झुल्केघाम हेर्न श्रीअन्तुमा पर्यटकको घुइँचो

  राम योङहाङ  228 पटक हेरिएको

झुल्केघाम हेर्न इलामको सूर्योदयन गरपालिका ५ श्रीअन्तुमा जम्मा भएका पर्यटहरु ।

इलाम : जिल्लाको सूर्योदय नगरपालिका ५ स्थित श्रीअन्तुमा पर्यटकको घुँइचो लागेको छ । झुल्केघाम हेर्नका लागि देशकै अब्बल मानिएको श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको होे । प्रथम सूर्योदय नगर पर्यटन महोत्सव शनिबारदेखि सुरु भएपछि झनै पर्यटकको चाप बढेको छ । झुल्केघामको दृश्यावलोकनसँगै अन्तुपोखरी घुमघाम र चियाबारीले ढाकिएको ग्रामीण परिवेशको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकको चाप बढेको हो ।

दैनिक हजारौंको संख्यामा पर्यटकहरु श्रीअन्तु पुग्ने गरेका छन् । सामान्यतया दैनिक ५ सयको हाराहारीमा पर्यटक आउने श्रीअन्तुमा महोत्सव सुरु भएपछि दैनिक हजारको हाराहारीमा पर्यटकहरु पुग्ने गरेका छन् । महोत्सवको पहिलो दिन शनिबार २ हजार २ सय पर्यटकले झुल्केघामको दृश्यावलोकन गरेको सूर्योदय नगरप्रमुख रणबहादुर राईले बताए । शनिबार सार्वजनिक विदा हुने भएकाले अत्याधिक पर्यटकहरु श्रीअन्तु पुग्ने गरेका छन् ।

सामान्यतया असोज पहिलो सातादेखि मौसम खुलेसँगै पर्यटकको भीडभाड हुने श्रीअन्तुमा मंसिर अन्तिमसम्म झुल्केघाम दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ ।

झुल्केघाम दृश्यावलोकनका लागि श्रीअन्तु धेरै पर्यटकको रोजाइमा पर्दछ । तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकहरूको पहिलो रोजाई बन्ने गरेको हो । अन्तुसम्म मोटरसाइकल तथा चारपाङ्ग्रे सवारी समेत संचालनमा आउन थालेपछि पर्यटकलाई थप सहजता मिलेको छ ।

श्रीअन्तुमा वर्षेनी नेपालका विभिन्न स्थान तथा भारतबाट समेत हजारौं पर्यटक आउने गरेका छन् । झुल्केघाम दृश्यावलोकनका लागि नगरपालिकाले प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकेको छ । पर्यटकलाई शुल्क तोकेर नगरपालिकाले श्रीअन्तुलाई आम्दानीको श्रोतको माध्यम समेत बनाएको छ । उसो त त्यहाँबाट प्राप्त श्रोत श्रीअन्तुकै विकासमा खर्चेको छ । टावर मर्मतसम्भार तथा पर्यटकलाई सहजताका लागि नगरपलिकाले विभिन्न भौतिक पूर्वाधार निर्माणको काम समेत गरिरहेको छ ।

हरियाली चियाबारी र सल्लाका सुरिला रुखले वरिपरिबाट घेरिएको श्रीअन्तुमा पुग्दा स्वर्गीय आनन्त प्राप्त हुने गरेको पर्यटकहरु बताउँछन् । ‘म पहिलो पटक झुल्केघाम हेर्न यहाँ आएकी हुँ’ सुनसरीको धरानबाट आएकी एक पर्यटक अन्जना कुलुङ राईले भनिन्, ‘यहाँ आइपुग्दा त स्वर्गीय आनन्द प्राप्त भयो ।’

झुल्केघाम श्रीअन्तुको डाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि आकर्षक देख्न सकिन्छ । टावरमा सबै पर्यटक नअट्ने भएकाले पर्यटकहरु वरिपरीबाट समेत झुल्केघामको दृश्यावलोकन गरी आनन्द लिने गर्दछन् ।

होटल र होमस्टे भरिभराउ

सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट १३ किलोमिटर पूर्वमा परहेको श्रीअन्तुमा ५६ होमस्टे र ५ वटा होटल सञ्चालनमा छन् । अहिले होटल र होमस्टे खचाखच पर्यटकले भरिभराउ छ ।

‘अहिलेको होमस्टे र होटलको क्षमताले करिब १ हजार ४ सय जना अटाउन सकिन्छ’ स्थानीय पर्यटन व्यवसायी रुद्र घिमिरेले भने, ‘भ्ररमण वर्ष २०२० र सूर्योदय महोत्सव सुरु भएपछि सबै भरिभराउ भएका छन् ।’

होमस्टेमा स्थानीय स्तरमा उत्पादित अर्गानिक खानाका परिकारहरु खान पाइने भएकाले पर्यटकहरु आकर्षित हुने गर्दछन् । यसका साथै अन्तुपोखरी, गुफापातल, लेप्चाहरूको ऐतिहासिक थातथलो, नगदेबालीबाट सुधारिएको जीवनशैली जस्ता कारण पनि पर्यटकहरु बढ्दै गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार