ओली सरकारलाई जसपाले साथ नदिएको वरिष्ठ नेता राईको भनाइ

  युद्धबहादुर बोहोरा
1.6k Shares

फाइल तस्वीर

 

पाँचथर : जनता समाजवादी पार्टी,नेपालका वरिष्ठ नेता असोक कुमार राईले वर्तमान ओली सरकारलाई जसपाले साथ नदिएको बताएका छन् ।

जसपा,लिम्बूवान राष्ट्रिय समितिले आयोजना गरेको “समसामयिक राजनीति र अबको बाटो” बिषयमा अन्तरक्रियात्मक छलफलका प्रमुख अतिथि राईले जुम प्रविधिमा जोडिएर शनिबार सो कुरा बताएका हुन् ।

कामचलाउ ओली सरकारमा जसपा,नेपालको सहभागी नभएको बताउँदै,उनीहरु केवल व्यक्तिगत स्वार्थमा पार्टीको निर्णय र विधान विपरीत सरकारमा टाँसिएको आरोप लगाएका छन् ।


ओलीको कदम प्रतिगामी,अबैधानिक र अलोकतान्त्रिक साथै संघीयता,पहिचान र गणतन्त्रको विपक्षमा उभिएर
जनताको बलिदानबाट प्राप्त उपलब्धिहरु समाप्त पार्ने षडयन्त्रमा अग्रसर देखिएकोले जसपाको समर्थन संभावना नभएको उनले बताए ।
कुनै शक्तिशालीको आशिर्वाद र सहयोग प्राप्त भएको दम्भ देखाउँदै पटकपटक संसद विघटन गर्ने अराजक शैली किमार्थ आम नेपाली जनताको भलाईमा नभएको बताए । बहुमत प्राप्त आफ्नो पार्टीको सरकारले संविधानका धारा कुल्चदै “म नै सवै थोक हो” भन्ने सोचाइ गर्नु तानाशाहीको नमुना र सम्पूर्ण लक्षण उनमा भएको बताए । उनले नेपाली जनतालाई धोका मात्रै हैन आफ्नै पार्टीलाई तीन टुक्रा पार्न लागेका छन् ।
जसपा पहिचानवादी पार्टी भएकोले अधिकार प्राप्त नभइन्जेलसम्म पहिचानको मुद्दामा सकृय हुँदै देशको वैकल्पिक राजनिती शक्ति बन्ने राईले दावी गरेका छन् ।

वर्तमान राजनीति अवस्था बारे जानकारी दिदै उनले भने,
“अहिले गलत कदम चालेर केहि व्यक्ति अराजक गतिविधि गर्दै सरकारमा जाँदैमा जसपा फुट्यो भन्ने हल्ला निरर्थक छ ,कोही पनि भ्रमकोपछि नलाग्नु होला ।” उत्तेजित भएर सामाजिक संजालमा असन्तुष्टि नपोख्न नेता तथा कार्यकर्तालाई समेत आग्रह गरेका छन् । पार्टी संगठनलाई दर्बिलो बनाउन निर्धक्क भएर सक्रियताका साथ लाग्न पनि उनले अनुरोध गरेको लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमालले जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता गरिरहेका पार्टीका केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले
ओली सरकारले वर्तमान युगलाई पछाडि धकेल्न प्रयत्नशील रहेको र अहिले पहिचानवादीहरुको समय आएको बताए । ओली प्रवृत्ति पहिचानको बाधक देखिएको र लिम्बुवान सहित १० प्लस १ प्रदेश सुनिश्चितताको लागि सम्पूर्ण पहिचानवादीहरु उनको विरुद्धमा एकजुट हुन आग्रह गरेका छन्

राष्ट्रिय समिति अध्यक्ष माखिमको अध्यक्षतामा सम्पन्न उक्त छलफलमा केन्द्रिय कार्यकारिणी सदस्य सुशीला श्रेष्ठ,केन्द्रिय सदस्य प्रेमराज लावती,अमेरिक,दक्षिण कोरिया,युके,जापान लगायतका एक सय जनाको सहभागीता थियो ।
लिम्बुवान राष्ट्रिय समितिको मुख्य सचिव धिमालले कार्यक्रम संचालन गरेको अध्यक्ष माखिमले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार