
इलाम : क्रियाशील युवा पत्रकार नयाँ बुलन्दकर्मी युद्धबहादुर बोहोरासहित १२ जना सम्मानित भएका छन् ।
जिल्लाको फाकफोकथुम गाउँपालिका १ नम्बर वडा कार्यालयले एक कार्यक्रम गरी पत्रकार बोहोरालाई सम्मान गरेको हो ।
कोरोनाको बाबजुद पनि अग्रपंक्तिमा रहेर त्यस क्षेत्रका हरेक गतिविधिलाई नियाल्दै, सत्यतथ्य समाचार सप्रेषण गरि निरन्तर पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै बोहोरालाई सम्मान गरिएको वडा सचिव तिलरुपा राई सम्वाहाम्फेले जानकारी दिइन् ।
बोहोरा नयाँ बुलन्द डटकमका इलाम/पाँचथर संवाददाता हुन् । उनी झापाबाट प्रकाशित पूर्वाञ्चल दैनिकमा समेत आवद्ध छन् ।
त्यस्तै सोही कार्यक्रममा पत्रकार बोहोरा सहित वडामा कृषि, शिक्षा, स्वास्थ्य, समाज सेवा, महिला तथा समाज कल्याण क्षेत्रमा उत्कृष्ट काम गर्ने १२ जनालाई सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरुमा यस वडाको सरकारी विद्यालयको शैक्षिक सुधारोन्मुख गर्न पहल गर्ने प्रधानध्यापक रघुवीर खड्का, वडामा टोल संयोजकको नेतृत्वदायी भूमिका निर्वाह गर्ने गोमा देवी भट्टराई, युवा समाजसेवामा उत्कृष्ट सहभागी जनाउने हाङसुरुम्बा थेगिम, कोरोना महामारीमा पिडित परिवारलाई राहत वितरणमा सक्रिय स्थानीय रेडक्रस सोसाइटी सदस्य तेजप्रकाश सुवेदी रहेका छन् ।
त्यस्तै महिला जागरण तथा अधिकार सम्बन्धमा अगुवाईमा रहेकी सरस्वती खड्का, बाँझो जमिनको उपयोग गरि अलैंची खेती गर्ने उद्यमी महिला कमला निरौला, स्वास्थ्य शिक्षालाई टोलमा प्रचारप्रसारमा सहभागी स्वयंसेविका सरिता ढुंगाना, किवी खेती प्रर्वद्धन गर्दै स्वरोजगार बनेका जेष्ठ नागरिक गणेश बोहोरालाई कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष टेकवीर नेम्वाङले दोसल्ला र सामानपत्र सहित सम्मान गरेका थिए ।

वडाको उत्कृष्ट सहकारी व्यावस्थापनतर्फ पोषण कट्टेल, पशुपालन क्षेत्रमा व्यावसायिक बाख्रापालन गर्दै आएका दिपेन्द्र थेगिम र तरकारी खेती तथा संस्थागत नेतृत्व (अपाङ एकता संस्था) तर्फ खम्बसिं पाण्डे सम्मानित भएका छन् ।
वडाको चालु आर्थिक वर्ष ०७६/७७ को वार्षिक कार्यक्रम अन्तर्गत वडालाई समृद्ध निर्माण गर्न विभिन्न क्षेत्रबाट योगदान पुर्याउने महानुभावलाई समितिले छनौट गरेको आधारमा व्यावसायिक तथा पेशागत सम्मानको आयोजना गरिएको कार्यक्रमका संयोजक तथा जनप्रतिनिधि बालकृण भट्टराईले जानकारी दिए ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष नेम्वाङले सकारात्मक तथा समाज रुपान्तरण र स्थानीयको जीवनस्तर उकास्न प्रेरणा मिल्ने कार्यप्रति विशेष भूमिका निर्वाह गर्ने महानुभावलाई बर्सेनि पुरस्कृत गरिने बताए ।
यस वडामा पशुपालन, किवी, अलैंची, चिया, अदुवा खेती लगायत कृषि उपजको संभावित क्षेत्र रहेकोले त्यस तर्फ अग्रसर भए आर्थिक उन्नती छिटो हुने बताउँदै उनले भने, “आफूलाई जानकार भएको र फाइदा हुने व्यवसायलाई दर्ता गरेर व्यवसायिक तरिकाले लाग्नुहोस्, सरकारी अनुदानको लागि वडाले मद्दत गर्छ ।”
कतिपय स्थानीयले अनुदान नपाएको गुनासो गरेतापनि उनीहरुले आफ्नो माग्ने भाँडो तयार नगर्दा अनुदान सहयोय उपलब्ध गराउन असम्भव भएको भन्दै सबैले प्रक्रियागत ढंगले अघि बढ्दै आधुनिक प्रविधितर्फ लाग्न आग्रह गर्दै हालको कोरोना महामारीबाट आम नागरिक सुरक्षित र सचेत बन्न अनुरोध गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युष्टि पार्टी (नेकपा) को तर्फबाट भोजबहादुर बोहोरा, नेपाली काँग्रसको तर्फबाट गोमा भट्टराई, जनता समाजवादी पार्टीको तर्फबाट टीका सम्वाहाम्फे, संस्थाका तर्फबाट रुपनारायण अधिकारी, सम्मानित सहभागि मध्येबाट पत्रकार युद्धबहादुर बोहोरा लगायतले सम्मानित सबैलाई बधाई तथा शुभकामना सहित पेशामा सकृय रहने व्यावसायिलाई हौसला स्वरुप विभेद रहित ढंगले छनौट गरि सम्मान गरेको भन्दै वडा समितिलाई धन्यवाद दिएका थिए ।
महिला जनप्रतिनिधि लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सचिव राईले स्वागत मन्तव्य राखेकी थिइन् भने वडा सदस्य बालकृष्ण भट्टराईले कार्यक्रमको संचालन गरेका थिए ।


















































