सूर्योदय नगरपालिकामा ६६ करोडको खानेपानी योजना

इलाम : इलामको सूर्योदय नगरपालिकामा ६६ करोडको खानेपानी योजना संचालन हुने भएको छ ।

पर्यटकीय नगरी सूर्योदयको कन्याम, लक्ष्मीपूर लगायत १४ वटै वडामा दीगो खानेपानी समाधानको निम्ति आयोजना निर्माणको लागि टेन्डर आहवान भएको हो । संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतको इलाम कार्यालयबाट संचालन हुने कन्याम पञ्चकन्या खानेपानी योजनाबाट सूर्योदयको मात्र नभई इलाम नगरपालिका र रोङ गाउँपालिका समेत लाभान्वित हुनेछन् ।

योजनाको प्रक्रिया अघि बढेपछि भविष्यमा नगरमा खानेपानीमा आउने सक्ने समस्या समाधानको निम्ति ऐतिहासिक कार्य भएको नगर प्रमुख रणबहादुर राईले बताए । ३ बर्षमा योजना सम्पन्न हुनेछ । आयोजनको लागि नेपाल सरकारको ९० प्रतिशत र १० प्रतिशत जनसहभागिता रहनेछ ।

जनसहभागिताको १० प्रतिशत भित्रमा बुझाउनु पर्ने अग्रिम १ प्रतिशत शुल्क अर्थात ६६ लाख रुपैया खानेपानी आयोजनाको निम्ति जम्मा गरिसकेको राईले बताए । बाँकी ९ प्रतिशत संरचना निर्माणका लागि जग्गा व्यवस्थापन, धाराजडान, पाइपलाइन विस्तारका लागि जनश्रमदान रहने छ ।

थोरै बजेटबाट खानेपानी समस्या समाधान नहुने भएपछि सूर्योदय नगरपालिकाले नगरसभाबाट सुख्खा क्षेत्र घोषणा गरी केन्द्रिय सरकारसंग ठुलो परिमाणमा बजेट माग गरेको जस अनुरुप पुर्व प्रधानमन्त्री झलनाथ खनालको पहलमा बजेट बिनियोजना गरिएको हो । एक दशक भन्दा अघि प्रारम्भ भएको यो आयोजना प्रत्येक बर्ष ५० लाखदेखि १ करोड बजेटमा छुटिने भएकाले अपेक्षिकृत प्रतिफल लिन समस्या देखिएको राईले बताए ।

उनले टेन्डर आहवानपछि खानेपानीको समस्या हल हुनेमा विश्वस्त रहेको बताए । उनले तीन बर्षको निरन्तर, अथक प्रयासको प्रतिफल प्राप्त भएको बताए । राईले आयोजनालाई सफल पार्न भूमिका खेल्ने पुर्व प्रधानमन्त्री खनाल खानेपानी मन्त्रालयको पूर्व सचिव देवेन्द्र नाथ शर्मा लगायत प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार