तस्बिर पत्रकार गाेपाल निराैला
इलाम : करिब डेढ दशक अघिसम्म लेक–वेसी,गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो,गर्मीमा दौतरीहरु बसेर शितल हावा लिदै बागचाल खेल्ने ठाउँ, चौतारी पछिल्लो समय नासिदै गएपछि ग्रामिण जीवनको मौलिकता र त्यसबाट प्राप्त आनन्द दुवै हराएका छन् ।
भरियाको भारी बिसाउने ठाउँ,बटुवाको थकान विर्साउने ठाउँ,युवा युवतीको माया प्रेम दर्शाउने ठाउँ, पाका व्यक्तिहरु सुस्ताउने ठाउँ,गोठाला र फुर्सदिला व्यक्तिहरु भेला भएर बागचाल खेली दिन विताउने ठाउँ हो चौतारी । आध्यात्मिक दर्शनमा धर्ममार्गको खुड्किलो मानिएका चौतारीहरु मानिसको भौतिक र दैनिक जीवनमा समेत अत्यन्त महत्वपूर्ण थलो हुन् ।
तर,विकासका नाममा मोटर बाटो खन्ने होडवाजी शुरु भएपछि भौतिक र आध्यात्मिक जीवनका यी महत्वपूर्ण सम्पदा नास हुँदै गएका छन् । मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसंगै चौतारीहरु विर्सिइँदै जान थालिएको छ ।
मान्छेहरु हिँडडुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो । तर चौतारी अस्तित्व र महत्व विकाससंग मात्र होइन पर्यावरण र मान्छेको जीवनसंग पनि जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने बुडापाकाहरुकाे भनाइ छ ।
चार कुना मिलाएर बनाइएको चौतारीमा बर र पिपलसँगै ( नजिकै)रोपिने हुँदा वर र पिपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा । परम्परागत चौतारोकोे विशेषता भएको बताइन्छ ।
गर्मी महिनामा गुन्द्री विछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’को एउटै आश्रय स्थल हो चौतारीहरु । अब के फेरि पनि पहिलेको जस्तै ब्युँतिएलान् त पूर्खाले बनाएको थकान भुलाउने चौतारी ?