फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्छ : मन्त्री कार्की थप सामग्री

  नयाँ बुलन्द
217 Shares

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताउनु भएको छ ।

बिहीबार सुनसरी- ४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै सञ्चारमन्त्री कार्कीले यस्तो बताउनु भएको हो ।

मन्त्री कार्कीले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताउनुभएको छ । उहााले सुनसरी–४ को समृद्धि र सम्मानका लागि काम गर्ने समेत बताउनु भयो । उहाँले आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै आगामी पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने बताउनु भयो । मन्त्री कार्कीले मतदाताले आफूमाथि गरेको विश्वासलाई अभिवृद्धि गर्दै लैजाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जुन विश्वासका साथ मलाई निर्वाचित गर्नुभएको छ । त्यो विश्वासलाई म अरु अभिवृद्धि गरेर लिएर जान्छु । र उहाँहरुको विश्वासलाई म घात गर्नेछैन । यहाँका आदरणिय दिदीबहिनी, दाजुभाईहरु जसले मलाई दोस्रो पटक निर्वाचित गर्नुभएको छ । उहाँहरुसँग पनि म प्रत्यक्ष संवाद गरेर भएका समस्याहरुलाई निराकरण गर्दै यो क्षेत्रको समृद्धि र सम्मानका निमित्त म काम गर्छु । मैले धेरै कामहरु यो क्षेत्रमा गरेको छु । त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ । म पाँच वर्षको कार्यकालमा अरु बढी कामहरु म गर्नेछु ।’

मन्त्री कार्की ३० हजार ४८३ मतका साथ सुनसरी ४ बाट विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गर्नुभएको छ । मन्त्री कार्कीले कुसियैतलाई ११२ मतअन्तरले पराजित गर्नुभएको छ ।

त्यस्तै सो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३ हजार २३२ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार १८१ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार