आहा ! मनमोहक सोदु पोखरी : कसले गर्ने संरक्षण ?

ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सोदु पोखरी पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

पोखरी र वरपरको रमणीय दृश्यले जो कोहीको मन लोभ्याउने भए पनि विकटताका कारण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नसकिएको हो ।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –५ पापुङको ताक्पेगोला क्षेत्रमा अवस्थित सोदु पोखरी समुद्र सतहदेखि झण्डै ४२ सय मिटरको उचाइ छ ।

सदरमुकामबाट दुई दिनको यात्रा तय गरेपछि मात्र पुग्न सकिने यस क्षेत्रमा पर्यटकको उपस्थिति भने ज्यादै नगन्य छ ।

सोदु पोखरी वरपर अन्य दर्जनौै पोखरीहरु रहेका छन् । वरपर नदी, खोला र झर्नाको उपस्थितिले सजिएको यस क्षेत्रलाई अनेक थरीका फुल तथा जडिबुटीले थप सुन्दर बनाइदिएका छन् ।

अनेकौँ खोँच पहाड तथा गल्छेँडालाई छिचोल्दै पुग्नुपर्ने यस क्षेत्रमा पूर्वाधार निर्माणको अवस्था दयनीय भएकाले पर्यटकको चहलपहल बढ्न सकेको छैन ।

चीनसँगको सीमा नजिकै रहेकाले व्यापार पबद्र्धन र पर्यटन विकासका लागि प्रचार प्रसार र पुर्वाधार विकासमा ध्यान दिनुपर्ने सोही क्षेत्रमा पुगेका आन्तरिक पर्यटकको भनाइ छ ।

पर्यटकको आगमन बढाउन स्थानीयसँग समन्वय गरी पूर्वाधार विकासमा लगायतका कार्यमा स्थानीय सरकार लागि परेको मिक्वाखोला गाउँपालिका ५ का वडाध्यक्ष डण्डु शेर्पा बताउँछन् ।

पर्यटन प्रर्वद्धनको अथाह सम्भावना बोकेको यस क्षेत्र भौगोलिक विकटता, बजेटको अभाव र प्रचार–प्रसार हुन नसक्दा अझै पछि परेको छ ।

स्थानीय तहले आ–आफ्नो क्षेत्रका पर्यटकीय क्षेत्रको विकासमा  संघ र प्रदेशसँग समन्वय गरेर अगाडि बढ्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार