क्यान्सर पीडित विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने


झापा : सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ झापाको दमकमा सांगीतिक कार्यक्रम हुने भएको छ ।
‘मनोरञ्जन धमाका’ नामक कन्सर्ट असोज १० गते सोमबार साँझ ४ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने भएको हो ।
सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बूले प्रस्तुति दिने कन्सर्ट दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएका हुन् । त्यस्तै सुनिला लिम्बू, ममता गुरुङ र निमा तामाङले गायकद्वयलाई प्रस्तुतिमा सघाउने छन् ।
शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कन्सर्ट बारे जानकारी दिइएको हो ।
कदम थिएटरको मूल संयोजन रहेको कार्यक्रमलाई कदमसहित विशाल राई बचाउ अभियान मूल समिति, थाली इन्टरटेनमेन्टले आयोजना गर्न लागेका हुन् भने सिल्भर इन्टरटेनमेन्टले इभेन्ट मेनेजमेन्ट गर्न लागेको हो ।
पत्रकार सम्मलेनमा बोल्दै विशाल राई हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत रहेका उनका दाजु धिरज राईले जानकारी दिए । अभियानका संयोजक बलु राईका अनुसार हालसम्म विशालको उपचारमा करिब १५ लाख खर्च भैसकेको छ भने रगत ट्रन्सल्पान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालबाट जानकारी पाएको बताए ।
मानवीय सेवाका लागि आयोजित कन्सर्टमा कदम थिएटरको संयोजन र सहकार्य रहेको भन्दै सचिव कमन देवानले कन्सर्ट सफल पार्न दमक र आसपासका विभिन्न सामाजिक, शैक्षिक र व्यवसायिक संघसंस्थाहरुसँग अनुरोध गरिने बताए ।
कन्सर्टमा सर्वसाधारणका लागि टिकटदर ३ सय तोकिएको छ भने विद्यार्थीका लागि २ सय कायम गरिएको आयोजकले जनाएको छ ।
कन्सर्टलाई मुस्ताङ बियरले मुख्य प्रयोजन गरेको छ भने सपोर्टरमा गुरू टोली, बुलेट साउन्ड सिस्टम, इन्स्पायर इङ्लिस स्कूल, ग्यारेज क्याफे, विचित्र डिजाइन एण्ड सेन्स, ह्वाइट पेपर, भिजुअल आर्टलगायत छन् ।
वाईवाई प्यारोसँगको सहकार्य आयोजना गर्न लागिएको कन्सर्टको प्रोमोटर डिभाइन वाइन रहेको छ । हस्पिटालिटी पार्टनहरुमा होटल स्वर्गलोक, होटल कामाक्षामा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार