आगामी २ वर्षभित्र माङसेबुङको सबै घरमा विद्युत विस्तार हुने

फाइल तस्वीर

माङसेबुङ : जिल्लाको माङसेबुङ गाउँपालिकाले आगामी २ वर्षभित्र सबै टोल वस्ती र घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिसक्ने नीति बनाएको छ ।

‘उज्यालो घर अभियान’ संचालन गरी माङसेबुङलाई अन्धकारमुक्त गाउँपालिका बनाउने लक्ष्यका साथ विद्युत विस्तारलाई तीब्रता दिने गाउँपालिकाले नीति बनाएको हो ।

अभियान अन्तरगत गाउँपालिकाको हरेक वडाको प्रत्येक टोल वस्ती र घरहरुमा राष्ट्रिय प्रसारण विद्युत लाईन पुर्याउने लक्ष्य राखी उच्च प्राथमिकताका साथ काम गरिने गाउँपालिकाले स्वीकृत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाको सो अभियानलाई सार्थक र सफल बनाउन नेपाल विद्युत प्राधिकरण, प्रदेश सांसद, प्रदेश सरकार, संघीय सांसद र संघीय सरकारसँग आवश्यक सहयोग र सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै ५ भदौ २०७५ मा  गाउँपालिका, प्रदेश सरकार र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबीच भएको त्रिपक्षीय संझौता अनुसार भौगोलिक भूवनावटको कारणले राष्ट्रिय प्रसारण विद्युत पुर्‍याउन असम्भव टोल वस्ती र घरहरुमा ग्रामीण क्षेत्रका लागि नवीकरणीय उर्जा र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय र सहकार्यमा गरी सौर्य उर्जा मार्फत उज्यालो घर बनाइनेछ ।

यसअघि नै सुरु गरेको विपन्न परिवारलाई सोलार प्यानल वितरण कार्यलाई समेत निरन्तरता दिने भएको छ ।

सामुदाय आधारित साना सौर्य ग्रीड संचालनको लागि गाउँपालिकाको विभिन्न क्षेत्रहरुहरुमा सम्भाव्यता अध्ययन गर्नको लागि ग्रामीण क्षेत्रका लागि नवीकरणीय उर्जा र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय र सहकार्य गर्ने भएको छ ।

यसैगरी गाउँपालिकाभित्र रहेका खोला र नदीहरुबाट जलविद्यूत उत्पादनको लागि सम्भाव्यता अध्ययन गरी त्यस क्षेत्रहरुबाट जलविद्युत उत्पादन गर्न सम्बन्धित लगानीकर्ताहरुसँग समन्वय गरेर अघि बढ्ने र २ वर्षभित्रमा यस गाउँपालिकाको देउमाई, फेवा, रतुवा र तावा खोलाबाट जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुमा सौर्य वत्ती जडान कार्यको सुरु गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा छ, बजेटमा छैन

गाउँपालिकाले यस्ताो लोकप्रिय नीती तथा कार्यक्रम तय गरेपनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन गर्न चुकेको छ । २ वर्षभित्र सबै टोल वस्ती र घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिसक्ने नीति तथा कार्यक्रम बनाएको छ । तर त्यसका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । यसरी बजेट विनियोजन नगरेपछि आफैंले बनाएको नीति कार्यान्वयन नहुने निश्चित छ ।

वडास्तरीय बजेट सिलिङबाट भने वडा नम्बर १, ३ र ६ ले २२ लाख ५० हजार रुपैयाँको ५ वटा योजनामा बजेट विनियोजन गरेका छन् । वडा नम्बर १ ले विद्युत विस्तार कार्यक्रम (देउराली लामीडाँडा खण्ड) का लागि ५ लाख, वडा नम्बर ३ ले ढुङ्गे ज्यामिरे विद्युत विस्तारका लागि २ लाख र चिबुवा विद्युत विस्तारका लागि ६ लाख तथा वडा नम्बर ६ ले कुसुण्डे विद्युत बिस्तार योजनाका लागि २ लाख ५० हजार रुपैयाँ र विद्युत विस्तार पोल खरिदका लागि ७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले भने स्वास्थ्य शाखाको कार्यक्रम अन्तरगत वडा नम्बरको आत्मानन्द सामुदायिक स्वास्थ्य इकाइ मनिपुरमा २०० वाटको सोलार जडानका लागि ६० हजार रुपैयाँ मात्र विनियोजन गरेको छ ।

यता जनप्रतिनिधिले झारो टार्न मात्र लोकप्रिय नीति तथा कार्यक्रम बनाएको आरोप स्थानीयले लगाउन थालेका छन् । आवश्यक बजेट विनियोजन नगरेकाले नीति तथा कार्यक्रम कागजमै सीमिति हुने  आशंका स्थानीयको छ ।

साझेदारीमा काम गर्छौं : अध्यक्ष इदिङ्गो  

यता माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले समपूरक कोषमा पर्याप्त रकम राखेकाले सोही कोषबाट साझेदारीमा ‘उज्यालो घर अभियान’ संचालन गरिने बताए । त्यसका लागि नेपाल विद्युत प्राधिकरण सामुदायिक ग्रामीण विद्युतीकरण विभागसँग समन्वय गरेर सबै वडा टोल वस्ती र घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिने अध्यक्ष इदिङ्गोले बताए ।

‘हामीले समपूरक कोषमा २ करोड राखेका छौं । त्यहीबाट विभिन्न साझेदारी निकायसँगको साझेदारीमा विद्युत विस्तार गरी उज्यालो गाउँपालिका बनाउनेछौं’ अध्यक्ष इदिङ्गोले भने, ‘त्यसका लागि नेपाल विद्युत प्राधिकरण सामुदायिक ग्रामीण विद्युतीकरण विभाग, प्रदेश सांसद, प्रदेश सरकार, संघीय सांसद र संघीय सरकारसँग आवश्यक सहयोग र सहकार्य गर्नेछौं ।’

६ वटा वडा रहेको माङसेबुङमा हालसम्म कुनैपनि वडाको सबै घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार