बेहुली ढुङ्गा, जहाँ बेहुली नै विलिन भइन् !

  युद्धबहादुर बोहोरा
14 Shares

पाँचथर : ढकमक्क फुल्ने लालीगुराँस र कतैकतै सेतो गुराँसहरु चैत/बैशाखमा देखिन्छन् । सिजनमा वरीपरी मगमग सुगन्धले भरीभराउ सेतो फुल्ने चाँपको बास्ना आउने गर्दछ ।

चुत्रो र रङ्ग बनिने बनस्पतिका दृश्य अनि रमणीय बस्तीहरुले सजिएको शान्त भू-भागमा पुग्दा मनै हर्षित हुन्छ । पूर्वतर्फ इलाम फाकफोकथुम, फुएतप्पा, दक्षिणी पाँचथरको मिक्लाजुङ, रबि बजार, पश्चिम पाँचथरका सुन्दर गाउँहरु वलने, आरुबोटे दशमी र उत्तरमा सप्तमी बजार र साराङडाँडा जस्ता ठाँउहरु रहेका छन् । हाल बजारीकरण हुँदै गरेको पाँचथरको दोस्रो ठुलो बजार भनेर चिनिएको रबि बजारदेखि करिब २ किलोमिटर उत्तरी भाग महाभारतडाँडामा अवस्थित थामडाँडा छ ।

यसै ठाँउमा प्रसिद्ध बेहुलीढुंगा देवी रहेकी छन् । कालोपत्रको सडक निर्माणका लागि शिलान्यास भइसकेको (राँके-भेडेटार) सडकको नजिकै रहेको छ । उत्पत्ती सम्बन्धी कथन प्राचिन किंवदन्ती अनुसार बेहुलीलाई अन्माएर डोली चढाई जन्तीका साथ बेहुलाको घरमा त्यहीँबाट ल्याइएको थियो । यस थामडाँडामा आइपुग्दा बेहुलीलाई पिसाब लागेछ । उनी पाखा गईन् तर धेरै समयको पर्खाइमा पनि बेहुली फर्किनन् । बेहुलीलाई यताउता सबै ठाँउ खोजी गर्दा कहि कतै भटिएन । त्यहीँ विलिन भइन् । बेहुलासहित जन्ती र घरगाउले सबैले खोजेपछि बेहुलीलाई २/३ दिनपछि भेटियो तर निर्जीव रुपमा एक शिलापत्थरको आकारमा बदलिसकेकी थिईन् ।

महिला पूर्वतर्फ घोप्टो परेर बसेजस्तो अवस्थामा पाइयो । यसै किंवदन्तीका आधारमा यसपथर (शिला) ढुंगालाई नारीको रूपमा मान्ने गरिन्छ । उनको निर्जीव अनि अज्ञात पीडाबारे कसैलाई थाहा नभएको र बेहुलीको आँखाबाट अविरल निक्लेको आँसुजल भौतारिदैं जाँदा हाल पाँचथरतर्फ बग्ने नुवाखोलाको उत्पति भएको भन्ने परम्परागत विश्वास पाइन्छ । यो नदि तमोर नदिमा पुगेर सप्तकोसीमा मिसिन पुगेको स्थानीय बुढापाका बताउँछन् ।

बेहुली ढुंगाको दर्शन गर्न आउँदा मानिसहरुले बेहुली घुम्टो, माला, चुरा, श्रृङ्गारका सामान र महिलाले प्रयोग गर्ने बस्त्र पनि चढाउने चलन छ । यहाँ दर्शन गर्नाले चिताएको पुग्ने, ग्रह दशाले दु:ख नदिने आत्मामा शान्ति मिल्ने, सत्यतर्फ मन जाने, सद्बुद्धि आउने आदि धार्मिक आस्था रहेको छ । कुनै युवायुवतीको विवाह गर्न खोज्दा एक अर्काले चाहे जस्तो वरबधु पाउने र बालबच्चा नहुने दम्पतिले पनि यस स्थलमा आइ माग गर्ने चलन छ ।

केही समय पहिला यस ठाँउमा एकादशी तिथिको दिन मेलाबजार पनि लाग्ने गरेको र किराँत धर्मवलम्बीहरु उधौली/उभौली पर्वमा यस ठाँउ आइ पुजा गर्ने गरेको स्थानीय पूर्ण राइ बताउँछन् । बेहुलीढुंगा अवस्थित थामडाँडा पुग्दा प्रकृतिका अनेकौं सुन्दर र आकर्षक अग्ला डाँडाकाँडा सहित मनमोहक दृश्य अवलोकन गर्न सकिने जस्ले कयौंको मन लोभ्यएरै छोड्छ बर्णन गरेर साध्यै छैन । धार्मिक तीर्थ स्थल बेहुली ढुंगाको प्रचारप्रसार गरि पर्यटकीय गन्तव्य घोषण गर्नसके पर्यटन प्रबर्द्धनमा टेवा पुग्न सक्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार