कांग्रेस क्षेत्रीय अधिवेशन : दुवै क्षेत्रमा सभापति देउवा पक्ष कमजोर

  नयाँ बुलन्द
476 Shares


इलाम : नेपाली कांग्रेस इलामको क्षेत्रीय अधिवेशनमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष कमजोर देखिएको छ । बुधबार विहान सम्पन्न दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतपरिणाममा संस्थापन इतरका उम्मेद्वार निर्वाचित भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा रोङ गाउँपालिका अध्यक्ष शमशेर राई र क्षेत्र नम्बर २ को सभापतिमा माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो निर्वाचित भएका छन् । सभापतिमा राईले २ सय ४७ मत ल्याएका छन् । उनी केन्द्रमा रामचन्द्र पौडेल पक्षका उम्मेद्वार हुन् । सोही पदमा उम्मेद्वारी दिएका भीष्म प्रधानले २ सय १४, दुर्गा बरालले १ सय ९७ र मिलन क्षेत्रीले २१ मत पाए । प्रधान र क्षेत्री देउवा पक्षका हुन् भने बराल पौडेल पक्षका हुन् ।

क्षेत्र नम्बर २ को सभापतिमा निर्वाचित इदिङ्गोले ४ सय ३२ मत ल्याएका छन् । सोही पदमा उम्मेदवारी दिएका नुुतनदेव दुलालले २ सय ९८, नरेश श्रेष्ठले १ सय ८८ र मनबहादुर बुढाथोकीले ७४ मत ल्याए । इदिङ्गो र दुलाल पौडेल पक्षका हुन् भने श्रेष्ठ र बुढाथोकी देउवा पक्षका हुन् ।
दुवै क्षेत्रका निर्वाचित सभापति जिल्ला सभापतिका प्रत्यासी भेषराज आचार्यनिकट मानिन्छन् । इलामका दुवै निर्वाचन क्षेत्रमा संस्थापन र इतरका २/२ जना सभापतिका उम्मेदवार थिए । उनीहरुका आआफ्नै प्यानल थिए ।

क्षेत्र नम्बर १ को सचिवद्वयमा राजकुमार लिम्बू (सेरेङ) र यामन लामा विजयी भए । सहसचिवद्वयमा प्रज्न्वल भट्टराई र बुद्धराज लिम्बू निर्वाचित भए । क्षेत्र नम्बर २ को सचिवद्वयमा धनकुमार राई (बबिन) र सुवास घिमिरे तथा सहसचिवद्वयमा अम्बिका चौहान र खोम खतिवडा निर्वाचित भए ।

यसअघि प्रदेशसभा क्षेत्रको निर्वाचनमा पनि ३ सभापति पौडेल पक्षबाट र १ सभापति मात्र संस्थापन पक्षबाट विजयी भएका थिए ।

वर्तमान जिल्ला सभापति तथा जिल्ला सभापतिका प्रत्यासी हिमालय कर्माचार्य, पूर्वसभापति तथा अर्का प्रत्यासी केशव थापा, सभापतिकै प्रत्यासी रहेका भेषराज आचार्य र डम्बर खड्का सहित ५१ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । कर्माचार्य र आचार्य संस्थापनइतर हुन् भने थापा र खड्का संस्थापन पक्षका हुन् । जिल्ला समितिको लागि शुक्रबार मतदान हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार