इलाममा रक क्लाइम्बिङको प्रचार सुरू

इलाम । इलाममा ओझेलमा परेको रक क्लाइम्बिङको प्रचार सुरू गरिएको छ । साहसिक खेल पर्यटनको विकासका साथै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले इलाम नगरपालिका आफैं महभीरमा रहेको चट्टान आरोहणस्थलको प्रचारप्रसारमा जुटेको हो ।

पछिल्लो समय इलाम नगरपालिकाले नयाँ पर्यटकीय स्थलको पहिचान गरि पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेको छ । इलाम नगरपालिका–८ को महभीरमा साहसिक पर्यटकीय खेल रक क्लाइम्बिङलाई गन्तव्य बनाएर त्यसको प्रचारमा जुटेको हो ।

अहिले रक क्लाइम्बिङ निर्माण भएपनि त्यसको उचित प्रचारप्रसार नहुँदा ओझेलमा परेको भन्दै प्रचारप्रसारमा स्थानीय सरकार आफै जुटेको इलाम नगरपालिका– ८ का वडाअध्यक्ष दलमान तामाङ्गले बताउनुभयो ।

पछिल्लो समय खस्किएको पूर्वी नेपालको पर्यटन व्यवसायमा सुधार गर्ने उद्देश्यका साथ इलाममा निर्माण गरिएको साहसिक पर्यटकीय संरचना रक क्लाइम्बिङ निर्माणपछि संचालनमा रहेको छ । करिब ५० मिटर अग्लो पहरामा निर्माण गरिएको रक क्लाइम्बिङ नयाँ र आकर्षक गन्तव्य रहेकाले नियमित रूपमा बजेटको व्यवस्था गरि पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनुभयो ।

पर्यटन पूर्वाधार विकास र गतिविधि सुधार गर्दै पर्यटकलाई रक क्लाइम्बिङ तर्फ आकर्षित गर्न सके इलामको पर्यटन क्षेत्रमा थप टेवा पुग्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार