इलाम : रोङ गाउँपालिका–३ चिण्डेपानीकी सविना लेप्चा राजधानीको त्रिदेव मल्टिपल क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन् । सानैदेखि लेप्चा जातिको संस्कृति संरक्षणमा लागेकी उनी बिदामा गाउँ आउँदा जातीय पोसाकमा ठाँट्टिएर साँस्कृतिक गतिविधिमा सहभागी भइहाल्छिन् ।
स्थानीय सागर लेप्चा त्यहींको विद्यालयमा लेप्चा भाषाका शिक्षक छन् । लेप्चामा पढाइ हुने मुलुककै एक मात्र विद्यालयका शिक्षक उनी पनि गाउँमा हुने पर्व र उत्सवमा जातीय पहिरनमा ठाँटिएर निस्कन्छन् । रोङ–४ की उर्मिला लेप्चा स्टाफ नर्स हुन् । दिनभर उपचारमा खटिने उनी विभिन्न अवसरमा भने सांस्कृतिक गतिविधिमा सामेल हुन मरिहत्ते गर्छिन् । उनले लेप्चा बोल्न जानेकी छन् । उर्मिला आफ्नै भाषामा गीत पनि गाउँछिन् ।
चिण्डेपानी क्षेत्र लेप्चाहरूको धार्मिक एवं सांस्कृतिक केन्द्रको रूपमा विकास भएको छ । यसै स्थानमा खोज अनुसन्धानमा आउने पर्यटकदेखि विभिन्न समयमा हुने कार्यक्रममा दुई दर्जन धेरै लेप्चा जातिका तन्नेरीले परम्परागत प्रस्तुति दिन्छन् । आधुनिकतासँगै पुराना रीतिथिति मासिँदै गएको अवस्थामा यो समुदायमा संस्कृति संरक्षणप्रतिको मोह बढ्दो छ । ‘पुरानाबाट नयाँ पुस्तामा यसको हस्तान्तरण नभएमा मुलुकबाटै हाम्रो संस्कृति लोप हुने खतरा छ,’ सविना भन्छिन्, ‘उसै पनि लोपोन्मूख जाति भएकाले संस्कृतिको जगेर्ना गर्दै सर्वत्र यसको प्रचार पनि गर्नु पर्नेछ ।’
समग्र जिल्लाकै पर्यटकीय आर्कषण लेप्चा संस्कृतिलाई राखिएका कारण पनि युवाको सक्रियता बढेको हो । विद्यालय–कलेजमा अध्ययनरतदेखि जागिरमा लागेकाहरू प्नि आफ्नो संस्कृतिको बचाउमा गम्भीर देखिएका छन् ।
कञ्चनजंघा हिमाललाई मुख्य आस्थाको केन्द्र मान्ने यो समुदाय प्रकृति पूजक हो । ‘परापूर्व कालदेखि रहिआएका मान्यता, ऐतिहासिक दस्ताबेज, विभिन्न स्थानका नामकरणलगायत कारण पनि लेप्चा समुदाय अघि यहाँ अन्य जातजाति रहेको पुष्टि हुँदैन,’ चिण्डेपानीका दावा लेप्चा भन्छन्, ‘कतिपय ऐतिहासिक प्रमाण र दस्ताबेजहरू हराए पनि केही अझै रहेकाले संरक्षणको प्रयासमा छौं ।’ पछिल्लो समय भाषा, लिपि, भेषभूषासहित धार्मिक र सांस्कृतिक गतिविधिमा युवापुस्ताको सहभागिता बढेको देख्दा अगुवाहरू खुसी छन् ।
कम संख्या भएका कारण अन्तरजातीय विवाह, अन्य समुदायको सांस्कृतिक प्रभावलगायत कारण लेप्चा संस्कृतिको संरक्षण चुनौतीको रूपमा थियो । तर मुलुकमा प्रजातान्त्रिक व्यवस्था लागू भएपछि राज्यले लोपोन्मुख जातिलाई गरेको संरक्षण, यस क्षेत्रमा आएको पर्यटकीय गतिविधि अनि सांस्कृतिक चेतका कारण अहिले गतिविधि बढेको लेप्चा भाषाका शिक्षक सागरको बुझाइ छ ।
यो जातिको भाषा, लिपि, संस्कृति र परम्परा संरक्षणकै लागि रोङ गाउँपालिकाले पाठ्यक्रम नै तयार पारेर लेप्चा भाषाको पढाइसमेत गराइरहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार यो जातिको जनसंख्या ३ हजार ४ सय ४५ छ । यो मध्ये अधिकांश लेप्चा समुदायको बसोबास माईपूर्व इलाममा छ । चेतना विस्तार र राज्यले दिएको सेवा सुविधाका कारण लेप्चा समुदायका युवायुवती प्राविधिक शिक्षा आर्जनमा लागेका छन् ।
-विप्लव भट्टराई/कान्तिपुर