झापाको दमकदेखि इलामको माङमालुङसम्म पदयात्रा गरिने

  नयाँ बुलन्द  287 पटक हेरिएको

इलाम : झापाको दमकदेखि इलामको धार्मिक पर्यटकीय क्षेत्र माङमालुङसम्म पदयात्रा गरिने भएको छ । दमकदेखि माङसेबुङ गाउँपालिकाको पेरुङे-  चिसापानी पञ्चमी बजार-माङमालुङसम्मको २ दिने पदयात्रा गरिने भएको हो ।

पदयात्राको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । शनिबार पदयात्रा आयोजक समिति होटल व्यवसायी संघ माई पश्चिम ‍झापाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पैदल यात्रा तयारीको बारेमा जानकारी गराएको हो ।

कार्यक्रममा भिजिट नेपाल २०२० का प्रदेश नं. १ का सचिवालय सदस्य रविन गौतमले भने, ‘पूर्वको दमक राजनीतिक दृष्टिकोणले, नेतृत्व लगायत अन्य पाटोबाट अग्रणी स्थानमा रहेपनि पर्यटन व्यवसाय विकासका रुपमा त्यति विकास गर्न नसकेको देखिन्थ्यो । तर यस पैदल यात्राको आयोजना गरेर दमक क्षेत्रको पर्यटन व्यवसायमा समेत अघि बढिरहेको छ ।’

दमक क्षेत्रको पर्यटनमा सघाउ पुर्‍याउने लक्ष्यसहित पहिलो पटक सुरु गर्न लागिएको दमक–पेरुङे–पञ्चमी पैदलयात्रालाई सफल बनाउन विभिन्न संघ संस्थाहरुबाट सहयोग भइरहेको होटल व्यवसायी संघ दमकका अध्यक्ष राजन दंगाले बताए । उनले भने ‘हामीले यहाँ रमणिय ठाउँहरुको प्रवद्र्धन गर्न नसक्दा आन्तरिक तथा वाह्य पर्यटकहरु भित्राउन नसकिरहेको अवस्था छ । तर यो पैदल यात्राले एउटा पर्यटकीय गन्तव्य निर्माण गरी त्यस क्षेत्रको रमणिय दृष्यहरुलाई व्यवसायी रुपमा अघि बढाउन सक्नेछौं ।’

पदयात्रालाई सफल र व्यवस्थित बनाउनका लागि विभिन्न स्थानहरुमा स्वयमसेवक परिचालन गरिने माङसेबुङ गाउँपालिका वडा नं. ६ का अध्यक्ष प्रदिप राईले बताए । उनेले भने ‘यस पैदलयात्रालाई सफल बनाउन विभिन्न स्थानहरुका संघसंस्थाहरुसँग समन्वय गरिरहेका छौ र व्यवस्थित गर्नका लागि स्वयमसेवक खटाउने तयारी भइरहको छ ।’

पदयात्राको मार्ग चुलाचुली गाउँपालि वडा नम्बर ५ हुँदै माङसेबुङ ४ को केही भाग र पाङरीझ्याल भन्ने ठाउँबाट बाँकि सबै मार्ग माङसेबुङ वडा नम्बर ६ मा पर्ने भएकोले यसको प्रत्यक्ष फाइदा माङसेबुङ बासीलाई हुनेछ ।

आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धनमा सघाउ पुर्याउने लक्ष्य राखिएको पदयात्रा मंसिर २५ गते दमकबाट बिहान साढे ५ बजे प्रस्थान गर्ने भएको छ । दमकदेखि फुइके हुँदै पुरानो बाटो पेरुङेको चेपारो बाटोलाई पदयात्राको मार्गको रुपमा लिइएको छ ।

बिहान दमकबाट प्रस्थान गरी फुइकेमा चिया नास्ता खाने तालिका बनेको छ । फुइकेदेखि निकै पुरानो बाटोलाई ताजकि बनाउन पहिलो पटक यस कार्यक्रमको आयोजना गरिएको हो । फुइकेबाट फड्के, पिडिबास, दोभाने हुँदै पेरुङे पुगिनेछ । जब पेरुङे पुगिन्छ त्यहाँ देखि मावा खोलालाई छोडेर पुरै चेपारो बाटो तय हुन्छ । त्यहादेखि पाङग्रीझ्याल, एक्लेचुली, मगर विसौनी, ओडारे, जरा विसाउने, करमबोटे हुदै दिनको १२ बजे कुसुन्डेमा पदयात्राको टोलि पुग्नेछ । कुसुन्डेमा खाना खाने तालिका रहेको जहाँ ३० मिनेटको समय थकाइ मारिने छ ।

खाना खाइसकेपश्चात पुनः यात्रा तारेभीर, अमले, टोड्के, थाक्रेवर हुदै बाँझोगाउँ पुगिन्छ । जहाँ जसमनि धर्मवलम्बीहरुको आस्थाको धरोहर मन्दिरको दर्शन गर्न सकिनेछ । त्यपछि जसमनी, सुकेआहाल हुदै रमिते पुगिन्छ । जुन स्थानमा तेह्रथुम, पाँचथर, इलामका भरियाहरुको छुटिने स्थान पनि हो ।

त्यसपछि भने यात्रा चिसोपानी पञ्चमी तिर मोडिनेछ । रमिते देखि गैरिटार, किवाखोर भएर चिसोपानी पञ्चमी बजार पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार