धर्मेन्द्र झालाई स्वतन्त्र सेनानी पत्रकारिता पुरस्कारद्वारा पाँचथरमा सम्मान

  युद्धबहादुर बोहोरा
49 Shares

पाँचथर: नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई स्वतन्त्र सेनानी पत्रकारिता पुरस्कारद्वारा पाँचथरमा सम्मान गरिएको छ ।

२०४४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भइ अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पुर्याउनु भएको योगदान र नयाँ पिँढीका लागि मार्गदर्शक बनेका झालाई सम्मान तथा पुरस्कार अर्पण कार्यक्रमको आयोजना गरि नेपाल पत्रकार महासंघ पाँचथर शाखाले सम्मान गरेको हो ।

शनिबार फिदिममा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ नगद,कदरपत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए । उक्त समारोहमा राष्ट्रिय समाचार समितिका वर्तमान अध्यक्षसमेत रहेका झा र पाँचथरका अन्य चार पत्रकारलाई विभिन्न विधामा सम्मान गरिएको छ ।

सम्मानित हुनेमा स्वर्गीय प्रजापति जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पाँचथर संवाददाता विजयबोध लावती र हरिचरण जल्पादेवी वातावरण पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजन पाँचथर संवाददाता खविन लुँइटेल पुरस्कृत भएका छन् । खेलकुद पत्रकारिता पुरस्कार नगद १० हजार तथा वातावरण पत्रकारिता पुरस्कारको राशी नगद ५ हजारसहित प्रमाणपत्र रहेको छ ।

यसअघि शाखाले स्वतन्त्र सेनानी पत्रकारिता पुरस्कार पुर्वअध्यक्षहरु, हरिहर बिरही, बिष्णु निष्टुरीघिमिरे, शिव गाउँले, किशोर नेपाल,तारानाथ दाहाल, हरिहर बिरही र महेन्द्र बिष्टलाई सम्मान गरिसकेको छ । प्रजापति जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि पत्रकार भिम बाँस्कोटा, लक्ष्मी गौतम,गणेश साङ्पाङ, सरोज शर्मा, जंग तामाङ,दिपक बोहोरा र इलामका पत्रकार बिप्लब भट्टराई पुरस्कृत भइसकेका छन् ।

त्यस्तै,हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट यसअघि देवराज गुरुङ, जितबहादुर भण्डारी, भिम तुम्बापो, राधा लुइँटेल, शान्ती राई र उपेन्द्र ऐक्तेन पुरस्कृत भएका छन् ।

यसैबीच उत्कृष्ट फिचर विधातर्फ कान्तिपुर संवाददाता लक्ष्मी गौतम र उत्कृष्ट फोटो विधातर्फ राससका जिल्ला संवाददाता रवीन्द्र काफ्ले पुरस्कृत भएका छन् । पत्रकार महासंघ पाँचथर शाखाले फिचर र फोटो विधामा उत्कृष्ट पत्रकारलाई यस वर्षबाट पुरस्कृत गर्न शुरु गरेको हो ।

कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले,प्रेस काउन्सिलका सदस्य गणेश पोख्रेल, महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेव ढुंगाना,महासंघ इलाम शाखाका अध्यक्ष विप्लप भट्टराई लगायतले सम्मान गर्दै बधाई तथा शुभकामना दिएका थिए । प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुख, छिमेकी जिल्ला तेह्रथुम, ताप्लेजुङ,इलाम पत्रकार महासंघ शाखाका अध्यक्ष, जिल्लाका पुर्व अध्यक्ष जिल्लाका संचारकर्मीको लगायतको उपस्थिति थियो ।
महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष राधा लुइँटेलले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव रामचन्द्र तामाङले संचालन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार