कोरोनाका कारण माङसेबुङमा एकैदिन श्रीमान् श्रीमतीको निधन !

  नयाँ बुलन्द
3.5k Shares

इलाम : कोरोना संक्रमणका कारण इलाममा बिहीबार एकैदिन श्रीमान् श्रीमतीको निधन भएको छ । माङसेबुङ गाउँपालिका ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमा लावतीको एकैदिन कोरोनाबाट मृत्यु भएको हो ।

टेकबहादुरको विहीबार विहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको स्थानीय पत्रकार काकीराम लावतीले जानकारी दिए । लावती परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुई जनाको निधन भएको हो । एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ ।

उनीहरु विगत ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्दै आएका थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाती समेत कोरोना संक्रमित छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

इलाममा विहीबार थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै जिल्लामा संक्रमितको संख्या २ हजार १ सय ४४ पुगेको छ । संक्रमितमध्ये १ हजार ७ सय २१ जना निको भइसकेका छन् भने संक्रमितमध्ये ५२ जनाको यसअघि नै निधन भइसकेको थियो  । जिल्लाभर ३ सय ७१ जना संक्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

१० वटा स्थानीय तह रहेको इलाममासबैभन्दा बढी इलाम नगरपालिकामा ६ सय ७५ जना संक्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार