महिला फूटबलको उपाधि वडा नम्बर ६ र पुरुष भलिबलको उपाधि वडा नम्बर २ लाई

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङ २ इभाङस्थित डोलटारमा आयोजित वडास्तरीय महिला फूटबल प्रतियोगिताको उपाधि वडा नम्बर ६ ले चुमेको  छ ।

सोमबार भएको फाइलनमा वडा नम्बर २ लाई १-० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले उपाधि आफ्नो कब्जामा पारेको हो । पहिलो हाफसम्म गोल रहित बराबरी खेलेको वडा नम्बर ६ ले दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

जितसँगै वडा नम्बर ६ ले नगद ३० र उपविजेता वडा नम्बर २ ले २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । प्रतियोगिताको  सर्वोत्कृष्ट खेलाडी उपविजेता वडा नम्बर २ की विनिता राई घोषित भइन्  । उदयीमान खेलाडी वडा नम्बर २ की सुमन्ता राई, सर्वोत्कृष्ट गोलरक्षक वडा नम्बर ६ की सविना राई, सर्वोत्कृष्ट डिफेन्डर वडा नम्बर ६ की शिला राई र सर्वाधिक गोलकर्ता वडा नम्बर ६ की पुजा राई घोषित भइन् ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले प्रतिइवगिता आयोजना गरेको थियो । प्रतियोगिता समापनसँगै गाउँपालिका स्तरीय खेलाडी छनौट समेत गरिएको छ । छनौट भएका खेलाडीहरु २३ माघदेखि हुने पवित्रा हाङमा कपमा सहभागी हुनेछन् ।

पवित्रहाङमा कपमा माङसेबुङ खेलकुद विकास समितिका महिला खेलाडीहरुले २४  माघमा माउण्ट एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीको सामना गर्नेछ ।

यस्तै माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ ले चुमेको छ । सोमबार नै भएको फाइनलमा वडा नम्बर ६ लाई पराजित गर्दै वडा नम्बर २ ले उपाधि चुमेको हो ।

वडा नम्बर २ ले १४-२५, २५-१४ र २५-११ को सेटमा वडा नम्बर ६ लाई पराजित गरेको हो । जितसँगै वडा नम्बर २ ले नगद २५ हजार र उपविजेता वडा नम्बर ६ ले २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । सर्वोत्कृष्ट सटर वडा नम्बर २ का सञ्जय काफ्ले, उदयीमान खेलाडी वडा नम्बर ३ का रोनिश राई, सर्वोत्कृष्ट डिफेन्डर वडा नम्बर ६ का अन्जान राई, सर्वोत्कृष्ट लिफ्टर वडा नम्बर २ का सारुन लिम्बु घोषित भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार