
इलाम : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्तिलाई सफल बनाउन पर्यटन प्रवद्र्धन आवश्यक भएको बताएका छन् ।
इलामको इलामको माई नगरपालिका १ स्थित विहिबारेमा सुरु भएको ‘प्रथम तेह्रकुने सिमसार महोत्सव २०७८’को उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशमा रहेका विभिन्न पर्यटकीय क्षेत्रहरुको असली रुप संरक्षण गरे मात्र पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।मुख्यमन्त्री राईले सीमसार क्षेत्रको विकासमा प्रदेश सरकारले उचित ध्यान दिने बताए ।
विहिबारदेखि शुरु भएको महोत्सव उद्घाटन समारोहमा प्रदेश सभा सदस्य काजीमान कागते, माइ नगरपालिका प्रमुख दिपककुमार थेवे, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष भक्त केसी समेतका वक्ताहरुले तेह्रकुने सीमसार क्षेत्रको विकासमा विस्तृत परियोजना अनुरुप अगाडि बढ्नुपर्ने सुझाव दिए । नगर प्रमुख थेवेले तेह्रकुने सीमसार क्षेत्रको विकासमा प्रदेश सरकार र संघीय सरकारसँग हातेमालो गर्दै अगाडी बढ्ने बताए ।
कार्यक्रममा इनपा ११ का वडाध्यक्ष रविन एक्तेन, माइका वडाध्यक्षहरु पदम फागो लिला बहादुर राई, मुखराज आङदेम्बे, नेकपा एकिकृत समाजवादीका अनिलकुमार तामाङ, जनता समाजवादी पार्टीका टुपेन्द्र एक्तेन, नेकपा माओवादी केन्द्रका धनकुमार लिम्बुले महोत्सवको शुभकामना मन्तव्य राखेका थिए ।
तेह्रकुने सीमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष कहरसिंह राईको अध्यक्षतामा भएको महोत्सव उद्घाटनका क्रममाउराउ, राई, सुनुवार र लिम्बु समुदायको साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
महोत्सव ११ गतेसम्म संचालन हुने भएको छ । चुरे क्षेत्रमा रहेका १३ कुने सीमसार क्षेत्रको प्रचार प्रसार गर्ने उदेश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न साँस्कृतिक, कार्यक्रम, खुल्ला भलिवल प्रतियोगिता संचालन हुने भएको छ । करिब सय रोपनी क्षेत्रमा फैलिएको सीमसार क्षेत्रमा रहेको पोखरीमा डुंगा चड्ने व्यवस्था रहेको छ ।



















































