लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

  गोविन्द लामिछाने
0 Shares

आमचोक : ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आज इलामको फाकफोकथुम गाउँपालिकामा भव्य रुपमा मनाइएको छ ।

फाकफोकथुम गाउँपालिका कार्यालयबाट प्ले कार्ड, ब्यानर बोकेर सुरु भएको ¥याली शुक्रवारे बजार, प्रहरी चौकी, सिंहदेवी देवस्थल, सिंहदेवी मावि हुँदै पुनः गाउँपालिकामा आएर कोणसभामा परिणत भएको थियो । ¥यालीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, सिंहदेवी, ह्यारोपोइन्ट एकाडेमीका शिक्षक विद्यार्थी, गाउँपालिकाका कर्मचारी, समाजसेवी, महिला स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता रहेको थियो ।

कोणसभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखनाथ दाहालले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको औचित्य र कार्यक्रमको अभियानबारे प्रष्ट पारे ।

गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले सबैको सोच परिवर्तन गरेर सकारात्मक कुरा गरेर घरबाटै हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । महिलाले पुरुष र पुरुषले महिलालाई हिंसा गर्न नहुने बताउँदै उनले अभियानलाई नारामा मात्र सिमित नराखेर व्यवहारमा उतार्न र समृद्ध फाकफोकथुम निर्माणका लागि अभियान सुरु गर्न आग्रह समेत गरे । केन्द्र, प्रदेशको निर्देशन बमोजिम गाउँपालिकाको केन्द्र तथा सार्वजनिक संस्थाको २०० मिटर आसपास क्याराम बोर्ड तथा जुवाजन्य खेल खेल्न गाउँपालिकाले निषेध गरेको बताउँदै उनले गाउँपालिकाको केन्द्र आमचोकलाई समतामूलक तथा स्वच्छ बजार निर्माणका लागि गाउँकार्यपालिकाले जुवाजन्य तथा क्यारामबोर्ड खेल खेल्न प्रतिबन्ध लगाएको उद्घोष गरे । ‘जुवातासलगायतका खेल खेल्ने वरपरको समाज पनि फोहोरी र पछि परेको उदाहरण छ,’ उनले भने, ‘त्यसैले जुवाजन्य र क्यारामबोर्डमा प्रतिबन्ध लगाएका हौं ।’

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको मूल समारोह समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरु) ले छाउपडी प्रथा, बलात्कार, महिला हिंसाजस्ता कुसंस्कारलाई अन्त्य गर्दै समतामूलक समाज र राष्ट्र निर्माणमा आजको दिनले प्रेरणा मिल्ने बताइन् । अधिकार मात्र खोज्ने तर कर्तव्य विर्सने हो भने त्यसको कुनै औचित्य नहुने बताउँदै अधिकार र कर्तव्य सँगसँगै निर्वाह गर्नुपर्नेमा जोड दिइन् । क्यारामबोर्ड, जुवातास खेलेर घरपरिवार, धन खेर फाल्नुभन्दा खेलेर समय बिताउने युवाहरुलाई विकास निर्माणमा लाग्न लाग्न र त्यसका लागि गाउँपालिकाले पनि सहयोग गर्ने उनले बताइन् । गाउँपालिकाको सहयोगमा विद्यालय–विद्यालयमा गएर प्रहरीसँगको साझेदारीमा किशोरीहरुलाई लंैगिक हिंसा विरुद्धको बारेमा सचेतना फैलाउने कार्यक्रम गाउँपालिकाले तय गरेको उनको भनाई थियो ।

मंसिर १७ गतेदेखि गाउँपालिकाका सबै वडामा मंसिर २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुने कार्यक्रम तय भएको छ । गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता खतिवडाले कार्यक्रम सञ्चालन तथा प्रहरी चौकी आमचोकका ईञ्चार्ज भुपेन्द्र ढुंगानाले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार