबै दलका शीर्ष नेताले प्रदेश सरकारमा आलोपालो हुने बताएका थिए । मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखकोमा जानु अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पनि गठबन्धन ५ वर्ष कायम हुने बताउदै मुख्यमन्त्री र मन्त्रीहरु परिवर्तन हुनसक्ने बताएका थिए । तर, हिजो साझ शीर्ष नेताहरुबीच भएको सहमतिमा मुख्यमन्त्री ५ वर्ष नै एमालेले पाउने उल्लेख भएपछि माओवादी असन्तुष्ट भएको हो ।

सरकारलाई दिएको समर्थन भने यथावत रहने माओवादीले जनाएको छ । केन्द्रबाट भएको भागबण्डामा प्रदेश १ मा माओवादीले सभामुख मात्रै पाएको छ भने मुख्यमन्त्री आलोपालो गर्ने विषय उल्लेख छैन ।

एमालेका तर्फबाट हिजै प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भइसकेका छन् । कार्कीलाई आज दिउँसो २ बजे शपथग्रहण गराउने कार्यक्रम छ । कार्कीको शपथ लगत्तै सानो आकारको मन्त्रीमण्डल आजै विस्तार गर्ने तयारी थियो ।

यद्यपि माओवादी केन्द्र तत्काल सरकारमा नजाने भएपछि तरङ्ग उत्पन्न भएको छ । माओवादीले आज सरकारमा सहभागी नहुने विषयको जानकारी मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिइसकेको छ ।- हाम्रोमत

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार